काठमाडौं। नागढुंगा-सिस्नेखोला सुरुङमार्ग ४ पाङ्ग्रे साना सवारीसाधनका लागि खुला भएको छ। निजी सवारीका साथै ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप र भ्यानलाई सोमबारदेखि सुरुङ मार्ग खुला गरिएको हो।
बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारीसाधनलाई आवागमन खुला गरिएको सुरुङमार्ग आयोजनाले जनाएको छ। सुरुङ मार्ग अहिले धादिङबाट काठमाडौं आउन एकतर्फीरुपमा खुला गरिएको हो।
आयोजनाले परीक्षणको चरण भएका कारण शुल्क लिएको छैन। आयोजनाका अनुसार पहिलो चरणमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङ मार्ग खुला गरिएको हो।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गत साउन ११ गते सुरुङमार्ग उद्घाटन गरेका थिए। त्यसपछि आपतकालीन सेवाका सवारीलाई मात्र सुरुङमार्ग खुला गरी गरिएको थियो।