ऋण लैजाने बीमित बढे, सरेन्डर बढ्दा जीवनबीमा कम्पनीमा मन्दीको चक्रमा



सरला सुवेदी
२०७९ चैत्र २२ गते १६:०५ | Apr 5, 2023
ऋण लैजाने बीमित बढे, सरेन्डर बढ्दा जीवनबीमा कम्पनीमा मन्दीको चक्रमा

काठमाडौं। जीवन बीमा कम्पनीहरु ऋण लिने स्रोत बन्न थालेपछि बीमा बजारमा बेग्लै चिन्ता सुरु भएको छ। आर्थिक मन्दीले बीमा व्यवसाय घट्दै गएका बेला कम्पनीको आम्दानीभन्दा ऋण बढी जान थालेको देखिएपछि आर्थिक संकट गहिरिने भन्दै कम्पनी व्यवस्थापनहरु गम्भीर भएका हुन्।

Tata
GBIME
Nepal Life

मुलुकका १८ वटा कम्पनीबाट चालु आर्थिक वर्षको ६ महिनामा ऋणमा ७८ अर्ब रुपैयाँ गएको छ, गत वर्ष सोही अवधिमा गएको ऋण ५७ अर्ब थियो। बीमितले ऋण लैजाने र तिर्न नसक्ने भएपछि पोलिसी नै सरेन्डर हुने क्रम बढेको कम्पनीहरुको वित्तीय विवरणले देखाएका छन्।

बीमाशुल्कको नियमित असुली घट्दै गएको छ। ऋण लिने बीमितको संख्या भने बढ्दा कम्पनीहरुमा चिन्ता थपिएको छ। कम्पनी सञ्चालकहरुका अनुसार केही समययता प्रथम बीमाशुल्क असुली नबढ्दा नवीकरण शुल्कले मात्र व्यवसाय धान्नुपर्ने अवस्था आएको छ।

बैंकबाट ऋण लिन सहज छैन। त्यसैले बीमितहरु ऋणका लागि बीमा कम्पनीतर्फ आकर्षित हुन् थालेका हुन्। मन्दीका कारण क्रय शक्तिसमेत घट्दै गएपछि बीमितले ऋण पाइने वित्तीय संस्थाको विकल्पका रुपमा हेर्न थालेको बीमा कम्पनीहरुले जनाएका छन्।

बीमा कम्पनीबाट ऋण लिँदा बैंक तथा वित्तीय संस्थाहरुमा जस्तो घर, जग्गा लगायतको अचल सम्पत्ति धितो राख्‍नुपर्ने बाध्यता छैन। प्रक्रिया पनि सजिलो छ। यसले गर्दा यतिबेला बीमितहरु बीमा कम्पनीबाट ऋण लिन आकर्षित छन्। नेपाल बीमा प्राधिकरणको जीवन बीमालेख सम्बन्धी निर्देशिकामा बीमा प्रारम्भ मितिबाट तीन वर्ष पुरा भएपछि कम्पनीहरुले ऋण प्रवाह गर्न सक्ने व्यवस्था छ।

उक्त निर्देशिकाअनुसार बीमितले ३ किस्तासम्म बीमाशुल्क तिरेपछि जम्मा भएको रकमको कम्पनीले ९० प्रतिशतसम्म ऋण दिन सक्छन्। यस अघि दुई वर्षको बीमाशुल्क तिरेपछि ऋण दिने व्यवस्था थियो।

निर्देशिकाअनुसार बीमकलाई कम्पनीले बीमालेख धितो राखी कर्जा प्रदान गर्न ब्याज लिन सक्नेछन्। ब्याजदरको निर्धारण गर्दा बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदर भन्दा बढी नहुने गरी लिन निर्देशन दिइएको छ। गत वर्षदेखि बीमा सरेण्डरको गर्नेको संख्या बढ्न थालेको छ। बीमितले बीमालेख धितो राखेर ऋण लिई तोकिएको समयमा ब्याज तिर्न नसक्दा बीमा सरेण्डरको जोखिम बढी हुने बीमा कम्पनीहरुले जनाएका छन्।

जीवन बीमा कम्पनीहरुले बीमालेख धितो राखेर ऋण प्रवाह गर्दा लिने ब्याज १२ प्रतिशतसम्म पुर्‍याएका छन्। पहिले ब्याजदर ८ देखि १० प्रतिशत थियो। ब्याज धेरै भएकोले बीमितलाई लिएको ऋण समेत तिर्न मुस्किल भएपछि केही बीमालेखहरु सरेण्डर हुने गरेका छन्।

बीमितले ऋण लैजानु सुविधाको उपयोग भए पनि यो क्रम बढ्दा व्यापारमा राम्रो असर नपरेको एक बीमा कम्पनीका सीइओले बताए। ‘पोलिसी बिक्री गरेपछि बीमितको अप्ठ्यारो समयमा सहयोग गर्न सक्दिन भन्न मिल्दैन। कर्जा लिएपछि फिर्ता नगर्दा मात्र कम्पनीलाई समस्या हुन्छ,’ उनले भने।

पछिल्लो समय नयाँ बिजनेसभन्दा ऋण बढी जाने गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सीइओ रमेशकुमार भट्टराईले बताए। ‘बजारको स्थिति डामाडोल छ। बजारमा पैसा नभएकाले जीवन बीमा प्राथमिकतामा पर्न सकेको छैन,’ उनले भने, ‘व्यक्तिले आर्जन गरेको रकमको केही भाग जीवन बीमाको लागि सुरक्षा गर्छु भन्ने हो। अहिले मान्छेलाई गुजारा चलाउनै समस्या देखिन थालेको छ।’

पहिले २० लाख रुपैयाँको बीमा गर्नेले अहिले २ लाखको बीमा गर्न गाह्रो देखिएको उनले बताए। कतिपय बीमितले घर, व्यवहार तथा अन्य क्षेत्रबाट लिएको ऋणको ब्याज तिर्न बीमा गरेको पैसा प्रयोग गर्न थालेको पाइएको छ। यस्तो हुदा बीमा पोलिसी सरेण्डर धेरै हुन्छ र कम्पनीबाट ठूलो रकम बाहिरिने उनको भनाइ छ।

साथै, कम्पनीहरुमा आर्थिक मन्दीकै कारण असरले प्रथम बीमा शुल्क कम संकलन र व्यवसाय घट्दै गएको सीइओ भट्टराईले बताए।

बीमितको क्रयशक्ति घट्दै गएकाले यसको असर जीवन बीमा क्षेत्रमा परेको मेट लाइफ इन्स्योरेन्सको सीइओ निर्मलकाजी श्रेष्ठले बताए। ‘ऋण लिनका लागि बैंकभन्दा बीमा कम्पनीमा प्रक्रिया सजिलो छ। यसले पनि बीमितहरु ऋण लिने बढ्दै गएका हुन्,’ उनले भने, ‘अप्ठयारो समयमा ऋण दिनु गाह्रो कुरा होइन। तर, तोकिएको समयमा पैसा फिर्ता नहुँदा समस्या हुने हो’। केही बीमितले मात्र ऋण तिर्न नसक्दा पोलिसी बन्द अर्थात अटो सरेण्डर हुने गरेको उनले बताए।

बीमितले अति आवश्यक परेको समयमा मात्र कम्पनीबाट बीमालेख धितोमा राखेर ऋण लिने हो। केहीले यस पोलिसीबाट ऋण लिन सजिलो भन्दै र आवश्यक नपरी ऋण लिने गरेको पाइएको छ। कम्पनीहरुले यसबारे बीमितलाई सचेतना गराउँदै समेत आएको उनको भनाइ छ।

गत वर्षभन्दा बढ्यो कर्जा प्रवाह
चालु आर्थिक वर्षको पुस मसान्तसम्म १८ वटा जीवन बीमा कम्पनीहरुले ७८ अर्बभन्दा बढीको कर्जा प्रवाह गरेका छन्।
गत वर्ष सो अवधिमा ५७ अर्ब रुपैयाँको कर्जा प्रवाह गरेका थिए।

अघिल्लो वर्षको तुलनामा बीमा कम्पनीबाट कर्जा लिनेको संख्या बढेको हो। यसरी ऋण लिएपछि तोकिएको समयभित्र ब्याज तिर्न सक्ने बीमितले बीमालेखलाई निरन्तरता दिन सक्छन्।

बीमितको पोलीसी गरेको रकम भन्दा ऋणको ब्याज मूल्यांकन गर्दा धेरै भयो भने पोलिसी समाप्त हुन्छ। अर्थात ८० प्रतिशतसम्म ब्याज तिर्न सकेन भने उक्त बीमालेख सरेण्डर हुने कम्पनीहरुले जनाएका छन्।

कम्पनीबाट लिएको ऋण तिर्न समेत बीमा पोलीसी समर्पण हुन थालेको छ। साना-साना बीमितले ऋण तिर्ने र ठूला बीमितले ७० देखि ८० प्रतिशत ऋण नतिर्ने गरेका पाइएको छ। सामान्य समयमा ३० देखि ३५ प्रतिशत र अहिलेको अवस्थामा ६० देखि ७० प्रतिशत ऋण नफर्किएर पोलिसी रद्द हुने अवस्था आउन सक्ने बीमा कम्पनीहरुले जनाएका छन्।