विराटनगर। भारतको सीमावर्ती रेलवे स्टेसन बथनाहाबाट विराटनगरको आइसिपीसम्म आइपुगेको कार्गोरेल स्टेसन नेपाल कस्टम यार्ड (एनसीवाई) को क्षतविक्षत यार्ड चालु आर्थिक वर्षभित्रै मर्मत गरिने भएको छ।
एनसीवाई सञ्चालनको जिम्मा लिएको सरकारी एजेन्सी नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले क्षतविक्षत यार्ड र अन्य आवश्यक संरचना चालु आर्थिक वर्षभित्रै मरम्मत गरिने जनाएको हो।
कम्पनीका सिइओ प्रकाशप्रसाद पोखरेलले क्षतविक्षत यार्ड र आइसिपीसम्म पुग्ने सडकको मरम्मत तथा अन्य संरचनाको निर्माण चालु आर्थिक वर्षभित्रै गरिसक्न ३० करोडको बजेट विनियोजन भइसकेको जानकारी दिए।
सिइओ पोखरेलका अनुसार यही मंसिर महिनामा यसको अध्ययन गरेर आगामी महिना ठेक्का प्रक्रियामा लैजाने र चालु आर्थिक वर्षभित्रै मरम्मत र अन्य निर्माणकार्य सक्ने योजना छ।
पोखरेलले मोरङ उद्योग व्यापार संघले मंगलबार गरेको अन्तरक्रियामा एनसीवाईको स्वामित्व नेपाल रेलवे कम्पनीसित भएको र यसको सञ्चालन नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले गरिरहेको स्पष्ट पारे।
उनले स्वामित्व एउटाको र सञ्चालन अर्काको भएकाले यस क्षेत्रमा थप निर्माण र मरम्मत गर्न कानुनी र प्राविधिक जटिलता उत्पन्न भइरहेको बताए।
‘एनसीवाईको जटिलता र समस्या समाधान गर्न वाणिज्य सचिवको संयोजकत्वमा भन्सारका डिजी, अर्थ र भौतिक मन्त्रालयका सहसचिव लगायतका अधिकारी भएको एक उपसमिति भर्खरै गठन भएको छ। यही उपसमितिले दिएको प्रतिवेदनका आधारमा थप योजना कार्यान्वयनमा आउनेछन्’, उनले भने।

सिइओ पोखरेलले विराटनगरको आइसिपीमा अध्यागमन कार्यालयको भवन निर्माणका लागि पनि २० करोड रुपैयाँ विनयोजन भइसकेको र ठेक्का प्रक्रिया चाँडै सुरु हुने बताए।
पोखरेलले उद्योग व्यवसायमा बढ्दो लजिस्टिक खर्च ठूलो समस्याका रूपमा आइरहेको हुँदा यसको समाधानका लागि सडकमार्गका तुलनामा रेलमार्ग उपयुक्त विकल्प हुने पनि बताए। पोखरेलले रेलमार्गबाट आउने कार्गोका लागि लजिस्टिक खर्च कसरी घटाउन सकिन्छ भन्ने विषयमा कम्पनी व्यवसायीसित वार्ता गरेर निष्कर्षमा पुग्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
नेपाल रेलवे कम्पनी लिमिटेडका इन्जिनियर आदर्श काफ्लेले एनसीवाईको यार्ड ५० टन क्षमताको हुनुपर्नेमा १० टन क्षमताको मात्र भएको हुँदा पूर्ण सञ्चालनमा नआउँदै क्षतविक्षत भएको बताए ।
इन्जिनियर काफ्लेले यार्ड र अन्य संरचनाको निर्माणमै त्रुटि भएको दाबी गर्दै तत्काल नेपाल रेलवे कम्पनीलाई मर्मत र थप निर्माण गर्ने अधिकार नभएको बताए।
‘हामी मर्मत र थप निर्माण गर्न सक्छौं। भारतबाट रेलका प्राविधिक ल्याएर पनि काम गर्न सकिन्छ तर रेलवे कम्पनीलाई अधिकार छैन’, काफ्लेको भनाइ थियो।
एनसिवाई र आइसिपीको सञ्चालन ठेक्कामा लिएको ट्रान्स नेपाल टीआरएस लोजिपार्कका निर्देशक मुकेश राठीले एनसिवाईसम्म कार्गोरेलको उदघाटन २०८० जेठ १८ मा भएको भए पनि यहाँ २०८३ साउनदेखि मात्रै नियमित रूपमा कार्गोरेल आइरहेको स्मरण गराए।
व्यवसायी राठीले साउनयता ५ वटा कार्गोरेल आइसकेका छन् तर रेलवे यार्डको दुरावस्थाले कार्गो अपरेटिङ र हेन्डलिङमा समस्या आइरहेको जिकिर गरे।
राठीका अनुसार हावा र पानीबाट खराब हुने नुन, चिनी, मल र औद्योगिक कच्चापदार्थका लागि आउने अन्य रासायनिक वस्तुका ब्यागेज कार्गो सुरक्षित राख्न यार्डमा क्लोज्ड सेड नहुँदा रेलबाट यस्ता वस्तुको खासै आयात भएको छैन।
संघका वरिष्ठ उपाध्यक्ष अनिल शारडाले सिंगो र्याकमा ८० कन्टेनर सामान एकैपटक आयात गर्नेले मात्र हालसम्म एनसीवाई प्रयोग गर्नसकेको चर्चा गर्दै १–२ कन्टेनर सामान मगाउनेलाई पनि सहजीकरण गर्न आग्रह गरे।
संघका उपाध्यक्ष विकास बेगवानीले एनसिवाईको कार्गो अपरेटिङ, ह्यान्डलिङ र ढुवानीको दरलाई सीमावर्ती भारतीय भन्सारको इन्डियन कस्टम यार्ड (आइसिवाई) को दरभन्दा सस्तो बनाउनु पर्ने माग गरे।
संघका महासचिव अमित शारडाले कार्गोरेलमा आएका कन्टेनर रित्तो अवस्थामै कोलकाता फर्किने हुँदा त्यसको व्यावसायिक उपयोग हुन नसकेको स्पष्ट पारे।
उद्योगी शारडाले व्यवसायीले यस्ता रित्ता कन्टेनरमा निर्यातका वस्तु राखेर पठाउन पाउनुपर्ने र यसका लागि पारवहन तथा गोदाम व्यवस्था कम्पनीले सहजीकरण गर्नुपर्ने आग्रह गरे।
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले व्यवसायीले वस्तु आयात गर्दा आइसिपीको ठेकेदार कम्पनीलाई अनावश्यक शुल्क बुझाइरहनु परेको गुनासो गरे।
अध्यक्ष शर्माले व्यवसायीले एक कन्टेनर वा ट्रकको सामान आइसिपीबाट विराटनगर ल्याइपुर्याउँदा ४ देखि ५ हजार सम्मको अनवान्टेड खर्च भइरहेको बताए।