काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग हमासले बन्दी बनाएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन्।
मन्त्री साउदले सोमबार कतारका प्रधानमन्त्री थानीसँग दोहामा भएको शिष्टाचार भेटवार्ता विपिनको रिहाइका लागि सशक्त पहल गरिदिन आग्रह गरेका हुन्।
परराष्ट्रमन्त्री साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतारसँग नेपालको मित्रवत सम्बन्धका आधारमा विपिनको रिहाइका लागि सहयोगको आशा गरेको बताएको उनका स्वकीय सचिव दिपक जोशीले जानकारी दिए।
जवाफमा कतारका प्रधानमन्त्री थानीले विपिन लगायत विदेशी बन्दीको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको भन्दै चाँडै सकारात्मक परिणाम आउनसक्ने संकेत गरे।










