मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेका क्याप्टेन सेढाइको निधन, शव मुम्बईबाट काठमाडौं ल्याइँदै

बिजमाण्डू
२०८० कात्तिक ८ गते ११:३१ | Oct 25, 2023
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेका क्याप्टेन सेढाइको निधन, शव मुम्बईबाट काठमाडौं ल्याइँदै

काठमाडौं। मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर घाइते भएक क्याप्टेन प्रकाश कुमार सेढाइको मुम्बाईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा निधन भएको छ।

Tata
GBIME

गत असोज २७ गते शनिबार बिहान लुक्लाबाट लोबुचेतर्फ यात्रु उद्धार उडानका लागि गएको नाइन एन-एएनजे कलसाइनको हेलिकोप्टर दुर्घटना भएको थियो। यो उडानमा क्याप्टेन सेढाइमात्र थिए।

लुक्ला-लोबुचे उडान क्रममा भएको सो दुर्घटनामा हेलिकप्‍टर आगलागीका कारण उनी घाइते भएका थिए। उपचारका क्रममा उनको निधन भएको नागरिक उड्‍डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

‘बर्निङको केसमा बाहिरी प्रभाव देखिएको थिएन। तर भित्री रुपमा फिभर बढ्दै गएको थियो भन्‍ने जानकारी आएको छ। उहाँको फोक्सो र किड्नीमै प्रभाव परेका कारण निधन भएको जानकारी आएको छ,’ भुलले भने।

तीन दशक यता हेलिकप्टर उडानमा आबद्ध क्याप्टेन सेढाइको निधनले उड्‍डयन उद्योगकै लागि धक्का पुगेको व्यवसायीले बताएका छन्। नेपाली सेनाबाट आफ्नो सेवा सुरु गरेका उनले यस अघि श्री एयरलाइन्सको एमआइ-१७ मार्फत युएन मिसनमा पनि सेवा दिएका थिए।

हेलिकोप्टरमै प्राविधिक समस्या भएको आशंका

नागरिक उड्‍डयन प्राधिकरणको प्राविधिक टोलीले गरेको प्रारम्भिक अनुसन्धानका अनुसार अवतरण हुनु अगाडि नै हेलिकप्टरमै समस्या रहेको अनुमान गरिएको छ। हेलिकप्‍टरमै समस्या आएका कारण उनले त्यो दिन नदी छेउमा हेलिकप्टर अवतरण गराएको सूचना अधिकारी भुलले बताए। सो दिन मौसम पनि अनुकूल रहेको बताइएको छ।

‘अवतरण अगाडि नै हेलिकोप्टरमा आगलागी भएलगत्तै पानीमा जानुभएको देखिएको छ। लोबुचेमा ढुंगा र पानी बाहेक केही छैन। हामीले स्थलगत अध्ययन गर्दा उहाँले हेलिकोप्टर अवतरण गर्नु अगाडि नै तल रहेका सर्वसाधरणलाई हट्नुस् भनेर इशारा गर्नुभएको थियो,’ भुलले भने, ‘हामीले हावाका कारण दुर्घटना भएको आशंका गरेको गलत देखिएको छ। अवतरण अगाडि नै हेलिकोप्टरमा आगलागी भएको आशंका छ।’

रोटरमा हवाईजहाज जस्तो ठोक्किने बित्तिकै आगलागी नहुने हुँदा क्याटेन सेढाइले हेलिकप्टरमा केही समस्या आएकै कारण नदी छेउमै अवतरण गरेको प्राविधिकको प्रक्षेपण छ।