एमआरपीमा प्रधानमन्त्रीको सफाइ, सर्वसाधरणलाई मूल्यको सूचना मात्रै, चार पत्रकारलाई सेजन अवार्ड



बिजमाण्डू
२०६९ मंसिर १६ गते ००:०० | Dec 1, 2012
एमआरपीमा प्रधानमन्त्रीको सफाइ, सर्वसाधरणलाई मूल्यको सूचना मात्रै, चार पत्रकारलाई सेजन अवार्ड

काठमाडौं । प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वसाधरणलाई मूल्यको बारेमा सुसुचित गराउन मात्रै एमआरपी कार्यान्वयनमा ल्याएको बताएका छन् ।
‘सरकारले व्यवसायीसँग छलफल गरेर एमआरपी कार्यान्वयनमा ल्याएको हो,’ नेपाल आर्थिक पत्रकार समाज(सेजन)को १५ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले भने, ‘व्यवसायीले यसलाई खुल्ला बजार विरुद्ध जान खोजेको रुपमा बुझ्नु भएन ।’ उनले सरकारले आर्थिक एजेन्डालाई अघि बढाउन खोजेको बताउँद लगानी संरक्षण सम्झौता(विप्पा) त्यसकै महत्वपूर्ण कडी भएको दावी गरे ।

‘लगानी भित्र्याउनको लागि हामीले विप्पा सम्झौता गरेका हौ । यो सरकारले लगानीमैत्री वातावरण बनाउने प्रयास पनि गरेका छौ,’ उनले भने, ‘लगानी बोर्डको गठन गरेर लगानी वर्षको समेत सुरुवात गरिसकेका छौ ।’ उनले बजेटलाई राजनीतिक रंग दिन नहुने बताउँदै वैशाखको अन्त्यमा बजेट ल्याउन सबै राजनीतिक दल एकमत हुनुपर्ने धारणा राखे ।
‘बजेटलाई राजनीतिक रंग दिँदा थप समस्यामा उत्पन्न हुन्छ । बजेटलाई समयमा ल्याउने वातावरण बनाइदिन तपाईहरुलाई पनि आग्रह छ,’ प्रधानमन्त्री भट्टराईले भने । उनले मुलुकको तीब्र आर्थिक विकासको लागि वार्षिक ६ खर्बको लगानी आवश्यक हुने बताउँदै सरकारले त्यसतर्फ आफ्नो क्रियाशिलता बढाएको बताए ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक एजेन्डामा सबै राजनीतिक दल एकमत हुनसकेमा मुलुकको समृद्धि हुने बताए ।‘आर्थिक एजेन्डामा राजनीतिक दल एकमत हुन आवश्यक छ । तर यसमा सहमति हुननसक्दा विकास अघि बढ्न सकेको छैन,’ उनले भने । उनले राजनीतिक सहमतिकै लागि विगतको सरकारले ल्याएको बजेटको निरन्तरता दिएको स्मरण गर्दै तर सरकारले पूर्ण बजेट ल्याउन लाग्दा राजनीतिक दलले असहमति गरेकोमा दुःख व्यक्त गरे ।
‘राजनीतिक सहमतिका लागि विगतै सरकारको बजेटलाई निरन्तरता दिएका थियौ । तर हामीले पूर्ण बजेट ल्याउन लाग्दा राजनीतिक दलले असहमति गरेर एकतिहाई र दुई तिहाई बजेट ल्याउनुप¥र्यो,’ अर्थमन्त्रीले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले सरकारले एमआरपी कार्यान्वयनमा ल्याएर थप खुल्ला बजार विरुद्ध जान खोजेको आभाष मिलेको बताए ।
‘सुरुवातमा तीन खम्बे नीति ल्याएर निजी क्षेत्रको भूमिका कम गर्न खोजिएको थियो । अहिले आएर एमआरपी कार्यान्वयनमा ल्याउन खोजेर थप संशकित बनायो,’ उनले भने ।
सेजन अवार्डबाट चार पत्रकार पुरस्कृत
नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार चार आर्थिक पत्रकारले पाएका छन् ।

छापामाध्यमबाट कारोबार दैनिकका बाबुराम खड्का र कान्तिपुर दैनिकका लोकमणि राईले पाएका छन् भने विद्युतीय सञ्चारमाध्यमबाट नेपाल टेलिभिजनका बद्री गौतम र एभिन्युज टेलिभिजनका सुरेन्द्र थापा पुरस्कृत भएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईले पत्रकारलाई सेजन अवार्डबाट पुरस्कृत गरे ।

Tata
GBIME
Nepal Life