प्रचण्डले सुधारेनन् कार्यशैली, वाचा तोडेर २० दिनमा गरे २० उद्घाटन



प्रकाश भण्डारी
२०८० माघ १ गते २०:४२ | Jan 15, 2024
प्रचण्डले सुधारेनन् कार्यशैली, वाचा तोडेर २० दिनमा गरे २० उद्घाटन

काठमाडौं। सरकारको एक वर्षे समीक्षामा पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए – केही पूर्व निर्धारित र अपरिहार्यबाहेक कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्ने छु।

Tata
GBIME
Nepal Life

तर, आफ्नै प्रतिबद्धता विपरीत प्रचण्ड दिनकै उद्घाटनमा गइरहेका छन्।

सम्बन्धित समाचार : मन्त्रीहरुको रिबन काट्ने मोह, वडा कार्यालय र रेष्टुरेन्ट उद्घाटन गरेर बितिरहेको छ समय

मन्त्रीहरु जसरी उद्घाटनमै केन्द्रित भइरहेकोमा आलोचित छन्, प्रधानमन्त्रीको कार्यशैली उनकै अभिव्यक्तिको ठिक विपरीत छ। तेस्रो कार्यकालको महत्वपूर्ण समय प्रचण्डले सानातिना कार्यक्रममा गएर खेर फालिरहेका छन्। उद्घाटनमा नजाने वाचा गरेको २० दिनमा उनले २० उद्घाटन गरे। माघ १ (आज) मात्रै प्रचण्ड चार कार्यक्रममा पुगे।

प्रधानमन्त्रीको उद्घाटन यात्रा

उद्घाटन १ : ज्यापु दिवस

उद्घाटनमा नजाने घोषणा गरेकै दिन प्रचण्डले वसन्तपुरमा आयोजित २०औं राष्ट्रिय ज्यापू दिवसको उद्घाटन गरे। उद्घाटनपछि मात्रै सिंहदरवारमा पुगेर प्रचण्डले सम्बोधन गरेका थिए।

उद्घाटन २ : पार्टी अन्तक्रिया

अघिल्लो दिन सानातिना कार्यक्रममा गएर समय खेर नफाल्ने बताएका प्रचण्ड भोलिपल्टै पुस ११ गते गोरखाको सुलिकोटमा माओवादी केन्द्रले आयोजना गरेको अन्तक्रिया उद्घाटन गर्न पुगे। सेनाको हेलिकोप्टर पृष्ठभूमि पारेर नातेदारसँग खिचाएको तस्विर सार्वजनिक भएपछि प्रचण्ड थप आलोचनाको सिकार बने।

उद्घाटन ३ : दोलखा महोत्सव

पुस १३ गते प्रधानमन्त्री दोलखा पुगे। दोलखा उद्योग वाणिज्य संघको आयोजनामा भएको १० दिने दोलखा महोत्सवको उद्घाटन गरे।

उद्घाटन ४ : ट्रेड युनियनको सम्मेलन

प्रचण्ड पुस १४ गते काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियनको कार्यक्रम उद्घाटनमा पुगेका थिए। उनले त्यहाँ ट्रेड युनियनका माग सम्बोधन गर्ने आश्वासन दिए।

उद्घाटन ५ : तमू ल्होसार

प्रचण्डले विभिन्न जातजाती तथा भाषाभाषीका पर्व तथा महत्सोव उद्घाटन पनि छुटाउने गरेका छैनन्। त्यसक्रममा पुस १५ गते उनी काठमाडौंको टुडिखेलमा आयोजित तमू (गुरुङ) समुदायको ल्होसार उद्घाटन गर्न पुगेका थिए। त्यहाँ उनले आफू सम्भव भएसम्म ल्होसार पर्वमा आउन नछुटाउने बताए।

उद्घाटन ६ : कांग्रेस अन्तक्रिया

प्रचण्डले पुस १६ गते नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको अन्तक्रियाको पनि उद्घाटन गरेका थिए।

उद्घाटन ७ : एजुकेशन समिट

उद्घाटनलाई प्रचण्डले कतिसम्म प्राथमिकता दिइरहेका छन् भने पुस १७ गते उनी कान्तिपुरले आयोजना गरेको एजुकेशसन समिटमा पनि पुगे। जहाँ उनले भनेका थिए – अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुने छैन।

उद्घाटन ८ : इन्जिनियर सम्मेलन

प्रचण्डले पुस १८ गते १६औं राष्ट्रिय इञ्जिनियर सम्मेलनको उद्घाटन गरेका थिए। प्रचण्ड त्यही दिन ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपद व्यवस्थापन तथा पुनर्निर्माणसम्बन्धी अन्तरक्रियामा सहभागी भएका थिए।

उद्घाटन ९ : दिगो विकास कार्यक्रम

पुस १८ गते सिंहदरबारमा आयोजित ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ कार्यक्रमको पनि प्रचण्डले उद्घाटन गरेका थिए।

उद्घाटन १० : गाउँपालिका भवन उद्घाटन

स्थानीय तहका प्रमुख तथा प्रदेश र संघ सरकारका प्रतिनिधिमध्ये कुनै एकले उद्घाटन गरे पुग्ने ठाउँमा प्रधानमन्त्री आफैं पुगिरहेका छन्। प्रचण्ड पुस १९ गते रामेछापको सुनापति गाउँपालिकाको भवन उद्घाटनमा पुगे।

उद्घाटन ११ : सहिद स्तम्भ

पुस १९ गते रामेछाप पुगेका प्रचण्डले त्यहीँ बेथान पानीघाटमा स्थापना गरिएको सहिद स्तम्भको पनि उद्घाटन गरेका थिए।

उद्घाटन १२ : समीक्षा बैठक

पुस २३ गते प्रचण्ड मा‌ओवादी केन्द्रले काठमाडौंमा आयोजना गरेको बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको समीक्षा बैठकको उद्घाटन गर्न नाचघर पुगेका थिए। त्यहाँ उनले बजेटमा सांसदहरुले उठाएका विषयलाई समेत समेटेरे सरकार अघि बढेको बताए।

उद्घाटन १३ : कराते प्रतियोगिता

प्रचण्डले गाउँपालिकाको भवन, पार्टीका बैठकहरुको मात्रै होइन सानातिना खेलकुद प्रतियोगिताको समेत उद्घाटन गरिरहेका छन्। उनले पुस २७ गते काठमाडौंमा चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिताको उद्घाटन गरेका थिए।

उद्घाटन १४ : राप्रपाको चियापान

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पृथ्वी जयन्तीका अवसरमा भृकुटीमण्डपमा पुस २७ गते आयोजना गरेको चियापानमा पनि प्रचण्ड सहभागी भएका थिए।

उद्घाटन १५ : माओवादीको बैठक

पुस २७ गते नै प्रचण्डले माओवादी केन्द्रको स्थायी समिति बैठक सञ्चालन गरेका थिए। उनी सरकारका काम छाडेर पार्टीका गतिविधिमा सक्रिय भएको भन्दै आलोचना हुने गरेको छ।

उद्घाटन १६ : चिनीयाँ नयाँ वर्ष

प्रचण्डले पुस २९ गते काठमाडौंमा आयोजित चिनीयाँ नयाँ वर्षको अवसरमा सांस्कृतिक महोत्सव उद्घाटन गरे। जहाँ उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा सम्बन्ध प्रगाढ बन्ने बताए।

उद्घाटन १७ : मेलम्चीको पानी

प्रचण्डले उद्घाटनलाई निरन्तरता दिने क्रममा माघ १ गते मेलम्चीको पानीको आठौंपटक उद्घाटन गरे। सिंहदरबारमै निर्मित ढुंगेधारामा मेलम्चीको पानी ल्याउने कार्यक्रम उद्घाटन गरेका प्रचण्डले भने – खानेपानी सेवा २४सै घण्टा वितरण गरिने व्यवस्था मिलाउनुस्। विभागीय मन्त्रीलाई उद्घाटनमा लगाउन सक्ने भए पनि प्रचण्ड ध्यान त्यता छैन।

उद्घाटन १८ : अर्घाखाँची महोत्सव

उद्घाटनमा नजाने वाचा गरेका प्रचण्डले माघ लागेकै दिनबाट झनै तीब्र बनाएका छन्। सोमबार बिहान सिंहदरवारमा मेलम्चीको पानी उद्घाटन गरेका प्रचण्ड दिउँसो अर्घाखाँचीको सन्धिखर्कमा आयोजित महोत्सवको उद्घाटन गर्न पुगे।

उद्घाटन १९ : थारुको माघी

माघीका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित थारु समुदायको माघी महोत्सवको उद्घाटन गरेका थिए। उनले त्यहाँ भने – प्राप्त अधिकारीको रक्षा गरिने छ।

उद्घाटन २० : मगरको माघी

थारु समुदायको माघीमा सहभागी भएका प्रचण्ड मगर समूदायको माघीमा पनि सहभागी भएका थिए। उनले दुबै समुदायको पहिचान झल्किने पोशाक समेत लगाएका थिए।

किन रोकिएन उद्घाटन मोह?

प्रचण्डलाई सरदर दैनिक १०० को हाराहारीमा निमन्त्रणा आउने गरेको छ। कार्यक्रममा जाने/ नजाने सचिवालयले तय गर्छ।

पुसअघि सकेसम्म धेरै कार्यक्रममा सहभागिता जनाएको भए पनि अहिले केही कार्यक्रममा मात्रै जाने गरेको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यको दाबी छ।

उनले प्रचण्ड अहिले गइरहेको कार्यक्रम पुस १० गतेको घोषणाअघि नै तय भएकोले रद्द नभएको बताए। धरान उत्सव र नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा मात्रै प्रचण्ड सहभागी भएनन्।

‘केही पुसअघि नै तय भएका छन्। ती कार्यक्रममा अहिले जान्न भन्न मिल्दैन। तर, सरकारी काममै बाधा पुग्नेगरी उहाँ उद्घाटन, सम्मेलनलगायतमा जानुहुन्न,’ आचार्यले भने।

सार्वजनिक बिदाका दिन उद्घाटनमा जान भने प्रचण्डले नरोक्ने उनले बताए।

‘कार्यक्रममा जाँदै नजाने भन्ने पनि सम्भव हुँदैन। बिदाको दिनमा, कार्यालय समयभन्दा अरू बेलामा जानुहुन्छ,’ उनले भने।

सानातिना उद्घाटनमा प्रधानमन्त्री नै पुग्नु नेपालमा नयाँ होइन। त्यसैलाई निरन्तरता दिइरहेका प्रचण्डले भाषणमा क्रमभंगता गर्ने वाचा गरे पनि उद्घाटनमा जान छोडेर सरकारका काममा केन्द्रित भएको देखिएको छैन।