बैतडीमा ६ महिनादेखि हवाई सेवा बन्द, आकस्मिक परे धनगढी जानुपर्ने बाध्यता



बिजमाण्डू
२०७९ भदौ ३० गते १४:१२ | Sep 15, 2022
बैतडीमा ६ महिनादेखि हवाई सेवा बन्द, आकस्मिक परे धनगढी जानुपर्ने बाध्यता

बैतडी। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ। धनगढी-बैतडी-धनगढी साप्ताहिक रुपमा हुने गरेको हवाई उडान ६ महिनादेखि बन्द रहेको हो।

Tata
GBIME
Nepal Life

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो। यहाँ हवाई उडान नहुँदा आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन्।

हवाई उडान नहुँदा आकस्मिक रुपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जाने नागरिक समस्यामा परेका हुन्। सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न कम्तीमा आठ घण्टा लाग्ने गर्दछ।

यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द भएको र असोज पहिलो साताबाट पुनः सञ्चालन हुने समिट एयर पाटनका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिए। चैतअघि नियमितरुपमा उडान हुने गरेकामा त्यसपछि यात्रु नपाउँदा र मौसम अनुकूल नहुँदा उडान हुन नसकेको हो।

चैतपछि केही महिना समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रमा बढी उडान भरिरहेको हुनाले पाटन नआएको भट्टको भनाइ छ।

उनले भने, ‘चैतदेखिको दुई/तीन महिना लुक्ला र जोमसोमतिर पर्यटक बढेकाले उतै भरेको थियो, त्यसपछि यता उडान भर्ने कुरा थियो, कहिले मौसमले साथ नदिने कहिले यात्रु नपाइने समस्या छ।’ (रासस)