काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले छापा मार्यो। त्यसको अघिल्लो दिन सरकारलाई चुनौती दिएको एन्फाविरुद्ध प्रहरीको छापा खासै अनपेक्षित थिएन। के विषयमा अनुसन्धानका लागि छापा हानेको भन्नेचाहिं सीआइबीले त्यसदिन खुलाएन।
प्रहरीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई हिरासतमा लियो। एक त फिफाले प्रतिबन्ध लगाएपछि नेपाली फुटबल बन्धकमा परेको अवस्था, त्यसमाथि सहानुभूति जनाउनुको साटो सरकारकै धरपकड!
प्रहरीले बल्ल कारण खुलाएको छ। खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा पक्राउ गरेको प्रहरीले बताएको छ। यसले एन्फाका विभिन्न प्रकरण फेरि सतहमा आएका छन्। ‘बहराइन केससँगै अन्य केही प्रकरणमा अनुसन्धान भइरहेको छ,’ सीआइबीका एसएसपी अनुपम शमशेर जबराले भने।
यसमा सबैभन्दा धेरै चर्चामा छ ‘बहराइन प्रकरण’। २०८० को फागुन महिनामा विश्वकप छनोटका क्रममा भएको यो प्रकरणमा नेपालमा हुनुपर्ने खेल बहराइनमा लगिएको थियो। यो प्रकरणमा एकले अर्को निकायलाई दोष देखाएर घरेलु मैदानमा खेल हुनै नदिने प्रपञ्च गरिएको थियो।
त्यसबेला मन्त्रालयदेखि संसदीय समितिसम्म पुगेको यो प्रकरणमा अब प्रहरीले चासो देखाएको छ। त्यसबेला नेपालले काठमाडौंमा खेल्नुपर्ने खेल ‘दशरथ रंगशाला’ अयोग्य भन्दै सारेर बहराइन लगिएको थियो। जहाँ उसैको घरेलु मैदानमा गएर खेलेको नेपाल सहजै पराजित भए पनि बहराइनले एन्फाका पदाधिकारीलाई राम्रो आतिथ्यता गरेको थियो।
अयोग्य भनिएको दशरथ रंगशालामा केही समयमै साफस्तरको अन्तर्राष्ट्रिय प्रतियोगिता भयो। नेपाली टिमलाई त्यतिबेला बहराइन किन लगियो भन्नेबारे अहिले अनुसन्धान थालिएको छ।
रंगशालाको विवाद
२०८० फागुन २९ : युवा तथा खेलकुद मन्त्रालय हाँकिरहेका थिए हालका ऊर्जामन्त्री विराजक्त श्रेष्ठले। त्यसबेला पनि एन्फा र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीचको विवाद निकै चर्किएको थियो। यो विवादको केन्द्रमा थियो- दशरथ रंगशाला।
विश्वकपदेखि एसिया कपसमेत पुग्नका लागि निकै महत्त्वको प्रतियोगिताका लागि नेपालको खेल निकै महत्त्वपूर्ण थियो। यसका लागि ‘होम एण्ड अवे’मा खेल्नुपर्ने थियो। घरेलु मैदानमा खेल्दा कुनै पनि टोलीलाई फाइदा हुने गर्छ। अझ, समुद्री सतहका टोलीहरुको प्रदर्शन अल्टिच्युडमा आएर खस्किन्छ भने अल्टिच्युडका खेलाडीलाई समुन्द्री तहमा खेल्न कठिन भइहाल्छ।
नेपालले कुनै बेला जोर्डन, कुवेतजस्ता देशसँग उनीहरुको भूमिमा फराकिलो हार बेहोरेको तर घरेलु मैदान र कुनै उच्च भूभागमा भएको खेलमा राम्रो खेलेको विगत छ।
तर, नेपाली फुटबल टोलीले विश्वकप छनोट अन्तर्गत बहराइनविरुद्ध दुवै म्याच उसकै मैदानमा खेल्ने भयो। यसअघि बहराइनको उजुरीमा एसियन फुटबल कन्फिडरेसन (एएएफसी)ले दशरथ रंगशालाको निरीक्षण गर्दै यहाँ खेल हुन नसक्ने ठहर गरेको एन्फाले जनाएको थियो।
एन्फाको साधारण सभाको महोलबीच दशरथ रंगशालाको निरीक्षण गर्न एएफसीका प्रतिनिधि दशरथ रंगशालामा थिए। रंगशालामा विभिन्न कार्यक्रम लगातार भइरहँदा र ‘मेन्टिनेन्स’ नहुँदा अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य बनेको एन्फाले जनाएको थियो।
यस विषयमा एन्फा र राखेपबीच राम्रै दोषारोपण भयो। कसको कारणले यति महत्त्वपूर्ण खेल घरेलु मैदानमा हुन सकेन? राखेपले एन्फातिर औंला सोझ्यायो भने एन्फाले राखेपतिर।
एन्फाले विज्ञप्ति निकाल्दै राखेप मातहत रहेको ‘रंगशालामा विभिन्न फरक खेल गतिविधिका कारण मैदानको दूरावस्था भएको र विश्वकप छनोट खेलका लागि अयोग्य’ बनेको उल्लेख गरेको थियो।
इफोर्ट नदेखिने एन्फाको प्रयास
एन्फाले राखेपतर्फ दोष थुपार्न खोजे पनि एन्फाकै पूर्वपदाधिकारीहरुले एन्फाकै सिफारिसमा रंगशालामा विभिन्न गतिविधि भएको आरोप लगाएका थिए। त्यसबाहेक विभिन्न स्कुलस्तरीय र अन्य खेलका प्रतियोगिता पनि रंगशालामा भएका थिए। ‘एन्फाले समयमै माग गरेको भए रंगशाला उपलब्ध गराउने थियौं’ भनेर राखेपले पटपटक भनिरह्यो। पछि एन्फाकै सिफारिसमा फुटबलभन्दा बाहिरका गतिविधिका लागि रंगशाला भाडामा लिएको कागजात पनि भेटियो।
पछि एन्फाले अर्को विज्ञप्ति निकाल्दै दुबै खेल बहराइनमै हुने जनायो। तर, यो सामान्य घटना थिएन। त्यसअघिको संस्करणको विश्वकप छनोटमा दशरथ रंगशाला पुनर्निर्माण भइनसक्दा नेपालले ‘होम गेम’ न्युट्रल भेन्युमा खेलेको थियो।
न्युट्रल भेन्यु अर्थात नेपालजस्तै वातावरण भएको भुटान। तर, त्यसबेला बहराइनविरुद्ध दुबै खेल उसकै घरेलु मैदानमा भयो। नेपाल पराजित भयो।
सम्बन्धित समाचार: दशरथ रंगशाला ‘अयोग्य’ भएपछि नेपालले बहराइविरुद्धका दुवै खेल उसैको घरेलु मैदानमा खेल्ने
एन्फाका पूर्वअध्यक्ष गणेश थापाले एन्फाले रंगशालाको स्तर जोगाउन पहल नगरेको आरोप लगाएका थिए।
‘खेल मैदान मर्मतका लागि चैत ८ गतेभन्दा अगाडि कसैलाई खेल मैदान उपलब्ध नगराउन राष्ट्रिय खेलकुद परिषद्लाई भन्नुपर्ने ठाउँमा उल्टो विभिन्न संघसंस्थालाई खेल मैदान उपलब्ध गराउन एन्फाले राष्ट्रिय खेलकुद परिषद्लाई सिफारिस गरेकोबाट एन्फा नेपालमा गेम गराउन चाहँदैनथ्यो भन्ने प्रष्ट भएन र?,’ उनले सोधेका थिए, ‘दोष चाहिँ राष्ट्रिय खेलकुद परिषद्लाई र खेलकुद मन्त्रालय दिन मिल्छ? यो विषय आम खेलपेमीहरूको चासोको विषय भएको हुँदा राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले छानबिन गर्नुपर्दछ।’
एन्फा र राखेपलाई एकठाउँमा ल्याउन श्रेष्ठको प्रयास
यो प्रकरणमा तत्कालीन युवा तथा खेलकुदमन्त्री विराजभक्तले हस्तक्षेप गर्ने प्रयास गरेका थिए। बहराइनमा हुने खेलका लागि एन्फाबाट ठूलो संख्यामा पदाधिकारी जाने तयारीमा थिए। अरु बेला नदेखिएको जस्तो त्यसबेला बहराइन ठूलो रकम चुकाएर नेपाली पदाधिकारी लैजान तयार भएको थियो।
युवा तथा खेलकुद मन्त्रालयले कानुनविपरीत फुटबल टिमसँग बहराइन जान लागेका एन्फाका पदाधिकारीलाई रोक्ने निर्णय गरेको थियो। फिफा विश्वकप छनोट अन्तर्गतको खेलका क्रममा बहराइन उड्न लागेको टोलीमा अनावश्यक व्यक्ति सहभागी भएको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको थियो।
नेपालले घरेलु मैदानमा खेल्न नपाउने क्रम त्यतिमा रोकिएन। नेपालले यूएईविरुद्धको होम गेम पनि खेल्न नपाउने भयो। बहराइनविरुद्धको खेल खेल्न नपाएपछि नै मन्त्रीले राखेप र एन्फामा निगरानी बढाएका थिए।
सम्बन्धित समाचार: बहाराईन उड्न लागेका एन्फा पदाधिकारीलाई रोक्न खेलकुद मन्त्रालयले गृहलाई गर्यो अनुरोध
बहराइनविरुद्धको खेल गराउन नसकेपछि राखेप मैदान संरक्षणको जिम्मेवारी आफैं लिएर अघि बढेको थियो। दशरथ रंगशाला तयार बनाउन नसकेको र ठूलो प्रतियोगिताको जानकारी एन्फाले नगराएको भन्दै राखेप तर्किंदा एन्फाले राखेपले फुटबलबाहेकका अन्य प्रतियोगिता र खेलकुदबाहेकका कार्यक्रम गराएर रंगशाला बिग्रिएको आरोप लगाएको थियो।
यसबीचमा विराजभक्तले राखेपका तत्कालीन सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, राखेपका मैदान, लाइट लगायत प्राविधिक पक्ष हेर्ने सबैलाई रंगशालामा बोलाएर समन्वय गराउने कोसिस गरेका थिए। जसमा राखेपलाई रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार गर्न र एन्फालाई एसियन फुटबल कन्फिडरेसन (एएफसी)सँग समन्वय गर्न भनेका थिए। त्यसखेर अधिकांश समय दोषारोपणमै बितेको थियो।
सम्बन्धित समाचार: दशरथ रंगशालामा यूएईविरुद्धको खेल पनि नहुने, संसदीय समितिदेखि मन्त्रालयसम्म तात्दा पनि बनेन काम!
के थियो एन्फाको कैफियत?
घरेलु मैदानमा खेल नहुनुको भावनात्मक पक्ष धेरै छन्। खेलको नतिजामा पनि यसले प्रभाव पार्ने गर्छ। अन्तर्राष्ट्रिय म्याच हुँदा ‘गेटमनी’ (टिकटबाट उठ्ने पैसा)बाटै पनि करोडभन्दा माथिको आम्दानी हुने गर्छ। त्यस्तै विभिन्न राइट्स बेचेर पनि फाइदा हुने गर्छ।
तर, यहाँ स्वार्थ बाझिने गरी काम भएको देखिन्छ। यमनसँग होम एण्ड अवेमै खेलेको नेपालले बाँकी देशसँग अवेमै गएर म्याच खेल्यो। यो फिफा/एएफसीको खेलभावना भन्दा बाहिरको विषय भएको जानकार बताउँछन्।
‘न्युट्रल भेन्युमा इन्ट्रेस्ट नै दिएन। यो खेल योजनामै उता सारिएको हो। एन्फा नेतृत्वको योजनामा नै रंगशाला मेन्टेन गरिएन। नत्र खेल कहिले हुने भन्ने त वर्षौं अघि नै थाहा हुन्छ,’ जानकार स्रोतले भन्यो।
समूह चरणको खेलमध्ये नेपालले यमनसँग चाहिँ यहीं खेल्यो।
‘इन्टिग्रिटी र सिस्टमको हिसाबले पनि यो ठीक छैन। यूएई र लाओससँग पनि उतै गएर खेलेको छ। बहराइनकै मोडलमा गएका छन्। त्यहाँ गएर गेम हारेकै छ,’ स्रोत भन्छन्, ‘लाओसमा अवेमा ड्र भएको छ भने होम गेम हारेको छ। खेलको फेयरनेस पनि भएन। लाओस त नेपालभन्दा पनि कम वरीयताको टोली हो।’
यो भन्दा पनि अर्को महत्त्वपूर्ण विषय पैसासँगै पनि जोडिएर आउँछ। अन्य देशका एफएसँगको सम्झौता गोप्य रहे पनि बहराइनसँगको सम्झौता भने उतैको सार्वजनिक फण्डलगायत केही कारणले बाहिर आयो।
यसमा एन्फाले ठूलो संख्यामा पदाधिकारी घुमाउने र त्यसको खर्च उतैको एफएलाई गराउने गरी सम्झौता गरेको देखिन्छ। सम्झौतामा २३ खेलाडी र १७ अफिसियलको एकोमोडेसन बहराइनले जिम्मा लिनुपर्ने तथा मलेसियाबाट बहराइन गएको र त्यहाँबाट काठमाडौं फर्किएको खर्च बहराइनले बेहोर्ने सम्झौता थियो।
त्यस्तै, टिकट रेभेन्युका नाममा बहराइनले एन्फालाई २० हजार अमेरिकी डलर प्रदान गर्ने सम्झौता छ। यसमा ट्वीस्ट भनेको फिफाले नै फेयरनेस कायम राख्नका लागि ट्राभल गर्ने देशलाई यो खर्चको व्यवस्था गर्छ। यसमा पहिलो त नेपालको सम्पूर्ण खर्चसहित अतिरिक्त पैसा त्यो देशले तिर्दैछ जो सँग नेपाल खेल्न जाँदैछ। त्यसमाथि आउने-जाने खर्चको व्यवस्था फिफाबाटै हुने गर्छ।
‘बहराइनसँग पैसा नै लिएको छ। त्यसले म्याच फिक्सिङ कानुन आकर्षित भइहाल्छ,’ उनले भने।