काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सेयर बजारमा अन्तिम समयमा हुने अस्वाभाविक चलखेल रोक्न लागू गरेको नेप्से सूचकांक गणनालाई उल्ट्याउने तयारी थालेको छ।
धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा ६ महिनाअघि चौंथो संशोधन गरेर आफैंले लागू गरेको व्यवस्था सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले केही लगानीकर्ताको स्वार्थमा हटाउन लागेका हुन्।
सन्तोषनारायणले नेप्से सूचकांक गणनामा लागू गरेको १५ मिनेटको औसत मूल्य गणनालाई हटाउने एजेन्डासहित सार्वजनिक बिदाको दिन शनिबार सञ्चालक समिति बैठक बोलाएका छन्।
उनकै निर्देशनमा नेप्सेका सीइओ चुडामणि चापागाइँले १५ मिनेटको अवधि तोकेर क्लोजिङ प्राइसमा भारित औसतबाट मूल्य तय हुने व्यवस्था हटाउने प्रस्ताव सेबोनमा पठाएका छन्।
नेप्सेको सञ्चालक समितिले संशोधनको प्रस्ताव पारित गरेर सन्तोषनारायणको चाहना अनुसार सेबोनमा पठाएको हो।
‘सन्तोषनारायको चाहना बमोजिम नेप्सेका सीइओले सञ्चालक समितिमा पेस गरेको प्रस्ताव पारित गरिएको छ। त्यसपछि नेप्सेका सीइओले यसलाई सेबोन पठाएका छन्,’ नेप्सेका एक सञ्चालकले भने।
खराब वित्तीय अवस्था भएका लोक्याप कम्पनीको सेयर मूल्य दिनभर घटेर कारोबार बन्द हुने समयमा केही लगानीकर्ताले अस्वाभाविक माग सिर्जना गरेर उचाल्न थालेपछि १५ मिनेटको कारोबारलाई औसतमा गणना गरेर अन्तिम मूल्य कायम गर्ने व्यवस्था गरिएको थियो।
नेप्सेको प्रस्तावमा सेबोनले धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा चौंथो संशोधन गरेपछि अन्तिम १५ मिनेटको कारोबारलाई औसतमा गणना गरेर अन्तिम मूल्य कायम गर्ने व्यवस्था गत चैत ७ गतेदेखि कार्यान्वयनमा आएको थियो।
सेबोनले विनियमावली संशोधन गरेपछि नेप्सेले सेयर कारोबार सत्रमा २:४५ देखि ३ बजेसम्म कायम कम्पनीको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था लागू गरेको थियो।
सन्तोषनारायणले केही लगानीकर्ताको स्वार्थमा यो प्रावधान हटाउन लागेको सेबोन स्रोतले बतायो। सन्तोषनारायणको योजनामा नेप्सेका सीइओ चापागाइँ समेत प्रयोग भएका छन्।
सेयर बजारमा बिहीबार १६० अंकको पहिरो गएपछि नेप्से सूचकांक गणनाको विधि हटाउन माग गर्दै केही लगानीकर्ताले सेबोन घेराउ गरेका थिए।
जेनजीको आन्दोलनका कारण भदौ २३ पछि बिहीबार खुलेको सेयर बजार तीन पटक नेगेटिभ सर्किट लागेर एक घण्टामै बन्द भएको थियो। त्यसपछि लगानीकर्ताको एक हुल सेबोनमा पुगेको थियो।
सन्तोषनारायणले लगानीकर्तालाई नेप्सेले लागू गरेको भारित औसत मूल्य गणना विधि हटाउने आश्वासन दिए। त्यसपछि लगानीकर्ता फर्किएका थिए।
कम्पनीको सेयर मूल्य अन्तिममा उचालेर चलखेल गर्न खोज्ने लगानीकर्ताको स्वार्थमा सन्तोषनारायणले आफैंले स्वीकृत गरेको व्यवस्था हटाउनका लागि सञ्चालक समितिको बैठक राखेको सेबोनका कर्मचारीले बताए।
‘सेयर बजारको बारेमा जानकारी नै नभएको व्यक्तिलाई नेतृत्वमा ल्याएका कारण अहिलेको अवस्था आएको हो। सेबोन अध्यक्ष सन्तोषनारायणलाई र नेप्सेका सीइओ चुडामणिलाई कारोबार सूचकांक गणनाको विषयमा कुनै जानकारी नै छैन,’ सेबोनका एक अधिकृतले भने, ‘यो हाम्रोमा मात्रै लागू भएको होइन। अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा अध्ययन गरेरै लागू गरिएको हो। यो व्यवस्थाले गर्दा बजार घट्यो भनेर केही लगानीकर्ताको स्वार्थमा आफैंले लागू गरेको व्यवस्था ६ महिनामै हटाउन खोज्नु दुवै जनाको अक्षमता हो।’
नेप्से सूचकांक गणनामा लागू गरिएको व्यवस्था हटाउने सन्तोषनारायणको चाहनामा कर्मचारी मात्रै होइन, सेबोनका सञ्चालक पनि सहमत छैनन्।
‘नेप्से सूचकांक गणनाको अहिलेको व्यवस्था विनियमावली संशोधन गरेर हटाउने प्रस्ताव सन्तोषनारायणले गरेका छन्। उनको यो प्रस्तावमा धेरै सञ्चालक सहमत देखिंदैनन्। अब बस्ने बैठकले के निर्णय गर्छ भन्न सकिने अवस्था छैन,’ सेबोन स्रोतले भन्यो।
सन्तोषनारायणले नेप्से सूचकांक गणनाको विधि उल्ट्याउने तयारीस्वरुप दुई साताअघि नै उपकार्यकारी निर्देशक दीपेश ताम्राकारको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति बनाएका थिए।
सन्तोषनारायणले केही लगानीकर्ताको स्वार्थमा परेर सेयरको अन्तिम मूल्य कायम गर्ने विधि हटाउन लागेको भन्दै सेबोन र नेप्सेका कर्मचारी असन्तुष्ट बनेका छन्।