BIZMANDU
www.bizmandu.com

रविले विचार नै फेर्नुपर्ने कुलमानको अडानले एकता भंग, ‘महामन्त्रीसहित ४ पदाधिकारी मागे’

२०८२ पुष २६

रविले विचार नै फेर्नुपर्ने कुलमानको अडानले एकता भंग, ‘महामन्त्रीसहित ४ पदाधिकारी मागे’
रविले विचार नै फेर्नुपर्ने कुलमानको अडानले एकता भंग, ‘महामन्त्रीसहित ४ पदाधिकारी मागे’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीचको पार्टी एकताको सहमति तीव्र असन्तुष्टिका कारण भंग भएको छ।

Tata
GBIME
Nepal Life

पुस १४ गते उनेपाका तर्फबाट पूर्व उर्जामन्त्री कुलमान घिसिङलाई उप सभापति बनाउने सहमति भएको थियो। उनेपा रास्वपामै समाहित हुने ७ बुँदे सहमति भएकोमा दुई हप्तासम्म दुवै पक्षबीच असन्तुष्टि बढ्यो।

उनेपा समानुपातिकको छुट्टै सूची बोकेर निर्वाचन आयोग पुगेको थियो भने पुरानै पार्टीलाई ब्युताउन कसरत गरेको थियो। घिसिङको उक्त कदमपछि रास्वपाका सभापति रवि लामिछानेले चर्को असन्तुष्टि व्यक्त गरेका थिए।

लामिछानेले आफू निकट नेतालाई घिसिङले एकता गर्ने भन्दा पनि भागबण्डातर्फ ध्यान दिएको बताएका थिए।

सैद्धान्तिक रुपमै दुई पक्षबीच विमति देखिएपछि सहमतिको सम्भावन नभएको रास्वापका प्रवक्ता मनिष झाले बिजमाण्डूलाई बताए।

‘हामीले मानेको लोकतान्त्रिक सिद्धान्तमा पुनर्विचार गरेर नयाँ राजनीतिक सिद्धान्त बनाउनुपर्ने माग राखेकोमा हाम्रो नेतृत्वले असहमति जनाएको छ। अवस्था परिवर्तन गर्ने अभियान हो व्यवस्था र संविधानमा विमति नरहेको स्पष्ट धारणा रास्वपाले राखेपछि त्यसमा कुरा मिलेन,’ उनले भने।

मनिष झा

संघीयता र धर्मनिरपेक्षता तथा लोकतान्त्रिक गणतान्त्रिक संरचनाको कुरामा उनेपाले फरक धारणा राख्नुपर्ने अडान राखेको थियो। उनेपाले संघीयता र धर्मनिरपेक्षतालाई लिएर लामिछानेमाथि प्रश्न उठाएको थियो।

उक्त विषयमा लिखित प्रतिवद्धता गर्नुपर्ने अडान पनि उनेपाले राखेको छ। पदाधिकारीमा पनि थप ३ जना दिनुपर्ने माग कुलमानले गरेका थिए। उक्त मागमा पनि लामिछानेले असन्तुष्टि जनाए।

‘पदाधिकारीमा अहिले भएकोमा थप ३ वटा पद दिनुपर्ने अडान बेस्सरी राख्नुभयो। त्यसो भएपछि हाम्रो सभापति रिसाउनुभयो,’ रास्वपाका एक सचिवालय सदस्यले भने।

रास्वपा-उनेपाबीचको पुस १४ को सहमति पत्र

घिसिङले आफूलाई वरिष्ठ उपसभापति दिनुपर्ने अडान राखेका थिए। उक्त अडानमा पनि रास्वपाले विमति जनाएको थियो। अर्कोतर्फ २ महामन्त्री बनाउनुपर्ने र त्यसमा एक उनेपाको हुनुपर्ने माग पनि घिसिङले रास्वपाका नेताहरूसँग गरे। उक्त मागप्रति पनि लामिछाने आक्रोशित बनेका थिए।

कुलमानसँग एकता गरेर आफू पार्टीलाई विग्रहमा लैजाने पक्षमा नभएको लामिछानेले आफू निकट नेताहरूलाई बताएका छन्।

‘प्रत्यक्ष उम्मेदवारीका लागि सिट तोकेरै जानुपर्ने उनेपाको मागमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वले विमति जनाएको छ,’ वार्तामा सहभागी अर्का एक सदस्यले भने।

घिसिङले केही दिनअघि मात्रै राजनीतिमा सक्रिय हुने भन्दै मन्त्रीबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएलगत्तै रास्वपा र उनेपाबीच लगातार वार्ता भएको थियो।

वार्ताका क्रममा सहमतिका लागि विभिन्न प्रस्तावमाथि छलफल समेत भएको थियो। तर, घिसिङ आफ्ना अडानबाट पछि हटेनन्। लामिछानेले पनि घिसिङसँग मिलेर जान नसकिने ब्रिफिङ आफू निकट नेताहरूलाई गरेका छन्।

रास्वपाका नेताहरूका अनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले समेत कुलमानलाई पार्टीमा सामेल गरेर एकता सभा गरेपछि मात्रै सक्रिए हुने सर्त राखेका थिए। साहसँग अब रास्वपाले फेरि संवाद गर्ने भएको छ।

माघ पहिलो हप्तासम्म पार्टीमा सक्रिय भइसक्न रास्वपाले साहलाई आग्रह गरेको छ।