काठमाडौं। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तय राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकेको छ।
आयोगले उम्मेदवारका लागि ३ लाख ५० हजार रुपैयाँको सीमा तोकेको हो। यो रकम उम्मेदवारले सवारीसाधन तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तर्क्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न पाउनेछन्।
१९ सिटका लागि हुने निर्वाचनमा ५१ उम्मेदवार प्रतिस्पर्धामा छन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ बमोजिम खर्चको सीमा तोकेको आयोगले जनाएको छ।
बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा आफ्ना तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले उम्मेदवारहरुलाई निर्देशन दिएको छ।

आयोगले आइतबार प्रेस विज्ञप्तिमार्फत निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा खर्च विवरण पेस गर्न पनि भनेको छ।











