कृषि मन्त्रालयले उखु कृषकलाई भुक्तानी गर्‍यो अनुदानबापतको ८० करोड रुपैयाँ



बिजमाण्डू
२०८० पुष ७ गते १७:२४ | Dec 23, 2023
कृषि मन्त्रालयले उखु कृषकलाई भुक्तानी गर्‍यो अनुदानबापतको ८० करोड रुपैयाँ
फाइल फोटो।

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत ८० करोड रुपैयाँ रकम भुक्तानी गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने १ अर्ब ३२ करोड रुपैयाँमध्ये चालु आवमा सो रकम भुक्तानी गरिएको हो।

Tata
GBIME
Nepal Life

बाँकी ५२ करोड रुपैयाँ बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत प्रदान गरेकाले सम्बन्धित जिल्लामा निकासापश्चात् कृषकको उपलब्ध विवरणका आधारमा कृषकको खातामा रकम भुक्तानी हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिइन्।

सरकारले उखु कृषकको संरक्षण र कृषि व्यवसाय प्रवर्धन गर्न हरेक वर्ष उखुको न्यूनतम खरिद मूल्य तोक्दै आएको छ। चालु आवका लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्‍विन्टल ५ सय ६५ रुपैयाँ र नेपाल सरकारले प्रदान गर्ने प्रति क्‍विन्टल अनुदान रकम ७० रुपैयाँ निर्धारण गरिएको छ।

विभिन्‍न उखु उत्पादन हुने जिल्लाका कृषकबाट लिइएको उत्पादन लागत विवरण तथा छिमेकी देशमा तोकिएको खरिद मूल्यलाई समेत विश्लेषण गरी तयार गरिएको प्रतिवेदनका आधारमा कृषि विभागले मूल्य निर्धारणका लागि प्रस्ताव गरेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयोजकत्वमा अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय किसान आयोग, राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका प्रतिनिधि, नेपाल उखु उत्पादन महासङ्घ, चिनी उत्पादक सङ्घलगायतका सरोकारवालाको सुझाव समेतलाई विश्लेषण गरी प्रतिक्‍विन्टल उखुको लागत २० प्रतिशत मुनाफा र ढुवानी लागतसमेत गरी प्रतिक्‍विन्टल न्यूनतम खरिद मूल्य ५ सय ६५ रुपैयाँ सिफारिस गरिएको थियो। रासस