काठमाडौं। केटीएम बाइकको अधिकृत बिक्रेता कम्पनीले नेपालमा डिलरसिप विस्तारमा आक्रामक योजना अगाडि सारेको छ।
केटीएम बाइकको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले देशका विभिन्न २२ स्थानमा नयाँ डिलरसिप राख्न लागेको हो। यसका लागि इच्छुक व्यवसायिक फर्महरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ।
नेपाली बजारमा फेन्सी र पावरफुल बाइकको बिक्री बढेको छ। यसलाई ध्यानमा राख्दै कम्पनीले बिक्री बढाउन योजना बनाएको छ। काठमाडौंसँगै मुलुकका प्रमुख सहर केन्द्रित व्यापार गरिरहेको केटीएमले एकैपटक यति धैरै डिलरसिप विस्तार गर्न लागेको पहिलो पटक हो।
कम्पनीले उपत्यकाका दुई स्थान महाराजगन्ज र पुल्चोकमा पनि नयाँ डिलर विस्तार गर्न लागेको छ।
यसैगरी कम्पनीले उपत्यका बाहिर चितवनको टाँडी र पर्सा, नवलपरासीको कावासोती, सुर्खेत, चरिकोट, त्रिशूली, गोरखा, दमौली, पाल्पा, खाँदवारी, वालिङ, बेंसीसहर, बर्दिबास, सिन्धुली, इलाम, फिदिम, चन्द्रनिगाहपुर, भोजपुर, अर्घाखाँची र लमहीमा डिलरसिप आह्वान गरेको छ।










