नेप्से ३६.८६ अंकले बढ्यो, ४ अर्ब ३० करोडको कारोबार, लगानीकर्ताको रोजाइमा शिवम् सिमेन्ट



बिजमाण्डू
२०८० मंसिर २६ गते १५:१९ | Dec 12, 2023
नेप्से ३६.८६ अंकले बढ्यो, ४ अर्ब ३० करोडको कारोबार, लगानीकर्ताको रोजाइमा शिवम् सिमेन्ट

काठमाडौं। सेयर बजार परिसूचक मंगलबार ३६.८६ अंकले बढेको छ। बजार खुलेको पहिलो १० मिनेटमा ६ अंकले घटेको नेप्से त्यसपछि निरन्तर उकालो लागेको हो।

Tata
GBIME
Nepal Life

अपराह्‍न २:२० मा बढेर १९९० बिन्दुमा पुगेको त्यसको १३ मिनेटमा १९७५ बिन्दुमा झरेको थियो। त्यसपछि बढेर अन्तिममा १९८५.४४ बिन्दु कायम भएको छ।

राष्ट्र बैंकले नीतिगत दरहरु कम गरेको प्रभावस्वरुप वाणिज्य बैंकले ब्याजदर घटाउन थालेपछि सेयर बजार बढेको हो। होटल उपसमूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले बढेको छ। जलविद्युत, वित्त र जीवन बिमा उपसमूहको सूचक पनि ३ प्रतिशत भन्दा बढी उकालो लागेको छ।

बोटलर्स नेपाल बालाजु, धौलागिरी लघुवित्त लगायत ८ कम्मपनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। तर बैंकिङ उपसमूह भने खासै बढ्न सकेन।

यस्तै ४ अर्ब ३० करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ। लगानीकर्ताको रोजाइमा शिवम् सिमेन्ट परेको छ। यो कम्पनीको १८ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ।

कारोबार रकम सोमबारको तुलनामा केही घटेको छ। सोमबार ५ महिनायताकै धेरै ४ अर्ब ८४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

मौद्रिक नीतिमा लचकताका कारण आइतबार १११ अंकको छलाङ मारेको नेप्सेमा सोमबार १५ अंकको करेक्सन भएको थियो।