एनसेलको सेयर बिक्री सरकारको छानबिनमा, मन्त्रिपरिषद्‍ले बनायो शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति

बिजमाण्डू
२०८० मंसिर २१ गते ११:१४ | Dec 7, 2023
एनसेलको सेयर बिक्री सरकारको छानबिनमा, मन्त्रिपरिषद्‍ले बनायो शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति
मन्त्रिपरिषद्‍ बैठक। फाइल तस्वीर

काठमाडौं। सरकारले एनसेलको सेयर बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

Tata
GBIME

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव रितेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन्। गौतम सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव हुन्। यस्तै सहसचिव भण्डारी सञ्चार तथा सूचना प्रविधि र शाक्य अर्थ मन्त्रालयमा कार्यरत छन्।

समितिलाई ३० दिनको समय दिइएको छ।

प्रतिनिधि सभाको लेखा समितिले बुधबार मात्र सरकारलाई स्वतन्त्र समिति गठन गरी एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न निर्देशन दिएको थियो। समितिले एक महिनाभित्र छानबिन गर्न भनेको थियो। समितिले छानबिन नसकिएसम्मका लागि बिक्री प्रक्रिया रोक्न निर्देशन दिएको छ।

त्यसअघि मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले समेत किनेको भन्दा निकै कम रकममा बिक्री गरिनुमा राजस्व छलीको आशंका गर्दै छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

आठ वर्षअघि १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको सेयर आजियाटाले एक साताअघि ६ अर्ब ६० करोड रुपैयाँमा एनसेलका स्थानीय साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति नलिइ बिक्री गरिएकामा कानुन उल्लंघन गरेको रुपमा अर्थ्याइएको छ।