लखनउ । भारतका १० लाख बैंक कर्मचारीहरुको तलव १५ प्रतिशतले बढ्ने भएको छ । १५ बर्षदेखि तलव बृद्धिको माग राख्दै आएका बैंक युनियन र भारतीय बैंक संघबीच तलव बृद्धि सम्बन्धि लिखित सहमति भएको हो ।
युनाइटेड फोरम अफ बैंक युनियनका प्रवक्त अतुल तिवारीले भने– १५ प्रतिशतको बृद्धि सामान्य हो । हामीले ५० प्रतिशत बृद्धिको माग राखेका थियौं । तर अहिलेको बृद्धिले बैंक कर्मचारीलाई थोरै भएपनि सन्तुष्टी प्रदान गरेको छ । आन्दोलन सफल भएको छ ।
युनियनको व्यानरमा सम्पूर्ण बैंकका कर्मचारी र अधिकारीहरुको नौं वटा संघले सन् २००० देखि तलव बृद्धिको माग राख्दै आन्दोलन गर्दै आएका थिए । पछिल्लो तीन बर्षमा बैंकका कर्मचारीहरुले पाँच पटक देशव्यापी हड्ताल गरेका थिए ।
फरवरी २१ मा भएको देशव्यापी हड्तालपछि फरवरी २३ मा बैंक फोरम र भारतीय बैंक संघबीच तलव बृद्धि गर्ने सम्बन्धमा मौखिक सहमति भएको थियो । सहमति हड्ताल फिर्ता भएको थियो ।
तलव बृद्धिसँगै महिनाको दोस्रो तथा चौथो शनिवार बैंकका कर्मचारीलाई विदा दिने पनि सहमति भएको छ । भारतमा आइतवार सार्वजनिक बिदा हुन्छ । शनिवार पनि छुट्टी पाउनका लागि कर्मचारीले पहिलो र तेस्रो शनिवार पुरै समय काम गर्नु पर्ने हुन्छ ।










