
काठमाडौं। क्रसर बन्द हुदा निर्माणाधीन आयोजनाहरुमा समस्या सुरु भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको टोलीले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेको छ।
शुक्रबार टोली उपप्रधानमन्त्री श्रेष्ठलाई भेटेर नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखिएको समस्याले निर्माण उद्योगमा परेको समस्याबारे ध्यानाकर्षण गराएको छ। महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगका लागि अति आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन, ओसारपसार लगायतमा समस्या भएसँगै निर्माण कार्यहरू ठप्प भएको जानकारी गराएका छन्।
गृह मन्त्रालयको निर्देशनपछि मुलुकभरका आधाभन्दा बढी क्रसर उद्योग बन्द भइसकेको भन्दै अध्यक्ष सिंहले त्यसको प्रत्यक्ष मारमा निर्माण उद्योग परेको बताए। उनले एक वर्षको समय दिएर क्रसर उद्योगहरूलाई वैद्य बनाउन सकिने सुझाव दिए। निर्माण उद्योगलाई चलायमान बनाउन मोबिलाइजेसन बापतको २० प्रतिशत रकम उपलब्ध गराउन र म्याद थपमै समयसापेक्ष हुने गरी माइलस्टोनको व्यवस्था गर्न अध्यक्ष सिंहले आग्रह गरे।
मन्त्री श्रेष्ठले क्रसर उद्योगमा देखिएको समस्यामा समाधानका लागि छलफल भइरहेको भन्दै चाँडै निकास खोजिने बताए। सरकारले क्रसर संचालनका लागि नयाँ मापदण्ड बनाउने जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले गुणस्तरीय निर्माण सामग्री उत्पादन भएमात्र गुणस्तरीय निर्माण हुने बताए।