काठमाडौं। दोहोरो इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजीन) लागू गर्ने विषयलाई लिएर डेढ वर्षदेखि बन्धक भएको संस्थापक सेयर कारोबारको बाटो खुलेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशनपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले कम्पनीहरुलाई यसअघिकै प्रक्रिया अनुसार एउटै आइजीनमा सेयर कारोबार गर्न दिने गरी पत्र पठाएको छ। लकइन अवधि सकिएर पनि बन्धक बनेको संस्थापक सेयर कारोबारको बाटो सीडीएससीले बाध्य भएर खोलेको हो।
दोहोरो आइजीनका कारण कारोबार बन्धक बनेका कम्पनीलाई सेबोनको निर्देशनपछि सीडीएससीले यसअघिकै प्रक्रिया अनुसार सेयर कारोबार गर्न सहजीकरण गरेको स्रोतले बतायो।
‘दोहोरो आइजीनका कारण संस्थापक सेयर कारोबार बन्द भएका कम्पनीलाई यसअघिकै प्रक्रिया अनुसार बिक्री गर्न खुला गरिएको छ,’ स्रोतले भन्यो, ‘यसअघि रोकिएका कम्पनीको सेयर अब एकल आइजीनबाटै कारोबार हुनेछ।’
आइपीओ बिक्रीपछि संस्थापक र साधारण सेयरको फरक-फरक आइजीन भएका कम्पनीको सेयर लकइन अवधि सकिएपछि एउटै आइजीनमा किनबेच हुने गरेकामा सीडीएससीले इमर्जिङ नेपाल लगायत कम्पनीको कारोबार रोकेको थियो।
इनर्जिङ नेपालका साथै कालिञ्चोक दर्शन कम्पनीको संस्थापक सेयर लकइन अवधि सकिए पनि संस्थापकहरुले बिक्री गर्न पाएका थिएनन्। यसबाहेक पछिल्लो समय लकइन सकिएका अरु कम्पनीका संस्थापकको सेयर बिक्री पनि रोकिएको थियो।
संस्थापक र साधारण सेयरको छुट्टा छुट्टै आइजीनमा कारोबार गर्न प्रस्ताव गरेको सीडीएससीले सेबोनको निर्देशनपछि बिक्री गर्ने बाटो खुलाएको हो।
सेबोनले एक साताअघि कम्पनीको संस्थापक र साधारण सेयरलाई छुट्टाछुट्टै आइजीन दिने प्रस्तावसहित सीडीएससीले पेस गरेको धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिकाको मस्यौदा स्वीकृति गर्न अस्वीकार गरी यसअघिकै प्रक्रिया अनुसार कारोबार खुलाउन निर्देशन दिएको थियो।
सेबोनको निर्देशनपछि सीडीएससीले इमर्जीङ नेपालको लकइन सकिएको डेढ वर्षपछि एकीकृत आइजीन कायम गरेको छ। इमर्जिङको संस्थापक सेयरको लकइन अवधि २०८१ फागुन ३ गते सकिएको थियो। यस्तै कालिञ्चोक दर्शनको लकइन अवधि २०८२ फागुन १७ गते सकिएको थियो।
सीडीएससीले कम्पनीको आइजीन एकीकृत गरेर थप प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको कम्पनीहरुले जनाएका छन्।
‘लकइन सकिएर पनि दोहोरो आइजीनका कारण कारोबार नै रोकिएका कम्पनीका संस्थापक सेयर अब ट्रेडेबल हुन्छ। कम्पनीको प्रबन्धपत्र, नियमावली तथा अरु प्रक्रिया अगाडि बढाउन सीडीएससीले स्वीकृति दिएको छ,’ कम्पनी स्रोतले भन्यो।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री गरेको ३ वर्षसम्म लकइन अवधि लाग्छ। कम्पनीकोका संस्थापक, स्थानीय र कर्मचारीलाई वितरण गरेको सेयर लकइन अवधि समाप्त नभएसम्म बिक्री गर्न पाइँदैन।
लकइनमा फरक-फरक आइजीन रहेका सेयर अवधि सकिएपछि एकीकृत गरेर साधारण मूल्यमा कारोबार हुने गरेको छ। सीडीएससीले कम्पनीहरुको आइजीन एकीकृत गर्न नमानेपछि संस्थापक सेयरको बिक्री रोकिएको थियो।
दोहोरो आइजीनको विषयलाई लिएर सीडीएससीले आइपीओ बिक्री गरेका कम्पनीको संस्थापक सेयरको अभौतिकीकरण पनि डेढ वर्षदेखि रोकेको थियो। सेयर अभौतिकीकरण रोकिएका कम्पनीको संख्या तीन दर्जन पुगिसकेको छ।
दोहोरो आइजीन विवादले रोकिएको किनबेच खुले पनि अभौतिकीकरण भने नयाँ निर्देशिका जारी भएपछि मात्रै हुने सीडीएससीको तर्क छ।
सीडीएससीले दोहोरो आइजीनको प्रस्तावसहित एक वर्षअघि धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिकाको मस्यौदा स्वीकृतिका लागि सेबोनमा पठाएको थियो।
सीडीएससीको प्रस्ताव अस्वीकार गर्दै सेबोनले एकल आइजीनको व्यवस्थासहित नयाँ मस्यौदा मागेको छ।