बजेट निर्माणको चटारोबीच अर्थसचिवमा अर्जुन पोखरेल आए, पोखरेलको विगत यस्तो छ



बिजमाण्डू
२०८० बैशाख २० गते १८:२४ | May 3, 2023
बजेट निर्माणको चटारोबीच अर्थसचिवमा अर्जुन पोखरेल आए, पोखरेलको विगत यस्तो छ

काठमाडौं। बजेट निर्माणको चटारोबीच सरकारले नयाँ अर्थसचिव ल्याएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा अर्जुन पोखरेललाई ल्याएको हो।

Tata
GBIME
Nepal Life

उनी प्रधानमन्त्री कार्यालयमा थिए। अर्थसचिव तोयम रायालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ। नेकपा एकीकृत माओवादी र नेकपा एमालेको सरकारका पालामा रायालाई अर्थसचिव बनाएर ल्याइएको थियो।

तात्कालिन अर्थमन्त्री विष्णु पौडेलले रायालाई ल्याएका थिए। एमाले सरकारबाट हटेपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्रीको रुपमा आए। उनी आएपछि अर्थसचिव सरुवाको तयारी भएको थियो।

रायाको सरुवा हुने भएपछि अर्थसचिवका लागि कृष्णहरि पुष्कर र पोखरेल दौडमा थिए। पुष्करप्रति अर्थमन्त्री महत सकारात्मक भएनन्। पुष्करलाई अर्थसचिव बनाउन महतलाई ठूलै दबाब आएपनि मानेनन्। त्यसपछि पोखरेल अर्थसचिव बनेका हुन्। महतले केवल भण्डारीलाई सचिवमा ल्याउन सकारात्मक थिए। तर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले नरुचाएका कारण भण्डारी ल्याउन सकेनन्। भण्डारीले पनि अर्थसचिवमा आउन जोडबल गरेनन्।

पोखरेलको विगत यस्तो छ

अर्थ सचिव पोखरेल २०५१ मा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए। उनले आन्तरिक राजश्व विभाग, भन्सार ‍विभाग, त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा काम गरिसकेका छन्।

सम्पत्ति शुद्धिकरण विभाग प्रमुख, अर्थ मन्त्रालयको प्रवक्ता , सोही मन्त्रालयको प्रशासन महाशाखा प्रमुख, कपिलवस्तु र रुपन्देही प्रमुख जिल्ला अधिकारी भएर काम गरेको उनीसँग अनुभव छ। उनी सुदुरपश्चिम प्रदेशको सचिव भएर समेत काम गरिसकेका छन्।

२०७७ सालमा सचिवमा बढुवा भएका उनी मधेश प्रदेशमा प्रमुख सचिव भएका थिए। त्यसपछि उनले लोकसेवा आयोगमा करिब ४ महिना सचिवका रुपमा काम गरे।  त्यहाँबाट  उद्योग सचिव बनेका पोखरेलले सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका छन्।