काठमाडौ। बचतकर्ताले रकम हिनामिना गरेको उजुरी दिएपछि प्रहरीले शिव शिखर बहुउद्देश्यीय सहकारीमाथि अनुसन्धान थालेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली (सीआइबी) ले फाइल खोल्दा अर्बौं रकम घोटाला भएको देखिएको छ। फाइल अगाडि बढेपछि सहकारीका सञ्चालक फरार भएका छन्।
सीआइबीको टोलीले अहिले सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका पुष्कर मल्ल रहेका छन्।
गीता शर्मा सहकारी पूर्व अध्यक्ष केदारनाथ शर्माकी श्रीमती हुन्। केदार भने फरार रहेका छन्। त्यस्तै सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) लिलानाथ गौतम पनि प्रहरीको खोजी सूचीमा रहेका छन्।
भक्तपुरको कौशलटारमा सहकारीको मुख्य कार्यालय रहेको छ। सहकारीमा ९ जना सञ्चालक सदस्य रहेकोमा बाँकी फरार छन्। उनीहरू सबैमाथि ठगी प्रकरणमा जोडिएका कारण खोजी भइरहेको छ।
सहकारीको काठमाडौं उपत्यकाबाहेक देशका विभिन्न जिल्लाहरूका शाखा रहेको छ। ३५ वटा जिल्लामा यसको शाखा रहेको भेटिएको छ। कुनै जिल्लामा एउटा त कुनै जिल्लामा तीनवटा समेत शाखा रहेको छ।
सीआइबीको प्रारम्भिक अनुसन्धानमा सहकारीमा १४ अर्ब निक्षेप भएको खुल्छ। तर, त्यसमा ५/६ अर्ब लगानी भए पनि बाँकी रकम कहाँ गयो भन्ने देखिएको छैन। जसमा प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।
‘अहिलेसम्म हेर्दा ५/६ अर्ब विभिन्न क्षेत्रमा लगानी भएको देखिन्छ। तर बाँकी रकम कहाँ लगानी भयो भन्ने खुलेको छैन,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।
प्रहरीले सुरुमा उजुरी दर्ता गरेर अनुसन्धान सुरु गर्दा ३ करोड रुपैयाँ भन्दा बढी ठगिएको भन्दै सय जना भन्दा बढीको उजुरी परेको थियो। अहिले पनि उजुरी पर्नेको संख्या बढ्दै गएको छ। सीआइबीले काठमाडौं उपत्यकाभित्रका मात्र उजुरी लिएको छ। जिल्लाहरूमा पनि उजुरी आएको प्रहरीले जानकारी दिएको छ।
३५ वटा जिल्लाहरूमा यसको शाखा मार्फत रकम संकलन हुन्थ्यो। तर, रकमको लगानी र डिपोजिट भएको रकम केन्द्रीय कार्यालयमा नै जम्मा हुने गरेको देखिन्छ। रकमको लगानीदेखि परिचालन गर्दा केन्द्रबाट नै हुने गरेको अनुसन्धानमा खुलेको छ। जिल्लाका शाखाबाट कम लगानी भएको देखिएको छ।
जिल्लामा शाखा रहेको कार्यालयका कर्मचारीहरू पनि तानिने भएका छन्। उनीहरू पनि अनुसन्धानको घेरामा रहेको एक प्रहरी अधिकृतले जानकारी दिए। चितवन, हेटौंडा, पोखरा, कञ्चनपुर, कैलाली लगायतका शाखाहरूबाट बदमासी भएको देखिएको छ।
शर्मा दम्पतीले कुनै प्रक्रिया पुरा नगरी अचल सम्पत्तिमा लगानी गरेको खुल्छ। सहकारीले कुनै पनि अचल सम्पत्तिहरू घरजग्गामा लगानी गर्न पाउँदैन। शिव सहकारीले भने घरजग्गादेखि विभिन्न मार्ट, खाद्यान्न स्टोर लगायतमा लगानी गरेको खुल्छ।
‘ ५/६ अर्ब जति यस्तै अचल सम्पत्तिमा लगानी गरेको देखियो। तर, त्यसपछि बाँकी रहेको रकम कहाँ गयो भन्ने खुल्दैन। ५ अर्ब जति सम्पत्ति बेचर आउँछ तर कहिले सम्पत्ति बिक्ला भन्ने अवस्था रहन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले सुनाए।
सहकारीबाट ३५ वटा कम्पनीमार्फत विभिन्न ठाउँमा लगानी गरेको खुलेको छ।
पछिल्लो समय देशभित्रका सहकारीहरूमा यस्तै प्रकृतिको समस्या देखिँदै आएको छ। सिभिल सहकारीका ठगी प्रकरणमा पूर्व सांसद तथा सहकारीका अध्यक्ष इच्छाराज तामाङ र श्रीमती पूर्वपक्षको लागि थुनामा रहेका छन्। तामाङलगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। जिल्ला अदालत काठमाडौंमा उनीहरू विरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो।
काठमाडौं महानगरपालिका १४ स्थित केन्द्रीय कार्यालय कुलेश्वरमा रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थामा पनि ठगी देखिएपछि अनुसन्धान गरिरहेको छ।
पछिल्लो समय सहकारी विभाग र प्रहरीमा सहकारी ठगीको उजुरी बढ्दै गएको छ।










