BIZMANDU
www.bizmandu.com

स्वास्थ्य क्षेत्रमा भाटभटेनी समूहको इन्ट्री, साढे ७१ करोडमा किन्यो काठमाडौं इन्टरनेसनल हस्पिटलको सेयर

२०८२ बैशाख ३०

स्वास्थ्य क्षेत्रमा भाटभटेनी समूहको इन्ट्री, साढे ७१ करोडमा किन्यो काठमाडौं इन्टरनेसनल हस्पिटलको सेयर
स्वास्थ्य क्षेत्रमा भाटभटेनी समूहको इन्ट्री, साढे ७१ करोडमा किन्यो काठमाडौं इन्टरनेसनल हस्पिटलको सेयर


काठमाडौं। चेन सुपरस्टोरको क्षेत्रबाट देशभरि ‘एम्पायर’ विस्तार गरेको भाटभटेनी समूहले स्वास्थ्य क्षेत्रमा आक्रामकरुपमा लगानी विस्तार गरेको छ।

Tata
GBIME
NLIC

भाटभटेनीले स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गर्ने क्रममा काठमाडौंको तीनकुनेमा निर्माणाधीन काठमाडौं इन्टरनेसनल हस्पिटलको साढे ४५ प्रतिशत सेयर खरिद गरेको छ।

भाटभटेनीका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले काठमाडौं इन्टरनेसनल हस्पिटलको सेयर खरिद गरेको पुष्टि गरे।

निदान हस्पिटलमा पनि लगानी गरेको भाटभटेनी काठमाडौं इन्टरनेसनल हस्पिटलबाट मुख्य हिस्सेदारका रुपमै ‘फ्रन्ट’मा आएको हो।

४ वर्षदेखि निर्माणाधीन काठमाडौं इन्टरनेसनल हस्पिटलका संस्थापक संचालकले निर्माण पूरा गर्न नसकेपछि मीनबहादुरले करिब आधा सेयर किनेका हुन्।

चितवन मेडिकल कलेजका संस्थापक एवम् संचालक प्रा.डा. हरिश्चन्द्र न्यौपाने र उनको परिवारका नाममा बहुमत सेयर रहेको अस्पताल २०२४ भित्र निर्माण सकेर संचालनमा ल्याउने लक्ष्य थियो।

हेलिप्याडसहित सुपर स्पेसियालिटी अस्पताल बनाउने उद्देश्यका साथ २०७८ असारमा निर्माण सुरु गरिएको थियो। तर, अहिलेसम्म निर्माण सम्पन्न भएको छैन।

मीनबहादुरले आफ्ना ज्वाइँ प्रतीकमानसिंह गुरुङको चाहनामा मेडिकल क्षेत्रमा लगानी बढाएका हुन्। बेलायतको लन्डनबाट एमबीबीएस गरेर त्यहीँबाट युरोलोजीमा एफआरसीएस, पीएचडी र २ वर्षको फेलोसिप गरेका तथा रोबोटबाट शल्यक्रिया गर्ने दक्षता हासिल गरेका प्रतीकमान नेपालका ठूला युरोलोजिस्ट मानिन्छन्।

‘उहाँ हाल ओम अस्पतालमा संलग्न हुनुहुन्छ। हाम्रो अस्पताल संचालनमा आएपछि उहाँ पनि आउनु हुनेछ। यस अस्पतालमा उहाँको विशिष्ट योगदान हुनेछ,’ व्यवसायी मीनबहादुरले भने।

उनले मेडिकल हबका रूपमा स्थापित काठमाडौंमा सुविधासम्पन्न अस्पताल संचालन गर्ने र उचित मूल्यमा बिरामीलाई सेवा प्रदान गर्ने आफ्नो धोको रहेको बताए। हस्पिटल पहिलो चरणमा १०० र त्यसपछि २०० बेडको बनाइनेछ।

हस्पिटलमा इमर्जेन्सीसहित जनरल सर्जरी, मुटु, कलेजो, पाचनप्रणाली, आँखा, क्यान्सर, प्रसूति, नसा लगायतको उपचारको व्यवस्था हुनेछ।

४५.६ प्रतिशत सेयर खरिद गरेका मीनबहादुरले अस्पताल एक वर्षभित्र निर्माण सम्पन्न गरेर संचालनमा ल्याउने जानकारी दिए।

बिजमाण्डूलाई प्राप्त सेयरधनी दर्ता किताबको विवरण अनुसार अस्पतालको १ करोड ५६ लाख ७९ हजार ३५६ कित्ता सेयरमध्ये भाटभटेनीले ७१ लाख ५० हजार कित्ता सेयर खरिद गरेको हो। यसका लागि मीनबहादुरले ७१ करोड ५० लाख रुपैयाँ बुझाएका छन्।

काठमाडौं इन्टरनेसनल हस्पिटलको सेयर किनबेचपछि हरिश्चन्द्रका नाममा २४ लाख ५५ हजार ७६०, ममता शर्मा न्यौपानेका नाममा २ लाख २० हजार ३००, आयुष न्यौपानेका नाममा १ लाख २५ हजार, अमिशा न्यौपानेका नाममा १ लाख २७ हजार ८०० र सुनिलचन्द्र न्यौपानेका नाममा १ लाख ७८ हजार कित्ता सेयर कायम भएको छ।

मीनबहादुरबाहेक हस्पिटलका अधिकांश सेयरधनी चितवन मेडिकल कलेजका संचालक हुन्।

न्यौपाने परिवारका नाममा २० प्रतिशत सेयर रहेकामा चितवन मेडिकल कलेजको संस्थापक कम्पनी रोयल सीएमसी इन्भेस्टमेन्ट प्रालिको ६ लाख १५ हजार, सरोजप्रसाद ज्ञवालीको नाममा २ लाख ४२ हजार, दिनुपकुमार बरालको नाममा १ लाख १५ हजार, विनोद ढकालको नाममा ६९ हजार र प्रतिमा देवकोटाको नाममा ७३ हजार कित्ता सेयर छ।

भाटभटेनी ब्रान्डमा देशभरि सुपरस्टोरको चेन व्यवसाय चलाइरहेका मीनबहादुर केही समययता विविध प्रकारको लगानीमा आक्रामक देखिएका छन्।

भाटभटेनीले सोमबार नै रोड सो रियल स्टेटका सागर गुरुङसँगको साझेदारीमा चावहिलमा बहुतले लक्जरियस अपार्टमेन्ट निर्माणका लागि भूमिपूजन गरेको छ।

केही दिनअघि विराटनगरमा भएको कोशी लगानी सम्मेलनमा मीनबहादुरले सरकारले अनुकूल वातावरण तयार पारे भाटभटेनीले आफ्नो लगानी विस्तार गरेर ६० अर्ब पुर्‍याउने घोषणा गरेका थिए।

उनले काठमाडौंको दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटल बनाइरहेका छन्।

त्यस्तै, चितवनको टाँडीमा ७२ हजार वर्गफिटको अत्याधुनिक कोल्डस्टोर निर्माण भइरहेको छ। अन्नपूर्ण स्क्वायर होटल र कोल्डस्टोर दुवैमा व्यवसायी उमेश श्रेष्ठको पनि साझेदारी छ।

सम्बन्धित समाचार : सुपरस्टोरपछि भाटभटेनी समूह हस्पिटालिटी क्षेत्रमा पनि आक्रामक, डेढ अर्बमा किन्यो सेन्चुरियन होटल

मीनबहादुरले विराटनगरमा पूर्वराज्यमन्त्री मोतीलाल दुगडले १० वर्षदेखि निर्माण गरिरहेको होटल सेन्चुरियन १५५ करोडमा खरिद गरेका छन्। त्यहाँ २ वर्षपछि पाँचतारे होटल भाटभटेनी संचालन गर्ने उनको योजना छ।

यस्तै, बर्दघाटमा रहेको उनको काठमाडौं स्टील नामको बिलेटबेस स्टील उद्योगमा १५० करोड लागतमा मेल्टिङ युनिट थप भइरहेको छ। यसलाई आगामी असोजदेखि संचालनमा ल्याउने लक्ष्य छ।

मीनबहादुरले चितवनको टाँडीमा पर्यटकलाई आकर्षित गर्ने गरी भाटभटेनी सुपरस्टोर निर्माण गरिरहेका छन्। यो सुपरस्टोर भदौभित्र संचालनमा ल्याउने लक्ष्य छ।

यो सुपरस्टोर भाटभटेनीको नेपालकै सबैभन्दा ठूलो स्टोर हुनेछ। पूर्वको बिर्तामोडदेखि पश्चिमको नेपालगन्जसम्म भाटभटेनीका २७ वटा स्टोर संचालनमा छन्।