महसुल नतिर्ने साना ग्राहकप्रति प्राधिकरण आक्रामक, ६ दिनमा काट्यो साढे ६ हजार लाइन



बिजमाण्डू
२०८० माघ १० गते १५:०४ | Jan 24, 2024
महसुल नतिर्ने साना ग्राहकप्रति प्राधिकरण आक्रामक, ६ दिनमा काट्यो साढे ६ हजार लाइन

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले बिजुलीको महसुल नतिर्ने ६ हजार ४३३ ग्राहकको लाइन काटिदिएको छ। प्राधिकरणका विभिन्न ९ वटा कार्यालयले ६ दिनमा ६ हजार ४३३ कार्यालयको लाइन काटिदिएका हुन्। यी सबै साना ग्राहक हुन्।

Tata
GBIME
Nepal Life

ती कार्यालयको नाममा १४ करोड ९० लाख रुपैयाँ बक्यौता छ। मधेश प्रादेशिक कार्यालयले सबैभन्दा धेरै १ हजार १३९ ग्राहकको लाइन काटिदिएको छ। सबैभन्दा कम बाग्मती प्रदेश प्रादेशिक कार्यालय हेटौंडाले महसुल नतिर्ने ३०३ ग्राहकलाई बिजुली रोकेको छ।

लाइन काटिनेमा सरकारी कार्यालयसमेत छन्। प्राधिकरणका अनुसार गण्डकी प्रदेशमा भूमि, कृषि तथा सहकारी मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय र भूमि सुधार कार्यालयको लाइन काटिएको छ।

प्राधिकरणले मंसिरदेखि महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान चलाइरहेको छ। बक्यौता बढ्दै गएपछि प्राधिकरणले देशभरका आफ्ना कार्यालयलाई लाइन काट्न निर्देशन दिएको थियो।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ

प्राधिकरणले पुस ६ देखि ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगमध्ये २४ वटाको लाइन पनि काटेको थियो। तर सरकारको निर्देशनमा ती उद्योगको भने बक्यौता नतिरेकै अवस्थामा पुस २६ गते लाइन जडान गरिएको थियो। प्राधिकरणको हिसाबमा ट्रंक र डेडिकेटेड लाइनको सुविधा लिएका ६१ उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ।

‘हामीले ट्रंक र डेडिकेटेड लाइनको सुविधा लिएर बक्यौता रहेका ग्राहकको लाइन पनि काटेकै हो। सरकारले निर्देशन दिएपछि जोड्नु पर्‍यो, ‘प्राधिकरण ती अधिकारीले भने, ‘अब सानातिना ग्राहकको लाइन काटेर बस्ने हो। ठूलाको लाइन काट्न त सरकारको साथ चाहिन्छ।’  

ग्राहकमा प्राधिकरणले लाइन काटेपछि मात्रै बक्यौता तिर्ने प्रवृत्ति देखिएको छ। उनका अनुसार लाइन काटेपछि अधिकांश ग्राहकले बक्यौता तिरेका छन्। बक्यौता उठाउनकै लागि प्राधिकरणले लाइन काटिरहेको हो।

मंसिरयता ६२ हजार ग्राहकको लाइन काटिएको छ। ती ग्राहकको नाममा ६२ करोड रुपैयाँ बक्यौता रहेकामा लाइन काटिएपछि अधिकांशले तिरेको प्राधिकरणका एक उच्च अधिकारीले बताए। उनका अनुसार बक्यौता तिर्नेको लाइन जोडिएको छ।

क्र.स.कार्यालयको नामग्राहक संख्याबक्यौता रकम (रुपैयाँमा)
कोशी प्रादेशिक कार्यालय, विराटनगर१,०७४१,६४,३०,७९९
मधेश प्रादेशिक कार्यालय, जनकपुर१,१३९२,१७,२१,८८२
बाग्मती प्रदेश डिभिजन कार्यालय, काठमाडौं९५८२,७६,८९,५३८
बाग्मती प्रदेश डिभिजन कार्यालय, हेटौंडा३०३५९,५८,९२४
गण्डकी प्रादेशिक कार्यालय, पोखरा७९३१,१२,१७,८२७
लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल८४०१,४१,९५,८७१
लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगंज५०७१,६५,६५,५०२
कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत४०२१,३४,०७,२२७
सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया४१७१,५८,४९,९८२
 जम्मा६,४३३१४,९०,३७,५५५
स्रोत: नेपाल विद्युत प्राधिकरण

विद्युत् महसुल संकलन नियमावली २०७८ मा मिटर रिडिङ भएको १६ औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ। मिटर रिडिङ भएको मितिले १६ देखि ३० औं दिनसम्म ५ प्रतिशत, ३१ देखि ४० औं दिनसम्म १० प्रतिशत र ४१ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लिने व्यवस्था छ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६० औं दिनसम्म बक्यौता महसुल नबुझाए लाइन काट्ने व्यस्था छ। लाइन काटेको ६ महिनासम्म बक्यौता महसुल नबुझाउने ग्राहकलाई प्राधिकरणले कालोसूचीमा राखी असुली प्रक्रिया अघि बढाउने गरेको छ।