कोभिड प्रतिबन्ध हटेसँगै रिबाउन्ड हुँदै चिनियाँ कारखाना, सपिङ स्टोरहरुमा बढ्न थाल्यो फुटफल



बिजमाण्डू
२०७९ फागुन १८ गते १४:१० | Mar 2, 2023
कोभिड प्रतिबन्ध हटेसँगै रिबाउन्ड हुँदै चिनियाँ कारखाना,  सपिङ स्टोरहरुमा बढ्न थाल्यो फुटफल

काठमाडौँ। तीव्ररूपमा फैलिएको कोभिड नियन्त्रण गर्न अपनाइएको शून्य कोभिड नीतिले गत वर्ष मारमा परेको चिनियाँ अर्थतन्त्र यो वर्ष भने सुधारोन्मुक देखिएको छ। 

Tata
GBIME
Nepal Life

सन् २०२२ मा चीनको आर्थिक वृद्धि झण्डै आधा शताब्दी यताकै दोस्रो सबैभन्दा नराम्रो अवस्थामा पुगेको थियो। कलकारखाना ठप्प भएका थिए। विरोधमा कामदारहरू सडकमा उत्रिएका थिए। घरजग्गा व्यवसाय पनि ओरालो लागेको थियो। आर्थिक गतिविधिमा ठूलो प्रभाव परेको थियो। 

गत जनवरीमा चीनले कोभिड नियन्त्रण गर्न कडा प्रतिबन्ध खारेज गरेसँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र सुधारिँदै गएको छ।विश्वका शीर्ष उपभोक्ता तथा लक्जरी सामान कम्पनीहरूले चीनमा कस्मेटिक्सदेखि अन्य सामानको बिक्री बढेको जनाएका छन्।

गत फेब्रुअरीमा चीनको कारखाना क्षेत्र तीव्र गतिमा वृद्धि भएको तथ्यांक सार्वजनिक भएपछि रेकिट बेंनकाइजर, बेयर्सडोर्फ, पुमा लगायतका बहुराष्ट्रीय ब्राण्ड उत्साहित भएका छन्। 

गत महिना चीनका कारखानाहरूमा उत्पादन एक दशक यता कै सबैभन्दा द्रुत गतिमा वृद्धि भएको छ। चीनमा कोभिड प्रतिबन्ध सहज बनेलगत्तै विश्वभरका कम्पनीहरू पुन: सञ्चालनमा आइरहेका छन्।

चीनको राष्ट्रिय तथ्यांक ब्यूरो अनुसार चीनको म्यान्युफ्याक्चरिङ पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआइ) जनवरीमा ५०.१ बाट बढेर फेब्रुअरीमा ५२.६ पुगेको छ। 

पीएमआइ आर्थिक ट्रेन्डको मापन गर्ने टुल हो जसले व्यापार, केन्द्रिय बैंक, सरकार र लगानीकर्ताहरूलाई वर्तमान र भविष्यको व्यवसाहिक अवस्थाहरूको बारेमा महत्त्वपूर्ण जानकारी दिन्छ।

स्किन केयर ब्राण्ड बेयर्सडोर्फका प्रमुख कार्यकारी अधिकृट्ट भिन्सेन्ट वार्नरीले कम्पनीले चीनमा रिकभरीको पहिलो संकेत देखेको बताए। ‘जनवरीको अस्थिर करोबारपछि फेब्रुअरीमा स्पष्टरूपमा खुद्रा बिक्री बढेको छ। चीनको पुन: विकासको लयमा फर्किएको छ,’ उनले भने।

अमेरिकी टुथपेस्ट निर्माता कोलगेट पामोलिभका कार्यकारीहरूले चीनमा मानिसहरूको गतिविधि महामारी पूर्वकै स्तरमा फर्किएको र यसले आउने समयमा चीनको अर्थतन्त्रमा बलियो सुधार ल्याउने अपेक्षा राखेका छन्। चीनको सुधारोन्मुक आर्थिक क्रियाकलापलाई ध्यानमा राख्दै कोलगेटले भर्खरै सहरी उपभोक्ताहरूलाई लक्षित गरेर चीनमा नयाँ प्रिमियम वाइटनिङ टुथपेस्ट ल्याएको छ।

‘वर्षको दोस्रो हाफ धेरै राम्रो हुनेछ,’ कोलगेटको एसिया-प्यासिफिक क्षेत्रका मार्केटिङ कार्यकारीले भने।

त्यसैगरी, चिनियाँ मागको ठूलो हात रहेको कम्पनीका अधिकारीले बताएका छन्। साथै आवतजावत सहज भएसँगै चीनको पर्यटनले छिमेकी मुलुक मकाउ, हङकङ, ताइवान र जापानमा समेत बिक्रीमा सहयोग पुर्‍याएको उनले बताए।

लकडाउनको बेला भोल्युममा भारी गिरावट व्यहोरेको रेकिट बेंनकाइजरले चीनमा हाल पिकअप लिइरहेको छ। 

कोच ह्यान्डब्याग निर्माता टेपेस्ट्री र राल्फ लरेन कर्पोरेसन लगायतका अपमार्केट अमेरिकी कम्पनीहरूले पनि पछिल्लो केही समय यता चीनमा माग बढ्न थालेको बताएका छन्।

‘हामीले पक्कै पनि ग्रेटर चाइनामा अर्थपूर्ण ट्रेन्ड परिवर्तन भएको महशुस गरिरहेका छौं,’ टेपेस्ट्रीका प्रमुख वित्तीय अधिकृत स्कट रोले भने। त्यस्तै, राल्फ लरेनका कार्यकारीले उनीहरूको स्टोरमा राम्रो फुटफल देखिरहेको बताए।

‘हामी यस त्रैमासमा चीन पुन: लयमा आउने आशा गरेका छौं,’ राल्फ लरेनका अपरेटिङ प्रमुख जेन निल्सनले भने।

चीन पुन: लयमा आएको बिक्रीले महँगो ऊर्जा र पारिश्रमिक लागतसँग संघर्ष गरिरहेका कम्पनीहरुको लागि ठूलो राहत पुर्‍याएको छ। मूल्यवृद्धीसँग जुधिरहेका युरोपेली बजार ‘बिग्रिए’ पनि चीनमा बिक्री बढ्दा यी कम्पनीहरूलाई ठुलो राहत पुगेको हो।

गत वर्षको अन्त्यमा कोभिड प्रतिबन्ध हटाइएपछि चिनियाँ कारखानाहरू रिबाउन्ड हुँदैछन्। जसले विश्वव्यापी अर्थतन्त्रमा अपेक्षित मन्दीलाई पनि कम गर्न सक्ने अनुमान गरिएको छ।

चीनमा लगभग ४०० खुद्रा र थोक पसलहरू सञ्चालन गर्ने अमेरिकी रिटेलर वालमार्टले पनि प्रतिबन्ध हटाएदेखि स्टोरहरूमा धेरै राम्रो फुटफल भएको रिपोर्ट गरेको छ। (एजेन्सीको सहयोगमा)