काठमाडौं। लगानी विस्तारमा आक्रामक देखिएको भाटभटेनी समूहले रोडसो रियल इस्टेटसँगको सहकार्यमा काठमाडौंको चुच्चेपाटीमा लक्जरी अपार्टमेन्ट निर्माण गर्ने भएको छ।
सुपरमार्केट चेनमा सफल व्यवसायी मीनबहादुर गुरुङले अर्का घरजग्गा व्यवसायी कालु गुरुङसँगको सहकार्यमा प्रिमियम अपार्टमेन्ट निर्माण गर्न लागेका हुन्। अपार्टमेन्ट निर्माणका लागि भूमि पूजा एक साताअघि गरिएको छ।
पछिल्लो समय होटल, कोल्ड स्टोर हुँदै अस्पतालमा लगानी विविधिकरण गरेको भाटभटेनी समूहले अब आवासीय परियोजनामा पनि हात हालेको हो।
हायात होटल नजिकैको बौद्ध अपार्टमेन्ट परियोजना पौने चार रोपनी जग्गामा फैलिनेछ। अपार्टमेन्टमा सिंगल बेसमेन्ट हुनेछ। भुँइतलासँगै थप ८ तला बन्ने यो अपार्टमेन्टमा एक, दुई र तीन बेडरुमका युनिट बनाइने छ।
रोडसो रियल इस्टेटका निर्देशक सागर गुरुङका अनुसार हरेक तलाम आठवटा युनिट बन्नेछन्। अपार्टमेन्टमा कुल ६४ युनिट रहने गरी प्रारम्भिक डिजाइन तयार गरिएको गुरुङले जानकारी दिए। फुल फर्निस्ड अपार्टमेन्टको मूल्य कम्पनीले प्रति वर्गफिट ३० हजार रुपैयाँ तय गरेको छ।
‘अपार्टमेन्टको मूल्य प्रति वर्गफिट ३० हजार रुपैयाँ तोकिएको छ। हामीले खरिदकर्तालाई फुल फर्निस्ड युनिट हस्तान्तरण गर्नेछौं। एक, दुई र तीन बेडरुम युनिट बनाउँदैछौं,’ गुरुङले बिजमाण्डूसँग भने।
काठमाडौं उपत्यकामा एक बेडरुम बजेट अपार्टमेन्टको बिल्टअप एरिया औसतमा ५०० वर्गफिट हाराहारी हुने गर्छ। मिड-रेन्ज अपार्टमेन्टमा औसतमा ६०० वर्गफिटसम्म तथा प्रिमियम अपार्टमेन्टमा ६५० वर्ग फिटभन्दा बढी हुने गरेको छ।
भाटभटेनी र रोडसोले निर्माण गर्न लागेको यो अपार्टमेन्टलाई प्रिमियम परियोजनाका रुपमा हेरिएको छ। यसमा एक बेडरुम अपार्टमेन्ट १ करोड ९५ लाख रुपैयाँ हाराहारीबाट किन्न पाइने देखिन्छ।
बौद्ध अपार्टमेन्टको निर्माण जेठभित्रै सुरु गर्ने तयारी छ। जसका लागि डिजाइनदेखि नक्सा पासको काम अन्तिम चरणमा पुगेको छ। अपार्टमेन्ट डेढ वर्षमा बनाइ सक्ने लक्ष्य छ।
भाटभटेनीले पछिल्लो पटक काठमाडौंको तीनकुनेमा निर्माणाधीन काठमाडौं इन्टरनेसनल हस्पिटलको साढे ४५ प्रतिशत सेयर खरिद गरेको छ। त्यसअघि पुल्चोकको निदान अस्पतालमा पनि भाटभटेनीले लगानी गरिसकेको छ।
भाटभटेनी समूहसमेतको लगानीमा दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटल निर्माण भइरहेको छ।
चितवनको टाँडीमा ७२ हजार वर्गफिटको अत्याधुनिक कोल्डस्टोर भाटभटेनी समूहसमेतको लगानीमा बनिरहेको छ।
भाटभटेनी समूहले विराटनगरमा होटल सेन्चुरियनको स्वामित्व लिएर २ वर्षभित्र पाँचतारे होटल चलाउने योजनाका साथ काम गरिरहेको छ भने स्टील उद्योग चलाइरहेको छ। देशभर २७ वटा भाटभटेनी सुपरस्टोर सञ्चालनमा छन्।
भाटभटेनी समूहको साझेदार रोडसो रियल इस्टेटले ल्यान्डपुलिङसहित अपार्टमेन्ट र हाउजिङ परियोजना निर्माण गरिसकेको छ। रोडसोले ट्याङ्लाफाँट, बर्दिबास, मंगलपुर, यज्ञपुरी, मितेरी गाउँसहितका ल्यान्डपुलिङ परियोजना सम्पन्न गरिसकेको हो।
पोखरामा दीप हाउजिङ परियोजना निर्माण गरेको रोडसोले काठमाडौं उपत्यकामा बुढानीलकण्ठ, मानभवन, धुम्बाराही र चण्डोलमा हाउजिङ निर्माण गरेको छ। कालीमाटी ट्रेड सेन्टर, रञ्जना ट्रेड सेन्टरलगायत व्यापारिक कम्प्लेक्स बनाएको अनुभव रोडसोसँग छ।
रोडसोले पोखरामा अन्नपूर्ण केबलकार निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ। कम्पनीले भाटभटेनी अपार्टमेन्ट १ र २, पोखरा अपार्टमेन्ट, दीप अपार्टमेन्ट र बुढानीलकण्ठ अपार्टमेन्ट प्रोजेक्ट निर्माण गरेर हस्तान्तरण गरिसकेको छ।
रोडसोले अहिले कास्कीमा रुची ल्यान्ड प्लटिङ गरिरहेको छ। यसका अलावा बुढानीलकण्ठ अपार्टमेन्ट-२, पुल्चोक हाइट अपार्टमेन्ट, दुवाकोट ल्यान्ड पुलिङ, आरएसएच हाउजिङ-६, अन्नपूर्ण अपार्टमेन्ट-मासबार र अन्नपूर्ण अपार्टमेन्ट-लेकलाइड निर्माण भइरहेको कम्पनीले जनाएको छ।