युनिलिभरको करपछिको मुनाफा १ अर्ब ८३ करोड, सेयरधनीलाई प्रति कित्ता १५८० रुपैयाँ लाभांश



बिजमाण्डू
२०८० मंसिर २६ गते १९:४९ | Dec 12, 2023
युनिलिभरको करपछिको मुनाफा १ अर्ब ८३ करोड, सेयरधनीलाई प्रति कित्ता १५८० रुपैयाँ लाभांश
युनिलिभर नेपालको ३०औं वार्षिक साधारण सभा

काठमाडौं। युनिलिभर नेपालले गत आर्थिक वर्ष कर पछि १ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढी हो।

Tata
GBIME
Nepal Life

कम्पनीले मंगलबार काठमाडौंमा भएको ३०औं साधारण सभामा गत वर्ष कमाएको मुनाफाबारे जानकारी दिएको हो। कम्पनीको अघिल्लो आर्थिक वर्षको कर तिरेपछिको मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ थियो।

साधारणसभाले सेयरधनीलाई प्रति कित्ता १५८० रुपैयाँ लाभांश दिने प्रस्ताव पारित गरेको छ। साधारणसभाले पारित गरेसँगै अब सेयरधनीले लाभांश पाउनेछन्। यो लाभांश अहिलेसम्मकै धेरै हो।

युनिलिभर नेपालमा ८५ प्रतिशत सेयर संस्थापक सेयरधनीको छ। बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणको हो।

कम्पनीका अध्यक्ष देव बाजपेइले न्यून लगानी, जैविक विविधतामा देखिएको नकारात्मक असर, भूराजनीतिक टकराव लगायत कारण कम्पनीको अबको यात्रा कठिन हुन सक्ने बताए।

‘यहाँ हामी अबको यात्रा कठिन हुन सक्ने अपेक्षा गर्न सक्छौं। तर हामी विश्वस्त छौं कि यसलाई हामी अत्यन्त लगनशीलताका साथ व्यवस्थापन गर्न सक्षम हुनेछौं,’ उनले भने, ‘व्यापक आपूर्ति सञ्जाल, व्यवस्थापनयुक्त उद्देश्यपूर्ण बजार प्रवर्धन लगायत कारण आगामी दिनमा पनि हामीसँग व्यवधान हटाउँदै अघि बढ्ने प्रशस्त अवसर छन्।’

कम्पनीका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले सञ्चालन पुँजी निकै बलियो रहेकाले बजारमा समस्या हुँदा पनि कम्पनीलाई असर नपरेको बताए। ‘हाम्रो ब्यालेन्स सिट न्यून लगानीका कारण मजबुत छ र बलियो संचालन पुँजी प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि कुनै असर परेन,’ उनले भने।