र्‍याम्प प्रोटोकल उल्लंघनमा एनएसी कार्यकारी अध्यक्ष अधिकारीलाई क्यानको कारबाही, ‘हिड्ने तालिम लिनू’



बिजमाण्डू
२०७९ चैत्र २१ गते १२:५० | Apr 4, 2023
र्‍याम्प प्रोटोकल उल्लंघनमा एनएसी कार्यकारी अध्यक्ष अधिकारीलाई क्यानको कारबाही, ‘हिड्ने तालिम लिनू’

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश प्रावधान उल्लंघन गरेको भन्दै नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कारवाही गरेको छ।

Tata
GBIME
Nepal Life

गत मार्चमा नेपाल वायुसेवा निगमको एउटा जहाज महिला चालक दलले काठमाडौं-दुबई-काठमाडौं उडाएको थियो। उक्त घटना निगमको अन्तर्राष्ट्रिय उडानका लागि नौलो थियो। दुबईबाट जहाज काठमाडौं अवतरण हुँदा चालक दललाई स्वागत गर्दै हौसला बढाउने औपचारिकता गरिएको थियो। त्यो बेला अधिकारीले सुरक्षा मापदण्ड पालना नगरेको विषय अहिले प्राधिकरणले उठाएको हो।

विमानस्थलमा पर्यटन मन्त्री सुदन किरातीसहित स्वागत गर्न जाने क्रममा निगम कार्यकारी अध्यक्ष अधिकारीले र्‍याम्प प्रोटोकल अनुसार विमानस्थल पास र ज्याकेट लगाएका थिएनन्। विमानस्थल प्रवेश गर्दा र्‍याम्प सेफ्टी प्रोटोकल पालना नगरेकाले कारवाहीका लागि पत्र जारी गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

‘निगमका उच्च पदाधिकारीले नै विमानस्‍थल प्रवेश पालनाको नियम उल्लंघन गरेका कारण उहाँलाई सचेत गराउने कारबाही गरेका हौं,’ प्रवक्‍ता निरौलाले भने,’विमानस्थलभित्र वायुसेवा कम्पनीका प्रतिनिधिले पस्दा पास र हरियो ज्याकेट लगाउनैपर्ने प्रावधान छ। तर, उहाँले त्यसको पालना गर्नुभएको थिएन।’

अति संवेदनशील क्षेत्रमा देखाइएको लापरवाहीमा प्राधिकरणले आइतबार पत्र पठाएको उनले जानकारी दिए।

प्राधिकरणले अधिकारीलाई यस विषयमा तालिम लिन भनेको छ। एक दिने तालिम गरेर एक साताभित्रै त्यसको प्रमाण बुझाउन  निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।