काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरिन्।
छुङछेङ नेतृत्वको टोलीमा नेपाल मामिला हेर्ने चिनियाँ अधिकारी पनि छन्। टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत नेतासँग भेटघाट गर्ने तालिका छ। टोलीले दाहालसँग बिहिबार भेटघाट गर्नेछ।
नेपाल बसाइको क्रममा उनले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री प्रचण्ड लगायतसँग भेट गर्ने कार्यतालिका छ ।
प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिए।
दाहाल असोज पहिलो साता चीन भ्रमणका क्रममा तिब्बत पनि गएका थिए। उनले त्यतिखेर छुङछेङलाई नेपाल भ्रमणको निम्ता दिएका थिए।
चिनियाँ नेता छुङछेङ शुक्रबार पोखरा जाने तालिका छ।










