काठमाडौं। सिटी होटल अन्तर्गत ह्यात प्लेसले संचालनमा आएको दुई वर्षमै आफ्नो रिब्राण्डिङ गर्न लागेको छ। ह्यात होटल्स कर्पोरेसनसँग सम्झौता गरी होटललाई २० करोड रुपैयाँ लागतमा होटल ‘ह्यात सेन्ट्रिक’मा रुपान्तरण गर्न लागिएको हो।
कम्पनीका कार्यकारी निर्देशक अक्षय गोल्यानले ह्यात सेन्ट्रिकमा रुपान्तरणका लागि सम्झौता गरिसकेको बताए। ‘होटलको मूल प्रवेश द्वार, कोठा, रेष्टुरेन्ट, बैंक्विट लगायत रेनोभेसन गर्नेछौं,’ गोल्यानले बिजमाण्डूसँग भने,’अपरेसन प्रभावित नहुने गरी हामी ह्यात सेन्ट्रिकमा रुपान्तरित हुनेछौं।’
उनले ६ महिनाभित्र ह्यात सेन्ट्रिकको नाममा संचालनमा आउने तयारी रहेको जानकारी दिए। होटलमा १५३ कोठा छन्। ह्यात सेन्ट्रिकमा रुपान्तरण भएपछि होटलको सेवा थप प्रभावकारी हुने उनको भनाइ छ।
होटल बैंक्विटलाई साढे ६ सय जनालाई सेवा दिने गरी बिस्तार गर्ने योजनामा छ। अहिलेको बैंक्विट ३०० जनाको क्षमताको हो।
होटल दुई महिनाभित्र क्यासिनो संचालनको तयारीमा छ। ‘क्यासिनो सेवाका लागि श्रीलंकाको र्याङ्क इन्टरनेसनल क्यासिनोलाई जिम्मा दिएका छौं। उनीहरुले आफ्नो शैली अनुसार क्यासिनो तयार गरिरहेका छन्। अहिले सामान जडान गर्ने काम भइरहेको छ,’ गोल्यानले भने, ‘दुई महिनाभित्र हामी क्यासिनो सेवा संचालनमा ल्याउनेछौं।’











