९ वर्षसम्म काम पूरा नभएको पासाङल्हामु राजमार्गः स्तरोन्नति चाँडै सक्ने अर्थमन्त्री महतको आश्वासन



बिजमाण्डू
२०८० पुष २३ गते २०:३६ | Jan 8, 2024
९ वर्षसम्म काम पूरा नभएको पासाङल्हामु राजमार्गः स्तरोन्नति चाँडै सक्ने अर्थमन्त्री महतको आश्वासन

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले नुवाकोटलाई काठमाडौंसँग जोड्ने पासाङल्हामु राजमार्गको स्तरोन्नति छिट्टै अघि बढ्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

नुवाकोटको बेलकोटगढी नगरपालिका ११ मा रहेको पञ्चकन्या माविको ४८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सो सडकको स्तरोन्नतिका क्रममा जीर्ण भएको सडक एक वर्षभित्र चरणबद्ध रुपमा ठेक्का लगाइसक्ने प्रतिबद्धता जनाए।

त्रिशूलीदेखि ककनी हुँदै बालाजु जोड्ने ७२ किलोमिटर सडकको काठमाडौंतर्फ निर्माण सम्पन्न भइसकेकाले नुवाकोटतर्फको सडकलाई दुई चरणमा ठेक्का लगाउन लागिएको उनको भनाइ छ।

‘काठमाडौंको तीनपिप्लेदेखि नुवाकोटको ककनीसम्म रु एक अर्ब ३३ करोड बजेट सुनिश्चित गरेर बहुवर्षीय ठेक्का लगाइसकेको छ’, महतले भने, ‘ककनीदेखि पीपलटारसम्मको सडक यसअघिको ठेक्काबाट बच्ने रकममा सम्बोधन हुनसक्छ। त्यसो नभए आगामी आर्थिक वर्षको बजेट छुट्याएर काम सुरु हुन्छ भन्नेमा ढुक्क हुनुहोस्।’

विसं २०१८ मा विस्तार भएको नुवाकोट र रसुवा जोड्ने पासाङल्हामु राजमार्ग विसं २०७१ मा एक लेनबाट दुई लेन बनाउनका लागि ठेक्का लगाइएको थियो। उक्त समयमा यसअघि गरिएको कालोपत्र खनेपश्चात् निर्माण व्यवसायीले काम नगरेपछि सरकारले ठेक्का तोडेको थियो। सञ्चालन अवस्थामा रहेको सडक स्तरोन्नतिका लागि जीर्ण बनाएसँगै पछिल्लो एक दशकदेखि यस सडकमा आउजाउ गर्न समस्या भएको छ। रासस