उपत्यकाभित्र नक्कली नोट छपाइ, बसमा भेटियो बन्डलका बन्डल, अचारको नाममा ढुवानी



बिजमाण्डू
२०८० साउन २६ गते १७:४५ | Aug 11, 2023
उपत्यकाभित्र नक्कली नोट छपाइ, बसमा भेटियो बन्डलका बन्डल, अचारको नाममा ढुवानी

काठमाडौं। लुम्बिनीबाट बिहीबार काठमाडौं आएको लु १ प ५ नम्बरको पर्यटक बसमा जाँच गर्दा प्रहरीले बन्डलका बन्डल नक्कली नोट भेट्यो। काठमाडौंको थानकोटस्थित चेक प्वाइन्टमा जाँच गर्दा बसमा नक्कली नोट भेटिएको हो।

Tata
GBIME
Nepal Life

गाडीभित्र कार्टुनमा राखिएको अवस्थामा ३५ लाख ७३ हजार रुपैयाँको नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। सबै नोट १ हजार दरका हुन्।

त्यसपछि प्रहरीले गाडी चालक र सहचालकसँग सोधपुछ गर्‍यो। चालक र सहचालकको एउटै जवाफ आयो – लुम्बिनी बसपार्कमा एकजनाले अचारको कार्टुन भन्दै सामान राखे। काठमाडौंमा सामान रिसिभ गर्न मानिस आउने भन्दै नम्बर लिए।

चालक र सहचालककै आधारमा प्रहरी भक्तपुरसम्म पुग्यो। त्यहाँ पुग्दा प्रहरीले अर्को रहस्य पत्ता लगायो। चाँगुनारायण नगरपालिका-४ बुढाथोकी गाउँमा रहेको एक घरमा लाखौंको नक्कली नोट छापिने गरेको खुलेको छ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ घर भई हाल चाँगु बस्ने ४० वर्षीय अर्जुन सुवेदीको डेरामा फोटोकपी मेसिन राखेर नक्कली नोट छाप्ने गरेको फेला परेपछि प्रहरी खानतलासमा उत्रियो। सुवेदीको डेराबाट प्रहरीले १७ लाख २ हजार रुपैयाँ नक्कली नोट बरामद गर्‍यो। ती नोट पनि १ हजार दरका हुन्। सुवेदी पनि पक्राउ परे।

समातिएका सुवेदी मुख्य नाइके भएको खुलेको छ। उनीविरुद्ध पटकपटक बैंकिङ कसुरदेखि ठगी मुद्दा चलेको देखिएको छ। २०६३ फागुनमा काभ्रेमा चोरी, २०७१, २०७७ र २०७८ मा काठमाडौंमा बैंकिङ कसुर, २०७८ पुसमा चितवनमा ठगी, २०७९ भदौ ३० मा काठमाडौंमा ठगी र २०८० जेठमा साइबर ब्युरोबाट ठगी र यातनामा उनीविरुद्ध अदालतमा मुद्दा पुगेको थियो।

सुवेदीले कोठामा प्रिन्टर र केमिकल राखेर नक्कली नोट छाप्ने गरेका थिए। उनको कोठामा कार्टुनभित्र प्याक गरेर राखेको नक्कली नोट भेटिएको हो। यसरी छापिएको नक्कली नोट लाखको बिटोभित्र २/३ वटा हालेर बजारमा लाने गरेको अनुसन्धानबाट खुलेको छ।

‘तरकारी पसलदेखि लाखको बिटोभित्र हालेरसमेत बजारमा लाने गरेको देखिएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने।

प्रहरीले नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-६ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी तथा सुनकोसी गाउँपालिका घर भई काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

यसैगरी नवलपरासीको सराबल गाउँपालिका-१ घर भई हाल काठमाडौं बस्ने पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका-२ घर भई हाल काठमाडौंको सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाडौंको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा तथा झापा घर भई हाल काठमाडौंको सामाखुसी बस्ने २४ वर्षीय युवराज राईलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

उनीहरूविरुद्ध मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ।