न्यु इयर इभका लागि उपत्यका बाहिरका होटल रिसोर्टमा उल्लेख्य बुकिङ, बसाईमा ३० प्रतिशतसम्मको छुट



बिजमाण्डू
२०७९ पुष १० गते १३:२५ | Dec 25, 2022
न्यु इयर इभका लागि उपत्यका बाहिरका होटल रिसोर्टमा उल्लेख्य बुकिङ, बसाईमा ३० प्रतिशतसम्मको छुट

Tata
GBIME
Nepal Life

काठमाडौं। अंग्रेजी नयाँ वर्ष २०२३ को सुरुवातलाई सुखद बनाउन आन्तरिक पर्यटक घुमघाममा छन्। यही अवसर पारेर नगरकोट, पोखरा, धुलिखेल, सौराहा, भैरहवा लगायतका पर्यटकीय गन्तव्यका होटल तथा रिसोर्टले अग्रिम बुकिङ पाइरहेका छन्।

दिन छोटो हुने र चिसो अत्यधिक हुने भएकाले तेस्रो मुलुकका पर्यटक आगमनको दृष्टिले भने यो अफ सिजन हो। अंग्रेजी नयाँ वर्ष मनाउन निस्कने आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै होटल, रिसोर्ट र रेस्टुरेन्टहरुले विभिन्न अफर ल्याएका छन्। पोखरामा सडक महोत्सव नै हुँदैछ।

आकर्षक अफरहरु सार्वजनिक भएसँगै अग्रिम बुकिङ आइरहेको व्यवसायीहरुले बताएका छन्। 'यो पर्यटकीय सिजन त होइन। तर यहाँ क्रिसमस र न्यु इयर इभ लक्ष्य गर्दै होटल रिसोर्टले स्तर अनुसारका आकर्षक अफर  घोषणा गरेका छन्,' एक व्यवसायीले बिजमाण्डूसँग भने, 'त्यसैले अग्रिम बुकिङ आइरहेको छ।'

होटल र रिसोर्टमा यतिखेर आन्तरिक पर्यटकको सहभागिता उल्लेख्य रहेको क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।'क्रिसमस सुरु भएसँगै पोखराका होटल तथा रिसोर्ट बुकिङ उल्लेख्य रह्यो। यो सँगै आउँदो न्यु इयर इभ सम्मका लागि बुकिङ इन्क्वाइरी आइरहेका छन्,' उनले भने।

बाह्य पर्यटकको चहलपहल कम भए पनि धेरैभन्दा धेरै बुकिङ आन्तरिक पर्यटकबाटै हुँदै आएको उनले जानकारी दिए। पोखरामा संचालित अधिकांश होटलले निर्धारण गर्दै आएको शुल्कमा २० प्रतिशत छुटका अफर लागू गरेको उनले बताए। पोखरामा जारी लिटरेचर फेस्टिभलले पनि पाहुनाको आगमन बढाएको थियो।

अब नयाँ वर्ष २०२३ मनाउन चाहनेले पोखराको यात्रा गर्दैछन्। यात्रा अघि नै होटल कोठा बुकिङ गरिरहेका छन्।

उता चितवनको पर्यटकीय क्षेत्र सौराहामा पनि क्रिसमसदेखि अंग्रेजी नयाँ वर्षसम्मका लागि आन्तरिक पर्यटकको घुइँचो हुने अवस्था छ। पाहुना रिझाउन होटल रिसोर्टले बसाईँ र खानामा छुट दिँदै आएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्‍टराईले बताए। न्यु इयर इभका लागि समग्र पर्यटन व्यवसायीको सहकार्यमा सडक महोत्सव गर्ने योजना छ।

उनका अनुसार सौराहाको हात्ती चोक र गैंडा चोकमा फुड स्टलसहित सांगीतिक कार्यक्रमको तयारी छ। 'हामीले यो समयलाई मध्यनजर गर्दै बसाईँमा अधिकतम ३० र खानामा १५ प्रतिशत छुटको व्यवस्था गरेका छौं,' अध्यक्ष भट्टराईले भने, 'घुमफिर वर्षअन्तर्गत प्रचारप्रसारमा लागेका छौं। अहिले भारतीय र नेपाली पर्यटककै माग आइरहेको छ।'

सौराहाका होटल र रिसोर्टमा यतिखेर ४० प्रतिशतभन्दा बढी अकुपेन्सी कायम हुँदै आएको उनले बताए।

काठमाडौं उपत्यकाबाट धेरै टाढा जान नचाहनेको भीड धुलिखेल र नगरकोटतर्फ आकर्षित छ। क्रिसमसदेखि न्यु इयरसम्मका लागि नगरकोटका अधिकांश होटल तथा रिसोर्टले आकर्षक प्याकेज सार्वजनिक गर्दै आएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले बताए।

नगरकोटमा आन्तरिक पर्यटक यतिबेलादेखि नै पुगिरहेका छन्। 'धेरैजसो होटल-रिसोर्टले आफ्नो स्तर अनुसार आकर्षक अफरहरु सार्वजनिक गरिसकेका छन्। त्यहीअनुसार अग्रिम बुकिङ आइरहेका छन्,' अध्यक्ष गुरुङले भने,'ठूला होटल-रिसोर्टले डबल रुमको १७ हजार रुपैयाँसम्मको प्याकेज बनाएका छन्।'

कमल विनायक-नगरकोट सडकखण्डको निर्माणले तीव्रता लिएसँगै यतिखेर नगरकोटमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रहँदै आएको उनले बताए। आगामी आइतबार परेको १ जनवरी नगरकोटमा मनाउन चाहनेले होटलमा कोठा बुकिङ गरिरहेका छन्।

उता भैरहवामा भने तुलनात्मकरूपमा बुकिङ कम छ। न्यु इयरका लागि हालसम्म पर्याप्त इन्क्वाइरी नआएको क्षेत्रीय होटल संघ सिद्धार्थका अध्यक्ष सीपी श्रेष्ठले बताए। 'कोभिड संक्रमणको हल्ला फैलिन थालेसँगै भैरवामा विदेशी पर्यटकको इन्क्वाइरी नै कम भएको छ,' उनले भने।

नयाँ वर्ष मनाउन लुम्बिनी आउने पाहुनाका लागि छुटको आकर्षक अफर ल्याउन संघले छलफल गरिरहेको उनले बताए। माग कम आएसँगै यतिखेर विभिन्न होटलले ४५ देखि ५० प्रतिशत छुटमा रुम बिक्री गर्दै आएको उनले जानकारी दिए।