काठमाडौं । पाँच सय करोडको लगानीमा निर्माण भएको ग्रान्डी इन्टरनेशनल हस्पिटल नोभेम्बरदेखि सञ्चालनमा आउने भएको छ । हस्पिटलको सफ्ट लन्च नोभेम्बरमा हुनेछ, पूर्ण सेवासहित डिसेम्बर वा नयाँ वर्षको सुरुवातबाट सञ्चालन गर्ने तयारी भैरहेको छ, अस्पतालको प्रोजेक्ट कमिटीका अध्यक्ष डा. रुप ज्योतिले बिजमान्डूसँग भने, यो अस्पताल नेपालको सबैभन्दा अत्याधुनिक सुविधासहितको हुनेछ ।
ग्रान्डीले थाइल्याण्डको समितभेज अस्पतालको प्राविधिक सहयोगमा सुविधासम्पन्न अस्पताल बनाएको हो । परियोजनामा पाँच सय करोड रुपैयाँको लगानी छ, त्यसमध्ये दुई सय करोड रुपैयाँ इक्वीटी हो भने तीन सय करोड रुपैयाँ बैंक ऋणबाट जुटाइएको हो । अस्पतालमा ज्योती समूहले दश करोड रुपैयाँ इक्वीटी सेयर लगानी गरेको छ । यो अस्पताल परियोजनामा सिई कन्ष्ट्रक्शनका इन्जिनियर विजय राजभण्डारी, दिपक कुँवर, चिकित्कस चक्रराज पाण्डे, महाविर गोयल, दिपक मल्होत्रा र सुवास वस्ती लगायतको लगानी छ । ग्रान्डीको प्रमुख कार्यकारी अधिकृतमा सिई कन्ष्ट्रक्शनका इन्जिनियर विजय राजभण्डारी छन् भने डा. चक्रराज पाण्डे मेडिकल डाइरेक्टरका रुपमा कार्यरत छन् ।
पच्चिस रोपनी क्षेत्रफलमा १४ तल्ले यो हस्पिटलको भवन भूकम्प निरोधक रहेको छ । हस्पिटलमा ८ वटा अपरेसन थियटर र नौ वटा लिफ्ट छन् । दुई सय बेड भएको यो अस्पतालमा प्रयोग भएका सम्पूर्ण मेडिकल इक्विपमेन्ट गुणस्तरीय रहेको उनले दावी गरे । हामीले हस्पिटलमा प्रयोग गरेका सबै मेडिकल इक्विपमेन्ट गुणस्तरीय छन्, उनले भने, उपचारमा कुनै सम्झौता गरिनेछैन ।
अस्पतालमा चिकित्सक, नर्स, प्राविधिक र सामान्य प्रशासनमा गरी पाँच सय कर्मचारीले रोजगारी पाउनेछन् । अस्पतालले अहिले कर्मचारीको छनोट गरिरहेको जानकारी समेत ज्योति समूहका उपाध्यक्ष रहेका डा. ज्योतिले दिए ।
अस्पतालामा प्राविधिक सहयोग उपलब्ध गराउन समितभेज र ग्रान्डीवीच सन् २०११ मा सम्झौता भएको थियो । त्यही सम्झौतापछि धापासीमा अस्पताल निर्माण सुरु गरिएको हो । अस्पतालको निर्माण, डिजाइन र अस्पताल समाग्री खरिद गर्न अहिले समितभेजले ग्राण्डीलाई सुझाव दिइरहेको छ । अस्पतालमा कार्डियोलोजी, आइसियु, सिसियु, युरोलोजी, अर्थोपेडिक्स, न्युरोलोजी लगायतका सुविधा प्राप्त हुने पनि डा. ज्योतिले जानकारी दिए । उनले भने, अस्पतालमा अहिलेसम्मका आधुनिक उपकरणहरु ल्याएका छौं, हामीले ल्याएका सम्पूर्ण उपकरणहरु नेपालमै उच्चस्तरका हुन् ।