यातायात व्यवस्था ऐनको विरोधमा हड्तालमा उत्रिएका चालकसँग भयो सहमति, आज रातीदेखिनै गाडी चल्ने

बिजमाण्डू
२०७५ असोज ४ गते १९:५० | Sep 20, 2018
यातायात व्यवस्था ऐनको विरोधमा हड्तालमा उत्रिएका चालकसँग भयो सहमति, आज रातीदेखिनै गाडी चल्ने


काठमाडौं। यातायात व्यवस्था ऐनमा भएको हेरफेरको विरोधमा हड्तालमा उत्रिएका चालक र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएको छ। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसँग सहमति भएकाले शुक्रबारदेखि भाडाका सवारी चल्नेछ।

Tata
GBIME
Nepal Life

जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा आन्दोलनरत चालकसँग भएको वार्तामा सहमति जुटेको हो। चालकले वारा पर्सा र रुपन्देहीमा यातायात ठप्पै पारेका थिए भने अन्य स्थानमा विहिबारदेखि हड्ताल सुरु भएको थियो।

यो सहमतिपछि आज रातीदेखिनै भाडाका सवारी साधन चल्नेछन्।सवारी साधन चलेपछि काठमाडौंमा देखिएको पेट्रोलियम पदार्थको अभाव समेत कम हुनेछ।तीन दिनदेखि हल्लाकै भरमा ऐनमा चालकलार्इ बढी सजाय राखिएको भन्दै हड्तालमा उत्रिएका थिए।

तर रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले पहिलाको भन्दा अहिलेको संशोधनले चालकलार्इ कम सजाय भएको बताएपछि चालकले हड्ताल फिर्ता गर्न सहमत भएका थिए।बारामा भने चालकका जायज माग उच्च तहमा पुर्याउने प्रतिवद्धता जनाएपछि हड्ताल फिर्ताको सहमति भएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले जानकारी गराए ।

‘प्रहरी–प्रशासन र चालकहरु वीच सहमति भएको छ। आज रातीदेखिनै गाडी चल्न सुरु हुनेछ ,’प्रमुख जिल्ला अधिकारी भट्टराईले भने,‘बन्द फिर्ता गरी गृहमन्त्रालय तथा कानुन मन्त्रालयसँग चालकले छलफल गर्नेछ ।’ट्राफिक प्रहरी कार्यालय प्रदेश नं २ की एसपी किरण बज्राचार्यले सहमतिपछि बसन्त शर्मा संयोजक रहेको नेपाल राष्ट्रिय स्वतन्त्र चालक मजदुर संगठनले केही समयमै विज्ञप्ती निकाल्ने बतार्इन्।

रक्सौल देखि ७ किलोमिटर सम्म गाडीको लाइन
असोज १ गते विश्वकर्मा पूजा र २ गते देखि चालकहरुको बन्दको कारण वीरगंज कोरिडोर देखि रक्सौल नजिक लक्ष्मीपुरसम्म मालसामान  बोकेका गाडीको लाइन लागेको छ।

वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीका अनुसार वीरगंज भन्सार र आईसिपी गरी करिब एक हजार गाडी रोकिएका छन्।

सिर्सिया सुक्खा बन्दरगाहमा करिब तीन सय भन्दा बढि गाडी बन्दरगाह परिसरमा रोकिएको बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईले जानकारी गराए ।त्यसैगरी रक्सौल आईसिपी देखि ७ किलोमिटर दक्षिण सम्म गरी गरी करिब २ हजारगाडी अलपत्र परेको भारतीय भन्सारका अधिकारीहरुले बताएका छन्।

जिल्ला प्रशासन कार्यालय बारामा भएको सहमतिपत्र