काठमाडौं। सन् २०३० सम्म फाइभजी प्रयोगकर्ताको (सब्स्क्रिप्सन) संख्या ५ अर्ब ६० करोड नाघ्ने प्रक्षेपण दूरसंचार उपकरण निर्माता नोकियाले गरेको छ।
मंगलबार नोकियाले सार्वजनिक गरेको ग्लोबल नेटवर्क ट्राफिक २०३० प्रतिवेदनअनुसार यो कुल मोबाइल प्रयोगकर्ता संख्याको ५० प्रतिशत हुन आउँछ।
सन् २०३० सम्म मोबाइल प्रयोगकर्ताको कुल संख्या ८ अर्ब ५० करोडबाट बढेर १० अर्ब ३० करोड पुग्ने तथ्यांक नोकियाले सार्वजनिक गरेको हो। यस्तै, २०३० सम्म ९२ प्रतिशत मोबाइल प्रयोगकर्ताहरुले फोरजी वा फाइभजी प्रविधि प्रयोग गर्ने बताइएको छ।
नोकियाको प्रतिद्वन्दी एरिक्सनले सेप्टेम्बरमा विश्वभर फाइभजी प्रयोगकर्ता सन् २०२३ को दोस्रो त्रैमासमा १७ करोड ५० लाखले बढेर १ अर्ब ३० करोड पुग्ने प्रक्षेपण गरेको थियो। स्वीडिस कम्पनी एरिक्सनले सन् २०२८ सम्म फाइभजी प्रयोगकर्ता ५ अर्ब पुग्ने अनुमान गरेको छ।

यस्तै, नोकियाका अनुसार सन् २०३० सम्ममा भिडियो एप्लिकेसनहरुले मोबाइल डेटा ट्राफिक सबैभन्दा धेरै सृजना गर्नेछ। मेटाभर्स एआर/एक्सआरले पनि क्रमस: मोबाइल ट्राफिक वृद्धि गर्दै जाने अपेक्षा गरिएको छ।
सन् २०२२ सम्म कुल ट्राफिकको ११ प्रतिशत हिस्सा सोसल नेटवर्किङको थियो। यो सन् २०३० सम्म निरन्तर स्थिर रहने नोकियाको प्रक्षेपण छ।










