काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले असोज तेस्रो साता ४०० केभी ढल्केबर-हेटौंडा प्रसारण लाइन तथा सबस्टेसन निरीक्षण गर्दै दसैंलगत्तै सञ्चालनमा ल्याउने घोषणा गरे।
दसैं होइन, तिहार बित्यो। तर, ढल्केबर-हेटौंडा प्रसारण लाइन तथा सबस्टेसन सञ्चालनको टुंगो लागेको छैन। हालसम्म प्रसारण लाइन तथा सबस्टेसन चार्ज हुन सकेको छैन।
४०० केभी ढल्केबर-हेटौंडा प्रसारण लाइन अन्तर्गत टावर निर्माण सम्पन्न भए पनि प्रसारण लाइन सञ्चालनका लागि अति आवश्यक मानिने ‘राइट अफ वे’ क्षेत्रभित्र पर्ने रुख कटानको काम सकिएको छैन।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले दसैं र तिहारमा धेरै दिन बिदा परेका कारण निर्माण तथा परीक्षणको काम प्रभावित भएको बताए। उनका अनुसार प्रसारण लाइन तथा सबस्टेसन सञ्चालनमा आउन करिब २ साता लाग्नेछ।
‘हामीले दसैंलगत्तै लाइन चार्ज गर्ने तयारी गरेका थियौं। तर, दसैं र तिहारमा लामो बिदा परेका कारण काममा केही ढिलासुस्ती भएको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘सबै टावर तयार भइसकेको छ। अहिले राइट अफ वेका लागि रुख कटानको काम भइरहेको छ। मंसिर दोस्रो सातासम्म चार्ज गर्छौं।’
बुटवलको लाइन इनरुवा र इनरुवाको लाइन बुटवलसम्म सजिलै लैजान ४०० केभी ढल्केबर-हेटौंडा प्रसारण लाइनलाई ऊर्जाको राजमार्गका रुपमा लिइएको छ।
यो लाइन सञ्चालनमा आएपछि चितवन हुँदै बुटवल र ढल्केबरबीचको ‘बोटलनेक’ हटेर बुटवलको लाइन इनरुवा र इनरुवाको लाइन बुटवलसम्म सजिलै लैजान सकिने श्रेष्ठले बताए। यो लाइन चार्ज भएपछि विद्युत प्रवाह क्षमता वृद्धि हुनेछ। झ्याप झ्याप बत्ती जाने समस्या हट्नेछ।
‘४०० केभीको प्रसारण लाइन बनेपछि पूर्वतिर ढल्केवर साइडमा एउटा औद्योगिक क्रान्ति हुन सक्छ। भोल्टेजको समस्या र झ्याप झ्याप बिजुली जाने समस्या धेरै कम हुनेछ,’ उनले भने, ‘वर्खाको बेलामा जति पनि बिजुली बढी हुन्छ, खेर जान्छ, त्यो पनि व्यापार गर्ने मुख्य विन्दु ढल्केबरबाट मुजफ्फपुर ४०० केभी क्रसबोर्डर लाइनसम्म पुर्याउन सक्छौं। त्यस्तै हिउँद यामममा भारतबाट बिजुली ल्याउन पनि सहज हुनेछ।’
हेटौंडादेखि बुटवलसम्म २२० केभीको सर्किट बनिसकेका कारण ४०० केभीको ढल्केबर-हेटौंडा प्रसारण लाइन बनेपछि वर्षायाममा बिजुली खेर जाने समस्या पनि समाधान हुनेछ।
यो प्रसारण लाइन बनेपछि ३,००० हजार मेगावाटसम्म विद्युत आपूर्ति हुनेछ। जबकि अहिले २०० मेगावाट मात्र आपूर्ति भइरहेको छ।
‘यसलाई ब्याकबोनका रूपमा लिएका छौं। यसले सप्लाइको रिलायबिलिटी एकदमै बढेर जान्छ। खपत बढाउन सक्छौं भने निर्यात पनि बढाउन सक्छौं,’ कार्यकारी निर्देशक श्रेष्ठले भने।
अहिले ढल्केबर-हेटौंडा १३२ केभी प्रसारण लाइन सञ्चालनमा छ। यसबाट करिब २०० मेगावाट विद्युत् प्रवाह भइरहेको छ।भोटेकोशी नदीमा भदौ १० मा आएको बाढीले त्यो क्षेत्रका आयोजनाको विद्युत उत्पादन ठप्प भएको अवस्थामा काठमाडौं उपत्यकामा हिउँद याममा भारतबाट विद्युत ल्याउनका लागि पनि ४०० केभीको ढल्केबर-हेटौंडा प्रसारण लाइन सक्दो चाँडो सञ्चालनमा ल्याउन आवश्यक छ।
यो प्रसारण लाइनको काम अगाडि बढाउन गत असार अन्तिममा ऊर्जामन्त्री श्रेष्ठले नै पहल गरेका थिए। उनले १२ वर्षदेखि अड्किएको फाइल स्वीकृत गराइ ढल्केबर-हेटौंडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खोलेका थिए।
विराजभक्तको प्रस्तावमा असार अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले ढल्केबर-हेटौंडा ४०० केभी प्रसारण लाइन निर्माणका लागि वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको थियो। प्राधिकरणले त्तयतिखेर दुई महिनामा नै काम सकेर प्रसारण लाइन सञ्चालनमा ल्याउने बताएको थियो।