BIZMANDU
www.bizmandu.com

हिमालयन लाइफमा मनोजको अनियमितता : प्राधिकरणले रोक्यो भुक्तानी, सुलभको भागमा पनि कमिसन!

२०८२ मंसिर २

हिमालयन लाइफमा मनोजको अनियमितता : प्राधिकरणले रोक्यो भुक्तानी, सुलभको भागमा पनि कमिसन!
हिमालयन लाइफमा मनोजको अनियमितता : प्राधिकरणले रोक्यो भुक्तानी, सुलभको भागमा पनि कमिसन!


काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोजकुमार लाल कर्णलाई राजीनामापछि दिन लागिएको सवा दुई करोड रुपैयाँ भुक्तानी रोक्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ।

Tata
GBIME

अध्यक्ष सुलभ अग्रवालले सञ्चालक समितिबाट निर्णय गराएर मनोमानी ढंगले सवा दुई करोड रुपैयाँ र गाडी दिन लागेको समाचार सार्वजनिक भएपछि प्राधिकरणले त्यो सबै रोक्न निर्देशन दिएको हो।

बीमितको कोषबाट ठूलो रकम अवैधानिक रुपमा भुक्तानी गरेर कम्पनीलाई हानी नोक्सानी पुर्‍याउन लागेको भन्दै अर्थमन्त्री रामेश्वर खनालले पनि यस बारेमा प्राधिकरणसँग चासो राखेका थिए। सुलभको इसारामै चलिरहेको प्राधिकरणले अर्थमन्त्रीको चासोपछि भुक्तानी रोक्न निर्देशन दिएको हो।

प्राधिकरणमा नियुक्त हुने अध्यक्षदेखि महत्वपूर्ण विभागहरुमा बसेर काम गर्ने  केही कर्मचारी सुलभ र विवादास्पद व्यवसायी दीपक भट्ट निकट छन्। उनीहरुले दीपक-सुलभको अहित हुने गरी कुनै पनि निर्णय गर्दैनन, बरु कारवाही हुन लागे पहिले सूचना पुर्‍याउने गरेका छन्।

हिमालयन रि इन्स्योरेन्सबाट दीपक भट्टकी सासुको नाममा व्यवसाय सृजना गरेर ५२ करोड घोटाला गरेको काण्डमा पनि प्राधिकरणकै कर्मचारीको असहयोगका कारण छानबिन अगाडि बढेको छैन। जबकी अर्थमन्त्री खनालले यसबारेमा छानबिन गर्न दुई महिना अगाडि नै निर्देशन दिइसकेका हुन्। त्यसअघि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्न निर्देशन दिएको थियो।

हिमालयन लाइफको विषयमा अर्थमन्त्रीले कडिकडाउ गरेपछि बल्ल त्यो भुक्तानी रोक्न प्राधिकरणले निर्देशन दिएको हो। प्राधिकरणले भुक्तानी रोक्न भन्नुका साथै कथमकदाचित भुक्तानी भए सञ्चालक समितिका सदस्यहरुबाट भर्पाइ गराउने चेतावनीसमेत दिएको छ।

सुलभले कानुनविपरीत हुने गरी भुक्तानी गर्ने निर्णय गरे पनि त्यहाँका कर्मचारीले कर्णलाई भुक्तानी गर्न मानेका थिएनन्। त्यही बेला सञ्चारमाध्यममा समाचार प्रकाशित भयो। लगत्तै अर्थ मन्त्रालयका अधिकारीको फोनपछि प्राधिकरणले निर्देशन दिएको हो।

दीपक-सुलभको लाभका लागि काम गर्दै आएका कर्णले राजीनामा माग्दै अभिकर्ता आन्दोलित भएपछि हिमालयन लाइफको सीइओबाट राजीनामा दिन बाध्य भएका थिए। कर्ण कम्पनीमा ४ वर्षका लागि अढाइ वर्षअघि नियुक्त भएका थिए।

तर, उनले कम्पनीका लागि भन्दा पनि व्यक्तिगत फाइदा र दीपक-सुलभको लाभका लागि काम गर्दै आएका थिए। कम्पनीलाई चरम नोक्सानीमा पुर्‍याउने काम गरेपछि अभिकर्ता आन्दोलित भएका थिए।

अभिकर्ताको आन्दोलनले काम गर्न नसक्ने भएपछि उनले गत असोज २६ गते राजीनामा गरेका थिए। कार्यकाल बाँकी छँदै राजीनामा गरेका कर्णलाई सुलभले बाँकी कार्यकालको पारिश्रमिक र सवारीसाधन उपलब्ध गराउने निर्णय गरेका थिए।

‘कर्णले राजीनामा गर्दा गोल्डेन हेण्डसेक वा अन्य सुवधासमेत उपलब्ध गराइदिन अनुरोध गरेको सन्दर्भमा छलफल गर्दा निजले कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पदमा रही गरेको कार्यको योगदानस्वरुप बाँकी पैसा भुक्तानी गर्ने निर्णय गरिएको छ,’ सञ्चालक समितिको निर्णयमा भनिएको छ।

कर्णलाई २०८० वैशाख २६ गते कम्पनीमा ४ वर्ष अवधिका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको थियो। उनले २०८२ असोज २६ सम्म सेवारत रही हिमालयनमा ८८७ दिन बिताएका थिए। मासिक तलब सुविधा १२ लाख रुपैयाँका आधारमा बाँकी कार्यकाल भन्दै ५७३ दिनको कुल २ करोड २६ लाख रुपैयाँ भुक्तानी दिन निर्णय गरिएको हो। प्राधिकरणको निर्देशनपछि अहिलेलाई त्यो रोकिएको छ।

यसबाहेक कर्णले चढ्दै आएको प्रोटोन फुल अप्सन गाडी पनि उनको नाममा नामसारी गरिदिने निर्णय सुलभले गरेका थिए।

पेसागत बीमा अभिकर्ता संघ नेपालले हिमालयन लाइफभित्रको बेथिति अन्त्यको माग गर्दै कार्यालयमा धर्ना दिएपछि कर्णले राजीनामा दिएका थिए। कर्णले श्रीमतीको नाममा रहेको ब्रोकर कम्पनीमार्फत दीपक-सुलभको हितमा काम गर्दै आएका थिए। उनी हिमालयन लाइफको प्रमुख कार्यकारी हुँदा १० बजेदेखि साढे ३ बजेसम्म भृकुटी ब्रोकरेजमा नै हुन्थे।

स्रोतहरुको दाबी अनुसार, कर्णले पाउने तलब सुविधाबाट पनि सुलभले कमिसनस्वरुप निश्चित रकम लिने गरेका थिए। त्यही भएर प्रमुख कार्यकारीको अनियमिततामा सुलभको पनि हात रहने गरेको छ।