बैंक ब्याज दरका बारेमा राष्ट्र बैंकसँग संवाद, चन्द्र ढकालले भने- साझा एजेण्डामा काम



बिजमाण्डू
२०७९ फागुन २९ गते १२:१७ | Mar 13, 2023
बैंक ब्याज दरका बारेमा राष्ट्र बैंकसँग संवाद, चन्द्र ढकालले भने- साझा एजेण्डामा काम

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गर्दै निजी क्षेत्रको पक्षमा नीतिगत परिवर्तनका लागि पहल गरिरहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औँ साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ढकालले नीतिगत सुधार गर्दै निजी क्षेत्रमैत्री वातावरण बनाउनसकेमा अहिलेको संवेदनशील परिस्थितिबाट बाहिर निस्कन सकिने बताएका हुन्। 

उनले कसैको व्यक्तिगत एजेण्डाभन्दा माथि उठेर निजी क्षेत्रको जित हुने गरी काम गर्ने बताए।

‘अहिलेको अवस्था निकै संवेदनशील छ। यसलाई सबैको जित हुने गरी तार्किक निकर्षमा पुर्याउनुपर्ने अवस्था छ। व्यक्तिको भन्दा पनि हाम्रो एजेण्डाको जित हुनुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रको जित हुने गरी समस्याको समाधान गर्नुपर्नेछ। यसकालागि हामीले नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग बारम्बार कुरा गरिरहेका छौं। यसलाई निकर्षमा पुर्याउने गरी महासंघ लागिरहेको छ।’

बैंकको व्याजदरको कुराको सन्दर्भमा आफूहरुले राष्ट्र बैंकसँग बारम्बार छलफल गरिरहेको उनले बताए।

उनले तीनवटै तहका सरकारहरु निजी क्षेत्रमैत्री बनेमा आर्थिक विकास र पूर्वाधार निर्माणका कार्यहरु द्रूतरुपमा अगाडि बढ्न सक्ने बताए।