दुई पटक हारेको न्युजिल्याण्ड यू-१९ विश्वकपमा नेपालको पहिलो प्रतिस्पर्धी, कस्ता छन् अरु टिम?



मुकुन्द घिमिरे
२०८० माघ ४ गते १६:४३ | Jan 18, 2024
दुई पटक हारेको न्युजिल्याण्ड यू-१९ विश्वकपमा नेपालको  पहिलो प्रतिस्पर्धी, कस्ता छन् अरु टिम?

काठमाडौं। सात वर्षपछि विश्‍वकपमा फर्किएको नेपाली क्रिकेट टोलीले आइतबार न्युजिल्याण्डसँग खेल्दैछ। दक्षिण अफ्रिकामा हुने विश्‍वकपको समूह ‘डी’मा नेपाल र न्युजिल्याण्डका अलावा पाकिस्तान र अफगानिस्तान छन्।

Tata
GBIME
Nepal Life

विश्‍वकप सुरु हुनु २ साताअघि दक्षिण अफ्रिका पुगेको नेपाली युवा टोलीले ४ वटा खेल खेल्दै त्यहाँको ‘कन्डिसन’सँग परिचित हुने अवसर पाएको छ।

‘हामी उत्साहित छौं। ७ वर्षको पर्खाइपछि फेरि हामी विश्‍वकप खेल्दैछौं। यो हाम्रा लागि सपना हो,’ नेपाली टोलीका कप्तान देव खनालले आईसीसीलाई भनेका छन्।

खनाल नेपाली टोलीमा सिनियर टोलीबाट खेलिसकेका खेलाडी हुन्। यस्तै सिनियर टोलीबाट खेलिसकेका गुल्सन झा पनि युवा टोलीमा छन्। एसिया कपमा यी दुवै खेलाडी नचले पनि विश्‍वकपअघिका अभ्यास खेलमा झाले प्रभावशाली प्रदर्शन गरेका छन्।

सिनियर टोलीबाट २४ एकदिवसीय अन्तर्राष्ट्रिय र १४ टी-२० आई खेलेका झा आवश्यकता अनुसार ‘टेम्पो’मा खेल्न सक्ने खेलाडी हुन्। उनी अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवका हिसाबले टिमलाई ‘गाइड’ गर्न सक्ने र ‘गेम चेन्जर’ बन्न सक्ने खेलाडी हुन्।

कप्तान खनालले प्रिम्याच कन्फ्रेन्समा टेस्ट राष्ट्रलाई हराइ सुपर सिक्समा पुग्ने लक्ष्य रहेको बताएका छन्। ‘एनिहाउ सुपर सिक्स। अनि टेस्ट नेसनलाई हराउने,’ उनले भने, ‘सिनियर टोलीबाट कल्चरको रुपमा आएको ह्याप्पी ड्रेसिङ रुम छ। यो हाम्रो स्ट्रेन्थ हो। हरेकको आफ्नै शैली र भूमिका हुन्छ टिममा।’

उनले नेपालमा क्रिकेट क्रेजबार चर्चा गर्दै समर्थकलाई खेल जितेर खुशी बाँड्ने चाहना व्यक्त गरे। ‘हामी खेल जितेर उनीहरुलाई खुशी दिन चाहन्छौं,’ उनले भने।

समूह ‘डी’ कस्ता प्रतिस्पर्धी कस्ता?

न्युजिल्याण्ड

इतिहास हेर्ने हो भने न्युजिल्याण्ड नेपालका लागि ‘फेभरेट’ टोली हो। यसअघि नेपाल र न्युजिल्याण्ड विश्‍वकपमा दुई पटक आमनेसामने भएकामा दुवै पटक नेपालको पक्षमा नतिजा आएको थियो।

पहिलो पटक विश्‍वकपमा सन् २००६ मा भेट हुँदा कनिष्क चौगाइँको कप्तानीमा रहेको नेपालले मार्क इलिसनको कप्तानीमा रहेको न्युजिल्याण्डलाई १ विकेटले हराएको थियो। त्यसबेला नेपालका लागि बसन्त रेग्मीले ६६ रन बनाउनुका साथै ३ विकेट लिएका थिए।

त्यस्तै दोस्रो पटक सन् २०१६ विश्‍वकपमै भेट हुँदा राजु रिजालको कप्तानीमा रहेको नेपालले जोस फिन्नीको कप्तानीमा रहेको न्युजिल्याण्डलाई ३२ रनले हराएको थियो। त्यसबेला खेलेका कुशल भुर्तेल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी हाल राष्ट्रिय टोलीका सदस्य छन्।

न्युजिल्याण्ड सन् १९९८ मा प्रतियोगिताको फाइनल र २०२० मा सेमिफाइनल पुगेको थियो। न्युजिल्याण्डको टोलीमा ज्याक कमिङ्सले प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। न्युजिल्याण्डको क्रिकेट ए प्रतियोगितामा १८ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बनेका उनी पूर्वक्रिकेटर क्राइग कमिङ्सका छोरा हुन्। न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले धेरै मेहेनत गरेर दक्षिण अफ्रिका आएको भन्दै आफ्नो क्षमता देखाउने बताएका छन्।

पाकिस्तान

दक्षिण अफ्रिकामा नेपालको दोस्रो प्रतिस्पर्धी हो, पाकिस्तान। नेपाल र पाकिस्तान विश्‍वकपमा ३ पटक आमनेसामने भएका छन्। जसमा नेपाल र पाकिस्तानले १/१ खेल जित्दा एउटा खेल वर्षाले अवरुद्ध भएको थियो।

अघिल्लो महिना एसिया कपमा भएको प्रतिस्पर्धामा पाकिस्तानले नेपाललाई ७ विकेटले हराएको थियो। विश्‍वकपमा भने नेपालले पाकिस्तानलाई हराएको इतिहास छ। सन् २००२ मा विनोद दासको कप्तानीमा रहेको नेपालले पाकिस्तानमाथि ३० रनको जित निकालेको थियो।

पाकिस्तान उपाधिको बलियो दाबेदार टोलीमध्ये एक हो। सन् १९९८ मा फाइनल खेलेको पाकिस्तानले सन् २००४ र २००६ मा उपाधि जितेको थियो। सन् २०१४ यता भने फाइनल पुग्न सकेको छैन।  

अघिल्लो महिना एसिया कपमा भारत, नेपाल र अफगानिस्तानलाई समूह चरणमा हराएको पाकिस्तान सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो।

पाकिस्तानका लागि मोहम्मद जिसन प्रभावशाली खेलाडी हुन सक्छन्। उनले एसिया कपमा नेपालविरुद्ध ८ रन दिएर ६ तथा भारतविरुद्ध ४६ रन दिएर ४ विकेट लिएका थिए।

अफगानिस्तान

अफगानिस्तान विश्‍वकपमा छोटो समयमा गहिरो प्रभाव छाडेको टोली हो। दुई पटक सेमिफाइनल पुगिसकेको अफगानिस्तानले सन् २०१८ मा पाकिस्तान र न्युजिल्याण्डलाई हराएको थियो। सन् २०२२ मा श्रीलंकालाई पछि पार्दै अफगानिस्तान सेमिफाइनल पुगेको थियो।

विश्‍वकपका लागि भनेर राम्रो तयारी गर्ने टोलीमध्ये अफगानिस्तान एक हो। अफगानिस्तानले अघिल्लो महिना एसिया कपसँगै बंगलादेश र श्रीलंकासँग तथा दक्षिण अफ्रिका र भारतसँग त्रिदेशीय सिरिज खेलेको थियो।

अफगानिस्तानका अल्लाह मोहम्मद घाजन्फारले प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। उनलाई अर्का प्रभावशाली बलर मुजिव-उर-रहमानसँग तुलना गर्न थालिएको छ। दक्षिण अफ्रिकामा त्रिदेशीय सिरिज खेल्दा उनले सर्वाधिक विकेट लिएका थिए।

अफगानिस्तानका कप्तान नसीर खानले अघिल्लो पटक सेमिफाइनल खेलेकाले यसपटक उपाधि जित्‍न आतुर रहेको बताएका छन्।