काठमाडौं। शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयको डिग्री बेच्ने कलेजहरुलाई ४ बुँदे निर्देशन दिएको छ।
प्राडा विनिल अर्यालको नेतृत्वमा गठित विज्ञ समितिले विदेशी विश्वविद्यालयको सम्बन्धनका नाममा विकृति बढेको भन्दै रोक्नका लागि सुझाव दिएपछि मन्त्रालयले चार बुँदे निर्देशन दिएको हो।
मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिइ सञ्चालनमा रहेका कलेजलाई विश्वविद्यालय अनुदान आयोगबाट तीन वर्षभित्र क्यूएए प्राप्त गर्न र त्यसका लागि तत्काल प्रक्रिया थाल्न निर्देशन दिएको छ।
यसैगरी एकै भवन परिसरमा एकभन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगर्न र गरेको भए एक वर्षभित्र अलग गर्न तथा वार्षिक प्रतिवेदन माघभित्र बुझाउन पत्राचार गरेको मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए।
प्रतिवेदनमा वार्षिक शैक्षिक क्यालेण्डरका अलावा छात्रवृत्ति पाउने १० प्रतिशत विद्यार्थीको विवरण लगायत विषय समेट्नुपर्नेछ।
कलेजहरुलाई पूर्णकालीन प्रिन्सिपल राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ। महाशाखा प्रमुख अर्यालले विज्ञ समितिको सुझाव प्रतिवेदन पूर्णरुपमा कार्यान्वयनका लागि अध्ययन गर्ने काम भइरहेको बताए।
‘समितिले धेरै महत्त्वपूर्ण सुझाव दिएको छ। सुझाव प्रतिवेदन पूर्णरुपमा कार्यान्वयनका लागि उच्च शिक्षा सम्बन्धी निर्देशिका २०५९ संशोधन गर्नुपर्ने हुन्छ। हामी अहिले के के संशोधन गर्नुपर्छ भन्ने विषयमा अध्ययनको चरणमा छौं,’ उनले भने, ‘अहिले कायम धेरै विकृति हटाउने गरी निर्देशिका संशोधन हुन्छ।’
शिक्षामन्त्री विद्या भट्टराईले समितिको सुझाव कार्यान्वयनका लागि मंसिर २ गते उच्चस्तरीय मूल्यांकन समितिको बैठक राखेर उच्च शिक्षा महाशाखा प्रमुख अर्यालको नेतृत्वमा कार्यदल बनाएकी थिइन्।
प्राडा अर्याल नेतृत्वको समितिले प्रतिवेदन बुझाएपछि र्याङ्किङमा नपरेका विदेशी विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजले विश्वविद्यालय परिवर्तनका लागि निवेदन दिएका छन्।
काठमाडौंको शान्तिनगरस्थित स्ट्यामफोर्ड कलेज, तीनकुनेको द लन्डन कलेज र ललितपुरको खुमलटारस्थित नेपाल एजुकेसन फाउन्डेसन कन्सोर्टियम अफ कलेजले विश्वविद्यालय फेर्नका लागि मन्त्रालयसँग अनुमति मागेका हुन्।
स्ट्यामफोर्ड र द लन्डन कलेजले यसअघि युनिभर्सिटी अफ इस्ट लन्डन, बेलायतबाट सम्बन्धन लिएका थिए। यो युनिभर्सिटी टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटी र्याङ्किङमा हजार विश्वविद्यालयको सूचीभित्र छैन।
अर्यालको नेतृत्वमा गठित विज्ञ समितिले विदेशी विश्वविद्यालयको सम्बन्धनको नाममा महँगो शुल्क लिएर प्रमाणपत्र बेच्ने काम भइरहेको भन्दै कलेजले सम्बन्धन लिने विश्वविद्यालय र्याङ्किङमा एक हजारभित्र हुनुपर्ने सुझाव प्रतिवेदन दुई साताअघि बुझाएको थियो।
टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटी र्याङ्किङ २०२४ अनुसार नेपालमा सञ्चालित ५९ मध्ये ८ कलेजले सम्बन्धन लिएका विश्वविद्यालय मात्र विश्व वरीयतामा एक हजारको सूचीभित्र छन्।
शिक्षा मन्त्रालयले मंसिर २ गते प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि कार्यदल बनाएपछि तीन वटा कलेजले अर्को विश्वविद्यालयबाट सम्बन्धन लिने भन्दै मन्त्रालयसँग अनुमति मागेका हुन्।
स्ट्यामफोर्ट र द लन्डनले युनिभर्सिटी अफ द वेस्ट स्कटल्यान्डबाट सम्बन्धन लिन चाहेको मन्त्रालयमा दिएको निवेदनमा उल्लेख छ। यो विश्वविद्यालय र्याङ्किङमा ६०१ देखि ८०० भित्र पर्छ।
नेपाल एजुकेसन फाउन्डेसन कन्सोर्टियम अफ कलेजले युनिभर्सिटी अफ रोहमटन, बेलायतबाट सम्बन्धन लिन अनुमति मागेको छ। यो विश्वविद्यालय सन् २०२४ को विश्व वरीयतामा ८०१ देखि १००० भित्र देखिन्छ। यस्तै, ३१ वटा कलेजले नयाँ कार्यक्रम सञ्चालनका लागि निवेदन दिएका छन्।