दसैंमा मदिरा : कति पिउने? कसरी पिउने? यस्तो छ डाक्टरको सुझाव



बिजमाण्डू
२०८० कात्तिक ६ गते १३:१५ | Oct 23, 2023
दसैंमा मदिरा : कति पिउने? कसरी पिउने? यस्तो छ डाक्टरको सुझाव

काठमाडौं। दसैंमा माछा, मासु र मदिरा अत्यधिक खपत हुने गर्छ। मासु र रक्सी अत्यधिक सेवन गर्नाले कतिपय दीर्घरोगीहरु झनै बिरामी पर्ने गर्छन्।

Tata
GBIME
Nepal Life

मुटु, मधुमेह, मिर्गौला, कोलेस्ट्रोलका तथा अन्य दीर्घरोगीहरुलाई माछा मासु, मादक पदार्थ, तेल तथा बोसोजन्य चिल्लो पदार्थहरु भएका खानेकुराहरु खानु हुँदैन। तर दसैंमा यस्तै परिकार ज्यादा खपत हुन्छ। यतिबेला धेरै मानिसको चासो हुन्छ रक्सी कति र कसरी पिउने?

मदिरा पिउन कुनै अवसर चाहिँदैन। प्रायः मानिसहरु खुसी हुँदा मदिरा पिउँछन्। दुःखमा पनि मदिरा, साथीभाइ जमघटमा मदिरा। मानिसको एउटा लत नै भइसक्यो।

विश्‍वभर १०७ मिलियन बराबरको जनसंख्याले मादक पदार्थ सेवन गर्ने गरेको तथ्यांक छ। यसमा ७० प्रतिशत पुरुष (७ करोड ५० लाख) छन्। विश्‍वभर करिब ३ करोड २० लाख महिलाले मादक पदार्थ सेवन गर्ने गर्छन्। मदिरा सेवनकै कारण हरेक वर्ष ३० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ।

अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ ड्रग एब्युजको तथ्यपत्रअनसार जिन, भोड्का, ह्‍विस्की, रमजस्ता कडा मदिरा अर्थात् ४४ मिलिलिटर हार्ड लिकर एक पेग हो। एक पेग हार्ड ड्रिंकमा भएको मदिराको मात्रा ३५५ मिलिलिटर बियर, १४८ मिलिलिटर वाइन, २३६ माल्ट लिकरमा जस्तै हुन्छ।

त्यसो भए कति पिउने त मदिरा?

चिकित्सकहरु सकेसम्म मदिरा नपिउन नै सुझाव दिन्छन्। तर चाडपर्वको बेला परिवार र साथीहरु मिलेर रमाइलो गर्दा थौरै मदिरा पिउँदा धेरै हानी नगर्ने उनीहरु बताउँछन्।

नर्भिक अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. सन्दीपराज कुँवर दसैंमा परिवारसँग रमाइलोका क्रममा मदिरा पिउँदा मात्रा मिलाएर पिउन सुझाव दिन्छन्।

उनी दुई गिलासभन्दा बढी बियर र ह्‍विस्की ६० एमएलको दुई प्याकभन्दा बढी नपिउन सुझाव दिन्छन्। ९० एमएलसम्म वाइन मात्र खाने उनको सुझाव छ।

डा ऋषिराज काफ्लेका अनुसार दसैंको नाममा जथाभावी मद्यपान गर्दा सुगर र प्रेसरको समस्या बढ्न सक्ने बताउँछन्। अत्यधिक रक्सीको सेवनले रगतमा ट्राइग्लिसेराइडको मात्रा बढाउने र त्यसले स्वास्थ्यको लागि घातक हुन सक्ने उनले बताए।

‘सकेसम्म मदिरा नखाएकै राम्रो, तर समाजमा घुलमिल हुनको लागि थोरै खाँदा त्यस्तो घातक असर गर्दैन,’ काफ्ले भन्छन्, ‘मदिरा कति खाने र निरन्तरता अनुसार त्यसको असर पनि फरक पर्छ। असर नपर्ने भन्‍ने होइन।’