मुइज्जुको पार्टी मालेमा पराजित, भारतको नाम नलिइ भने- सानो देश भनेर धम्काउने इजाजत छैन



बिजमाण्डू
२०८० पुष २९ गते १३:१० | Jan 14, 2024
मुइज्जुको पार्टी मालेमा पराजित, भारतको नाम नलिइ भने- सानो देश भनेर धम्काउने इजाजत छैन
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु। तस्बिर : रोयटर्स

माल्दिभ्स र भारतको सम्बन्ध पछिल्लो समय राम्रो छैन। ‘इन्डिया आउट’ नारा लिएर राष्ट्रपति बनेका मोहम्मद मुइज्जु चीन भ्रमणमा रहँदा भारतमा ‘बायकट माल्दिभ्स’ अभियान चल्यो।

Tata
GBIME
Nepal Life

यसबीच राजधानी मालेको मेयरको उप चुनावमा राष्ट्रपति मुइज्जुको पार्टी पराजित भएको छ। भारत निकट विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले मेयरको चुनावमा जित हासिल गरेको हो।

एमडीपी उम्मेदवार एडम अजिम मालेको नयाँ मेयर निर्वाचित भएका छन्। राष्ट्रपति बन्नु अघि मुइज्जु सो पदमा थिए। मुइज्जुले गत वर्ष राष्ट्रपतिको चुनाव लड्न उक्त पदबाट राजीनामा दिएका थिए।

एमडीपी भारत निकट पूर्व राष्ट्रपति मोहम्मद सोलिह नेतृत्वको पार्टी हो। उनी अघिल्लो राष्ट्रपतीय चुनावमा चीन निकट मुइज्जुसँग पराजित भएका थिए। ४१ मतपेटिकाको मतगणनामा अजिमले ५ हजार ३०३ मतसहित ठूलो अग्रता लिएका छन्। उनका प्रतिद्वन्द्वी मुइज्जु नेतृत्वको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) का आइशाथ अजिमा शकूरले ३ हजार ३०१ मत प्राप्त गरेको माल्दिभ्सको सन अनलाइन न्यूज पोर्टलले जनाएको छ।

यो चुनावको जितले संसद्‍मा अझैपनि बहुमत रहेको एमडीपीको राजनीतिक भाग्यलाई पुनर्जीवित पार्ने अपेक्षा गरिएको छ।

चीनको पाँच दिने राजकीय भ्रमण सकेर शनिबार माले फर्किएका मुइज्जुले आजिमलाई बधाई दिएका छन्। उनले माले सिटी काउन्सिल र मेयरसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। आजिमले आफ्नो जित मालेका सबै बासिन्दाको जित भएको बताएका छन्।

स्वदेश फर्कािएका मुइज्जुले भारतको नाम नलिइ सानो देश भनेर हेप्न नपाइने टिप्पणी गरेका छन्।

‘हामी सानो देश हौं। तर त्यसको अर्थ यो होइन की उनीहरुले हामीलाई धम्की दिने इजाजत पाएका छन्,’ उनले भनेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मुइज्जु सरकारका तीन उपमन्त्रीहरूले गरेको टिप्पणीका बीच मेयरको चुनाव भएको थियो। मन्त्रीका टिप्पणीले भारतसँग कूटनीतिक विवाद निम्त्याएको बताइएको छ। लक्षद्विपमा गएका मोदीलाई लिएर भएको टिप्पणीले माल्दिभ्समा भारतीय पर्यटक शून्य अवस्थामा पुगेको बताइन्छ। त्यसैले चीनको हाइ-प्रोफाइल भ्रमणको क्रममा मुइज्जुले माल्दिभ्स बेइजिङको नजिक रहेको संकेत गर्न खोजेका छन्।