सुन प्रकरणमा फेरि संसद अवरोध गर्ने तयारीमा एमाले, बालुवाटारमा प्रचण्डले थाले ओलीसँग छलफल



बिजमाण्डू
२०८० असोज १४ गते ०९:३१ | Oct 1, 2023
सुन प्रकरणमा फेरि संसद अवरोध गर्ने तयारीमा एमाले, बालुवाटारमा प्रचण्डले थाले ओलीसँग छलफल
File Photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग छलफल थालेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठक एमालेले अवरोध गर्ने तयारी गरेपछि प्रचण्डले एमालेसँग छलफल थालेका हुन्।

Tata
GBIME
Nepal Life

छलफलका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौला प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीले बोलाएपछि छलफलका लागि बालुवाटार गएको बर्तौलाले बताए।

‘प्रधानमन्त्रीले बोलाएपछि अहिले हामी बालुवाटारमा छौं,’ बर्तौलाले भने।

६१ किलो सुन प्रकरणको छानबिनमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सत्तारुढ र प्रतिपक्षी दलका बिचमा भदौ ५ गते सहमति भएको थियो। असोज ५ मा आयोग गठन गर्ने सहमतिमा उल्लेख थियो। तर निर्धारित मितिमा आयोग गठन हुन सकेन।

सत्तारुढ दलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को अनुसन्धानलाई मान्यता दिनुपर्ने अडान राखेका छन् भने एमालेले आयोगले छुट्टै जाँचबुझ गर्न पाउनुपर्ने माग गरिरहेको छ। आयोगको कार्यविधिबारेको विवादका कारण आयोग गठन नै हुन सकेको छैन।

एमालेले सरकारले राजनीतिक बेइमानी गरेको आरोप प्रधानमन्त्री प्रचण्डमाथि लगाइरहेको छ। सुन प्रकरणमा एमालेले साउन १० देखि भदौ ५ सम्म लगातार संसद अवरोध गरेको थियो। त्यतिबेला एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको थियो। तर पछिल्लो समय एमाले पनि सुन प्रकरणमा मौन रहँदै आएको छ।

सीआईबीले सुन प्रकरणमा २९ जना विरुद्ध मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन बुझाएको थियो। लामो समय विदेश भ्रमणमा रहेका प्रचण्डले स्वदेश फर्के लगतै एमालेसँगको संवाद अघि बढाएका हुन्।