काठमाडौं। अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको सवारी मेला ‘नाडा अटो शो’मा एउटै स्टल साढे १३ लाख रुपैयाँसम्मको भाडा दरमा बुकिङ भएको छ। आयोजकका अनुसार ब्लक ‘ए प्लस थ्रीडी’को ४ वटा स्टलको मूल्य १३ लाख ५८ हजार ६२५ रुपैयाँमा बुकिङ भएको हो।
आगामी भदौ अन्तिम साता राजधानीको भृकुटीमण्डपमा हुने मेलाका लागि नाडा अटो शोको प्राइम स्टलहरु लिन चार कर्पोरेट हाउसबीच प्रतिस्पर्धा भएको छ। जसमा प्राइम स्टल ‘ए’को स्टलहरु पाउन सुजुकी, निसान, टाटा र महिन्द्राको प्रतिस्पर्धा भएको थियो।
यस्ता मेलामा प्राइम स्टलहरु लिन जहिले पनि प्रतिस्पर्धा हुने गरेको छ। त्यही अनुसार नाडाले पनि ग्रुप ‘ए’ ४ जनाको गोला प्रथा अनुसार छनोट गरेको हो।
यो पटक ‘बी ५’ मा हुन्डाई मोटर्सको स्टल हुने भएको छ भने ‘बी ११’ स्टलमा बीवाइडी बस्ने भएको छ। यस्तै ‘ए ६’ स्टलमा सेरेस, ‘ए ७’ स्टलमा ग्रेटवाल मोटर, ‘सी ८’ स्टलमा फोर्ड, ‘ए १०’ मा नेटा भी, ‘जी १२’ स्टलमा किया, ‘एच १३’ स्टलमा एमजी, ‘ए ९’ मा सिट्रोन, ‘एफ १३’ स्टलमा वुलिङ बस्ने भएका छन्।
यस्तै, ब्लक ‘ए थ्री ई’को ४ वटा स्टलको भने ८ लाख ९१ हजार ५०० रुपैयाँ छ। साथै ब्लक ‘बी टु ई’ मा दुई वटा स्टल छन्। जसको मूल्य १२ लाख ४९ हजार रुपैयाँ छ।
यस्तै, अन्यको भाडादर स्टल र स्थान हेरेर १ लाख रुपैयाँदेखि ९ लाखसम्म छ। जसमा क्याफेटेरियाका लागि नाडाले २ लाख २६ हजार रुपैयाँ कायम गरेको छ।

नाडाले स्टल भाडाबाट मात्र २ करोड ३६ लाख ८२ हजार रुपैयाँ उठाउने भएको छ। साथै ब्यानरहरु राखेबापत ६ लाख १४ हजार रुपैयाँ संकलन गर्ने भएको छ। नाडाले दुवै गरी कुल २ करोड ४२ लाख ९६ हजार रुपैयाँ संकलन गर्नेछ।
यसरी संकलन भएको आम्दानीबाट २ करोड १३ लाख ७१ हजार रुपैयाँ खर्च हुने नाडाको प्रक्षेपण छ। यसबाट नाडाले अटो शोमा २९ लाख रुपैयाँ बचत हुने अनुमान गरेको छ। तर नाडाले आम्दानीका अन्य स्रोत जुटेमा यो अटो शोमा १ करोड १० लाख ४२ हजार रुपैयाँ बचत हुने जनाएको छ।
स्पोन्सरसिप इन्कम १५ लाख र टिकट बिक्रीबाट मात्र ६६ लाख १७ हजार ८० रुपैयाँ संकलन हुने अनुमान छ। स्पोन्सरसिप र टिकटबाट ८१ लाख १७ हजार रुपैयाँ संकलन हुने नाडाको प्रक्षेपण छ।
नाडाले २०१९ मा भएको अटो शोमा पनि यति नै रकम संकलन गरेको थियो। त्यहीअनुसार यो वर्षका लागि पनि प्रक्षेपण गरिएको नाडाले जनाएको छ। मेलामा अवलोकनकर्ताले गाडीका ब्रान्ड, त्यसका सुविधा, मूल्यबारे जानकारी पाउने छन्। साथमा खरिद गर्न चाहदा बैंक तथा वित्तीय संस्थाबाट फाइनान्सिङ सुविधा पाउने छन्।
यसपटक कुन-कुन ब्रान्डको सहभागिता भन्ने अनिश्चित
नाडाले बर्सेनि आयोजनाकाे क्यालेन्डरमा राखे पनि यो सवारी मेला ३ वर्षपछि हुन लागेको हो। यसअघि इभी लक्षित गरेर नाडा इभी एक्स्पो गरिएको थियो।
नाडा अटो शो भने ३ वर्षदेखि हुन सकेको थिएन। त्यसैले यसपटक धेरै ब्रान्डहरु आउने अपेक्षा नाडाको थियो। तर स्थापित केही ब्रान्डहरु नै सहभागी नहुने भएका छन्।

यो पटक पनि नाडाले २ पाङ्ग्रे, ३ पाङ्ग्रे, ४ पाङ्ग्रे र लाइट कमर्सियल सवारीसाधनलाई सहभागी गराउदै छ। साथै बैंक वित्तीय तथा कम्पोनेन्ट्सहरुको पनि सहभागिता हुनेछ।
नाडाका अनुसार यस पटक अटो शोमा सबै गरेर ४४ वटा ब्रान्डका सवारीसाधनहरु सहभागी हुँदै छन्। तर एक दर्जनभन्दा बढी ४ पाङ्ग्रे स्थापित ब्रान्ड नै यस पटकको नाडा अटो शोमा सहभागिता नजनाउने भएका छन्।
जसमा होन्डा, फोल्क्सवागन, माज्डा, जीप, स्कोडा, महिन्द्राको कमर्सियल, बीएमडब्लु, टोयोटा, इसुजु, प्रोटोन, चाङ्गन, मित्शुबीसी, रेनो, प्युजो, चेरी लगायतका मोडलहरु यसपटक शोमा सहभागी नहुने भएको नाडाले जनाएको छ। यस्तै विद्युतीय गाडी टेस्ला पनि सहभागी नहुने भएको छ।
यस्तै, २ पाङ्ग्रेमा पनि धेरै ब्रान्डहरु सहभागी नहुने भएका छन्। जसमा बीएमडब्लु, हिरो, यामाहा, क्रसफायर, ब्राभो, टेल्जी, ग्रन्थ, ओला, हिरो इलेक्ट्रिक लगायतका ब्रान्डहरु अटो शोमा सहभागी नहुने भएका छन्।
नयाँ मोडलसहित आउँदैछन् यी ब्रान्डहरु
यो अटो शोमा ४ पाङ्ग्रेमा लक्ष्मी ग्रुपले बिक्री गरिरहेको हुन्डाई, सिप्रदी ट्रेडिङले बिक्री गरिरहेको टाटा, केएमसी अटोमोबाइलको सुजुकी, अग्नि ग्रुपको महिन्द्रा, भीजी इम्पेक्सको ग्रेटवाल, साइमेक्स इंकको बीवाइडी, पारामाउन्ट मोटर्सको एमजी, सांग्रिला मोटर्सको सिट्रोन, म्याक्सस, सीजी मोटर्सको नेटा भी, पायोनियर मोटोकर्पको निसान, जीओ अटोमोबाइल्सको फोर्ड, एमएडब्लु वृद्धि अटोकर्प सेरेस लगायतका ब्रान्डको उपस्थिति हुनेछन्।
यस्तै, कन्टिनेन्टलक ट्रेडिङ इन्टरप्राइजेजको किया, पारामाउन्ट मोटर्सको म्याक्सस, इभी नेपाल मोटर्सको वुलिङ लगायत ब्रान्डहरु यो अटो शोमा देखिने भएका छन्।

साथै लाइट कमर्सियलमा सीजी मोटर्सको केवाइसी र किङलङ इभी, एमएडब्लु वृद्धि कमर्सियल भेहिकलको फुटोन, आयाम इन्टरकन्टिनेन्टलको फोर्स, पूजा कन्स्ट्रक्सन नेपालको एसआरएम, इको इन्फिनिटीको पोलारिस देखिने छन्।
यस्तै, दुई पाङ्ग्रेमा स्याकार ट्रेडिङको होन्डा, त्रिवेणी ग्रुपको रोयल इन्फिल्ड, हंसराज हुलासचंद एण्ड कम्पनीको बजाज र केटीएम, जगदम्बा मोटर्सको टीभीएस, केटीएम इन्टरनेशनल ट्रेडिङको बेनेली, भीजी अटोमोबाइल्सको सुजुकी, इको इन्फिनीटीको एनआईयु, इटालिया मोटोवर्कको सन्रा, कुजु नेपालको याडिया, अग्नि मोटो इंकको जावा, आई-हव नेपालको सेगवे, डेल्टा अटोकर्पको भेस्पा तथा अप्रिला रहने छन्।
निम्बस इन्टरनेशनल कम्पनीको लेक्ट्रो, इडुरो नेपालको इभोक, आइरन मोन्क नेपालको जोन्टेज, जमुनी अटो सेन्टरको स्लेनेन ९०, युनीटी ट्रेडिङ कन्सर्नको कोमाकी, ह्वाइट लोटस मोटर्सको प्यअर इभी, आफ्टेक मोटर्स इन्डियाको आफ्टेक, इभी नेपाल मोटर्सको लेभनिङलगायत २२ वटा ब्रान्ड प्रदर्शनीमा देखिने छन्।
साथै, अन्य लुब्रिकेन्ट, स्पेयर पार्ट्सको २३ वटा कम्पनीहरु पनि सहभागी हुँदैछन्। यस्तै ५ वटा बैंक तथा वित्तीय संस्थाको पनि स्टल हुने नाडाले जनाएको छ। यी सबै अटो ब्रान्डहरुले आफ्नो स्टलहरु बुकिङ गरिसकेको नाडाले जनाएको छ।
यस पटकको इभी शोमा पनि इभी मात्र प्रायः केही नयाँ मोडल र नयाँ ब्रान्ड आउने छन्।










