राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिलाई अर्थमन्त्री महतको निर्देशन



बिजमाण्डू
२०७९ चैत्र २० गते १८:५२ | Apr 3, 2023
राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिलाई अर्थमन्त्री महतको निर्देशन

काठमाडौं। सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न र राजश्व चुहावट नियन्त्रण गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिलाई निर्देशन दिएका छन्।

Tata
GBIME
Nepal Life

सोमबार अर्थमन्त्री महतले केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिसँग सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्दै निर्देशन दिएका हुन्।

अर्थमन्त्री महतले राजस्व संकलनका हिसाबलेअत्यन्तै चुनौतीपूर्ण घडीमा रहेको भन्दै सबैले आ-आफनो जिम्मेवारी अनुरुपको काम इमान्दारीतापूर्वक सम्पादन गर्न निर्देशन दिएका छन्।

साथै, राजस्व संकलनमा देखिएको कमीलाई पूर्ति गर्न सबै प्रकारका राजस्व चुहावट नियन्त्रणका लागि समन्वयात्मक रुपमा अधिकतम प्रयास गर्न उनले निर्देशन दिएका छन्।

उनले अर्थ मन्त्रालय र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्दै स्थानीय संयन्त्रलाई सक्रिय बनाएर राजस्व परिचालनलाई प्रभावकारी बनाउन उनले भनेका हुन्। उनले राजनैतिक नेतृत्वबाट आवश्यक पर्ने सबै किसिमको सहयोग उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

समितिमा गृहमन्त्री समेत सदस्य रहेका छन्। समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ।

यसैगरी, बैठकमा उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजस्व चुहावट नियन्त्रण गर्न गृह मन्त्रालयको संयन्त्रलाई प्रभावकारीरुपमा परिचालन गरिने बताएका छन्। उनले स्वार्थरहित भएर आ-आफ्नो जिम्मेवारी बहन गर्न समेत सबै निकायलाई निर्देशन दिएका छन्।

श्रेष्ठले कर्मचारीहरुलाई कुनै राजनैतिक दबाब र प्रभावमा नपरी ढुक्कसँग उच्च मनोबलका साथ कार्य गर्न आग्रह गरेका छन्।