काठमाडौं। २०८२ भदौ २४। भाटभटेनी डिपार्टमेन्टल स्टोरको वेयर हाउससहित १२ वटा आउटलेटमा लुटपाटसँगै आगजनी गरेर भौतिक संरचना नै काम नलाग्ने बनाइयो।
तर, भोलिपल्टै भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले घोषणा गरे- हामी खरानीबाट उठ्ने छौं। सबै स्टोरको पुनर्निर्माण गर्नेछौं र एक वर्षभित्रै लयमा फर्किने छौं।
उनले काममा निरन्तरता दिन चाहने आफ्ना कुनै पनि कामदारलाई निकालेनन्। आगजनीका कारण स्टोर बन्द भए पनि कामदारलाई पारिश्रमिक दिइरहे।
एक वर्षपछि आइपुग्दा भाटभटेनीका हेटौंडा र दमकबाहेकका सबै स्टोर संचालनमा आइसकेका छन्। मीनबहादुरले जलेका सबै संरचना दिनरात नभनी उठाए। संरचना बनाउँदा बनाउँदै उनी भने गम्भीर बिरामी परे। ३८ दिन अस्पताल बसे। अहिले पनि स्वास्थ्यका कारण आइसोलेसनमा रहेका मीनबहादुरले पुनर्निर्माण रोकेनन्।
‘२४ गते राती म सुत्नै सकिन। मैले के गल्ती गरेको थिएँ र भन्ने लाग्यो?,’ उनले बिजमाण्डूसँग भने, ‘त्यो रात तातोपानी खाँदै छर्लङ्ग भयो। मैले भाटभटेनीमा जोडिएका १० हजारभन्दा बढीलाई सम्झिएँ। त्यसपछि साहस बटुलेर खरानी हटाइ निर्माणमा जुटेको हुँ।’

उद्योगी व्यवसायीको धर्म र कर्म लगानी गर्नु भएको मीनबहादुरको बुझाइ छ। त्यही कारण उनी आफ्नो कर्तव्यबाट च्यूत भएनन्।
‘भागेका दिनमा उसले मात्रै होइन समाज र राष्ट्रले पनि ठूलो क्षति ब्यहोर्नुपर्छ। जतिसुकै क्षति र विध्वंश भए पनि लगानीकर्ताले आफ्नो साहस मर्न दिनु हुँदैन,’ उनले भने, ‘उद्योगी व्यवसायी भनेका आमाजस्तै हुन्। जसरी आमाले घरका सबै परिवारलाई बाँडेर बाँकी रहेको खानेकुरा खान्छन्। त्यसैगरी उद्योगी व्यवसायीले पनि बैंक तथा वित्तीय संस्था, कर्मचारी, राज्य, समाज लगायत धेरै निकायलाई सन्तुष्ट बनाएर बाँकी रहेको अंशमा रमाउँछ। कुनै अंश बाँकी रहेन भने पनि आमाजस्तै चित्त बुझाउँछ।’
मीनबहादुर आमाले जस्तै आफ्नो दायित्वबाट उद्योगी व्यवसायी भाग्न पाउँदैनन् भन्ने सोचाइ राख्छन्।
जेनजी आन्दोलनको पटाक्षेपमा मीनबहादुरजस्ता धेरै उद्योगी व्यापारी परे। ठूलो लगानी गरेका उद्योगी व्यवसायीको घरमा समेत आक्रमण भयो। उनीहरु आफ्नो घर छाडेर अरुको घरमा शरणार्थीजस्तै बन्न पुगे। आफ्नै देशमा शरणार्थी बनेका उनीहरुले मनोबल गिर्न दिएनन्। खरानी भएका उद्योग व्यवसाय र घर पुनर्निर्माण गर्दै लगानीलाई निरन्तरता दिइरहेका छन्।
उद्यमी तथा साहित्यकार वसन्त चौधरीले भदौ २४ गते फेसबुकमा स्टाटस लेख्दै भनेका छन्-
घर खरानी भयो,
विरासतको कथा हराएन।
आगो त निभेर गयो,
तर खरानीको ताप सेलाएन।
पर्खालहरू सबै ढले,
तर स्वरूप ढल्न सकेन।
जताततै आफ्नै छाया देख्छु,
अतीतको त्यो लप्का अझै निभेन।
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
जेनजी आन्दोलनको नाममा ठमेलस्थित उनको घर पनि खरानी बनाइएको थियो। परिवर्तनका नाममा सल्केको हिंसाको डढेलोले पचास वर्ष अघि बनाएको पुर्खौली घर आँखा अगाडि खरानी भयो।
वसन्तले खरानी भएको र अहिलेको तस्विर भन्दै पुनर्निर्माणलाई देखाउन खोजेका छन्। घर जल्दा निराश भएका उनै वसन्तले आफ्नो व्यवसायलाई बढाइरहे। आफ्नो घरको पुनर्निर्माणसँगै नर्भिक अस्पतालको व्यापारलाई झन् एग्रेसिभ बनाए। उनले आफ्नी एक्ली सन्तान मेघा चौधरीलाई समेत मनोबल उच्च बनाउन ढाढस दिए।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको विशालनगरमा रहेको बंगला जेनजी आन्दोलनको निशानामा पर्यो। सोभियत संघ विघटन ताका रुसमा बसेका उपेन्द्रलाई त्यति समस्या परेन, जति आफ्नै मातृभूमिमा गत वर्षको भदौ २४ गते पर्यो। रुसमा त उनी आफ्नो घरभित्र सुरक्षित थिए तर आफ्नै देशभित्र भदौ २४ मा घरबाट अकस्मात भाग्नुपर्यो।
उनले तीन छोराछोरी र श्रीमतीलाई लिएर अत्यासका साथ पछाडिको गेटबाट भाग्नुपर्यो। घर जलेर खरानी हुँदा विचलित भएका उपेन्द्र व्यवसाय विस्तारमा निरन्तर लागिरहेका छन्। खरानी भएको घरमा उनले होटल बनाउने योजना बनाइरहेका छन्। उनले विभिन्न सार्वजनिक मञ्चमा उभिएर स्वदेशमै लगानी गर्न हौस्याइरहेका छन्।
आइएमई ग्रुपले निर्माण गरेको चन्द्रागिरि केबलकार र गैंडाकोटमा रहेको मौलाकाली केबलकार पनि जेनजी आन्दोलनको निशानमा पर्यो। दुबै केबलकारमा ठूलै क्षति पुगेको थियो।
समूहले तत्कालै प्राविधिक टोली विदेशबाट मगाएर दुई महिनामै चन्द्रागिरि केबलकार संचालनमा ल्याएको थियो। समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनबाट आफ्नै व्यवसायमा आगजनी भए पनि लगानीकर्तालाई नआतिन आग्रह गर्दै आफूले पनि लगानी विस्तार गरिरहेका छन्।
निजी सम्पत्तिमाथि भएको आक्रमणले ठूलो क्षति पुगे पनि उद्योगी व्यवसायीले आफ्नो मनोबल कमजोर पार्न नहुने ढकालले बताउँदै आएका छन्।
ढकालको समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केबलकार केही समयमा संचालनमा आउँदैछ। देशमा राजनीतिक आन्दोलन वा प्राकृतिक विपत्तिमा उद्योग, व्यवसाय र तिनका सञ्चालक नै टार्गेटमा पर्दै आएका छन्। राजनीतिक दंगा हुँदा व्यवसाय लुटिन्छ, व्यवसायी कुटिन्छन्, आगजनी र तोडफोड सबै गरिन्छ। पछिल्लो दुई दशकमा निजी क्षेत्रले सबैभन्दा बढी समस्या ब्यहोरेको छ। तर, उनीहरुले मनोबल दह्रो बनाउँदै आफ्नो व्यवसाय विस्तार गरिरहेका छन्।
दोस्रो जनआन्दोलन २०६२/६३ को सफलतापछि राजनीतिक समस्या समाधान भएर व्यवसायीले उद्योग व्यवसाय गर्ने वातावरण बन्ने अपेक्षा थियो। तर, लगत्तै मधेस आन्दोलन भयो। त्यसको निशानामा उद्योगी व्यवसायी नै परे।
पहिलो संविधानसभाको निर्वाचनपछि व्यवसायी अपेक्षाकृत आशावादी थिए। तर, यही बेला मुलुकले ठूलो प्राकृतिक प्रकोप सामना गर्नुपर्यो। यो थियो, २०६५ भदौ २ गते सुनसरीको कुसाहामा कोशीको बाँध फुटेपछि कोशी प्रदेशसँग पश्चिमका अन्य प्रदेशको सम्पर्क टुट्यो। २०७२ वैशाखको भूकम्पले देशलाई नै तहसनहस बनायो।
राष्ट्रिय योजना आयोगका अनुसार भूकम्पका कारण औद्योगिक क्षेत्रतर्फ २० अर्ब र व्यापारिक क्षेत्रमा १७ अर्बको क्षति भयो। भूकम्पले कारखाना, गोदाम, पसल, मल, कार्यालय सबैतिर क्षति पुर्याउँदा व्यावसायिक क्षेत्रले ठूलो चोट सामना गर्नुपर्यो। केही ठूला कारखाना भत्किएर बन्द हुँदा राष्ट्रिय उत्पादनमै असर पर्यो।
देश भूकम्पको पीडाबाट तंग्रिन खोज्दै गर्दा २०७२ असोजमा संविधान जारी भयो। तर, आफ्नो कुरा नसुनेको झोकमा भारतले लगत्तै नाकाबन्दी सुरु गर्यो। नाकाबन्दीको असर सर्वसाधारणदेखि उद्योग व्यवसायमा पर्यो।
यो बीचमा रोशी बाढीदेखि साना ठूला विपत्तिले निजी क्षेत्रलाई माथि उठ्नै दिएको छैन। प्राकृतिक विपत्ति मात्रै होइन, राजनीतिको निशानामा निजी क्षेत्र पर्ने गरेको छ।

एकपछि अर्को गरी लगातारजसो संकट सामना गरिरहेको निजी क्षेत्रले कसरी उभिने साहस गरिरहेको छ? नेपालको निजी क्षेत्रमा कस्तो शक्ति छ?
‘नेपालका लगानीकर्ता राजनीतिक घटनाक्रम र प्राकृतिक विपत्तिसँगै नाफखोरको भाष्यका कारण पनि निशानामा छन्,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका भन्छन्।
मुरारकाले यति धेरै चोट सहेर पनि यहाँका उद्यमीले अहिलेसम्म हिम्मत नहारेको बरु आफ्नो व्यवसायलाई निरन्तरता दिइरहेको उल्लेख गरे। ‘आफ्नो उद्योगलाई निरन्तरता दिइरहनु उद्योगीका लागि एकप्रकारको बाध्यता नै हो। तर त्योभन्दा पनि बढी उसको उद्यमशीलता, साहस र धैर्य पनि हो,’ उनले भने।