BIZMANDU
www.bizmandu.com

स्थानीय तहमा मौलायो नदीजन्य पदार्थको दोहन, नगर प्रमुख थापाविरुद्ध २ महिनामा दोस्रो मुद्दा

२०८१ जेठ २९

स्थानीय तहमा मौलायो नदीजन्य पदार्थको दोहन, नगर प्रमुख थापाविरुद्ध २ महिनामा दोस्रो मुद्दा
स्थानीय तहमा मौलायो नदीजन्य पदार्थको दोहन, नगर प्रमुख थापाविरुद्ध २ महिनामा दोस्रो मुद्दा


काठमाडौं। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरत कुमार थापाविरुद्ध २ महिनाको अन्तरालमा दोस्रो मुद्दा दायर भएको छ।

Tata
GBIME
NLIC

२६ करोड ८० लाख ८३ हजार ९८० रुपैयाँ बराबरको १३ लाख ४० हजार ४१९ घनमिटर नदीजन्य पदार्थ हानी नोक्सानी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख थापाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

थापा २ महिनादेखि निलम्बनमा छन्। अख्तियारले उनीविरुद्ध गत चैत २८ गते अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर गरेको थियो।

अख्तियारले नदीजन्य पदार्थ हानी नोक्सानीमा थापाविरुद्ध भ्याट रकमसहित ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ बिगो कायम गरी बिगो जफत र बिगोबराबर जरिवाना तथा कैद सजाय माग गरेको छ।

यो प्रकरणमा नगर उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना शाखा प्रमुख सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

नगर प्रमुख थापा र उपप्रमुख मोक्तान दुवैजना माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि हुन्।

चौधरीविरुद्ध बिगो कायम नगरी जरिवाना र कैद सजाय माग गरिएको छ भने अरुविरुद्ध ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ बिगो कायम गरी सजाय माग गरिएको छ।

अख्तियारले एक साताअघि ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १५ जनाविरुद्ध नदीजन्य पदार्थ उत्खनन् गर्दा १ अर्ब ४ करोड ८७ लाख ४५ हजार राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।