काठमाडौं। संस्थापक र साधारण सेयरलाई फरक-फरक इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजीन) दिने सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को प्रस्तावमा नेपाल धितोपत्र बोर्ड (सेबोन)निष्कर्षविहीन बनेको छ।
कम्पनीको संस्थापक र साधरण सेयरलाई फरक फरक आइजीन दिने वा एउटै लागू गर्ने भन्नेमा सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कुनै निर्णय नगरी सीडीएससीको प्रस्ताव नै होल्डमा राखेका छन्।
सेयर बजार सुधार सुझाव कार्यदलले आइजीनका विषयमा दिएको सुझाव कात्तिकभित्र कार्यान्वयन गर्ने निर्णय गरेका सन्तोषनारायणले सीडीएससीको प्रस्ताव भने होल्डमा राखेका हुन्।
अर्थमन्त्री रामेश्वर खनालले गत असोज ३ गते गठन गरेको पुँजी बजार सुधार सुझाव कार्यदलले आइजीनमा एकरुपता कायम गर्न तीन महिनाको समय सीमा तोकेर सुझाव दिएको थियो।
कार्यदलले आइजीनमा एकरुपता कायम गर्न निश्चित मापदण्ड तय गरी लागू गर्न भनेको छ। यसका लागि जिम्मेवार निकाय सेबोन र सीडीएससी भएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ।
आइजीनमा एकरुपता कायम गर्दा कुनै सम्भावित जोखिम नरहेको कार्यदलको विश्लेषण थियो। कार्यदलले पेस गरेको सुझाव अर्थ मन्त्रालयलले कार्यान्वयन गर्ने निर्णय गरेर कात्तिकमै सेबोनमा पठाएको थियो।
सेबोनले कार्यदलको सुझाव अनुसार कात्तिकभित्रै आइजीनमा एकरुपता कायम गर्ने कार्ययोजना बनाइ बोर्डबाट स्वीकृत गरे पनि सीडीएससीले प्रस्ताव गरेको निर्देशिका होल्ड गरेर राखेको छ।
सीडीएससीबाट प्राप्त निर्देशिकाको मस्यौदामाथि कानुन प्रबलीकरण समितिमा छलफल भएको सेबोनका अधिकारीले बताएका छन्। उनीहरुका अनुसार निर्देशिका स्वीकृत गर्ने विषयमा सन्तोषनारायणले रुची देखाएका छैनन्।
कम्पनीको सेयरमा दोहोरो आइजीन लागू गर्ने वा एउटै आइजीन लागू गर्ने विषयमा सञ्चालकबीच नै फरक धारणा रहेका कारण सन्तोषनारायणले निर्णय लिन नसकेको सेबोन स्रोतले बतायो।
‘दोहोरो आइजीन लागू गर्दा त्यसले बजारमा पार्ने असरबारे हेर्नुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय असल अभ्यास हेर्दा एउटै प्रकृतिको सेयरमा दोहोरो आइजीन छैन। लकइन अवधिमा रहेको कुनै संस्थापक सेयरलाई साधारण बनाएर कारोबार गरिएको तर्कलाई मान्ने हो भने त्यसखालको बद्मासी दोहोरो आइजीन लागू गरेर समाधान हुने होइन। यसको जिम्मेवारी सीडीएससीले नै लिनुपर्छ,’ सेबोनका एक सञ्चालकले भने, ‘अहिले दोहोरो आइजीन लागू गर्ने कि नगर्ने भन्ने दुईवटा स्कुलअफ थटले काम गरिरहेको छ। त्यसमै छलफल भइरहेको छ। त्यसैले अहिलेसम्म कुनै निष्कर्ष आएको छैन।’
सीडीएससीले कम्पनीको संस्थापक र साधारण सेयरमा फरक फरक आइजीन लागू गर्नुपर्ने प्रस्तावसहित धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिकाको मस्यौदा स्वीकृतिका लागि साउनमा सेबोनमा पठाएको थियो।
निर्देशिकाको मस्यौदामा संस्थापक र साधारण सेयरको दोहोरो आइजीन लागू गर्ने तथा आइजीन मर्जर गर्न सकिने प्रस्ताव छ।
अहिले बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीको आइपीओ बिक्रीपछि साधारण र संस्थापक सेयरलाई एउटै आइजीन दिने गरिएको छ। सर्वसाधारणलाई आइपीओ निष्कासन गरेपछि कम्पनीको संस्थापक सेयरमा तीन वर्षे लकइन पिरियड लागू हुन्छ।
लकइन अवधिमा संस्थापकले सेयर किनबेच गर्न पाउँदैनन्। संस्थापक सेयर लकइन अवधिमा एउटै आइजीनमा लक गरिन्छ। संस्थापक सेयरको लकइन सकिएपछि बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीको सेयर साधारण सेयरमा रुपान्तरण हुन्छ।
दोहोरो आइजीन विवादकै कारण अहिले सीडीएसीले संस्थापक सेयर कारोबारलाई रोकेर राखेको छ। इमर्जिङ नेपालको संस्थापक सेयरको लकइन गत फागुनमा सकिएकामा कारोबार अहिलेसम्म बन्धक बनेको छ।
‘कम्पनीको संस्थापक सेयरको लकइन अवधि सकिएको एक वर्ष हुन लागेको छ। तर, पनि संस्थापकले सेयर बिक्री गर्नै पाएका छैनन्। संस्थापकलाई साधारण मूल्य होइन कि १०० रुपैयाँमै पनि बिक्री गर्न रोकिएको छ,’ इमर्जिङ नेपालका सीइओ विशाल उप्रेतीले भने, ‘सीडीएससी र सेबोनले यसलाई स्पष्ट नगर्दा कम्पनीका लगानीकर्ताले समस्या भोग्नु परेको छ। यो समस्या अर्को कम्पनीमा पनि देखिए त्यसले लगानीको वातावरण नै बिथोल्ने देखिन्छ।’
संस्थापक सेयर साधारणमा रुपान्तरण मात्रै होइन, आइपीओ निष्कासन गरेका कम्पनीको संस्थापक सेयरको अभौतिकीकरण पनि रोकिएको छ।
सीडीएससीले सेबोनमा पठाएको निर्देशिकाको मस्यौदालाई देखाएर कम्पनीको संस्थापक सेयर अभौतिकीकरण होल्ड गरेको हो। पछिल्लो एक वर्षयता आइपीओ निष्कासन गरेका कम्पनीको संस्थापक सेयर अभौतिकीकरण पनि रोकिएको छ।