काठमाडौं। नेपालमै डिजाइन र उत्पादन गरिएको विद्युतीय स्कुटर बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।
सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकलको रणनीतिक साझेदारीमा स्थापना भएको ‘सिप्रदी यात्री प्रालि’ले पहिलो इलेक्ट्रिक स्कुटर भदौ ९ देखि हुने नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरिएको छ।
कम्पनीले विकास गरेको विद्युतीय स्कुटरलाई ‘प्रोजेक्ट टु’ नाममा लामो समयदेखि परीक्षण गर्दै आएको छ। सार्वजनिक गर्नुअघि स्कुटरको हजारौं किलोमिटर सडक परीक्षणसमेत पूरा भइसकेको कम्पनीले जनाएको छ।
सिप्रदी यात्रीले स्कुटरको डिजाइन तथा प्रोटोटाइप विकास यात्री मोटरसाइकलको बुढानीलकण्ठस्थित डिजाइन स्टुडियोमा गरेको हो। यसको व्यावसायिक उत्पादनका लागि भने धादिङको गजुरी गाउँपालिका-५ मा प्लान्ट निर्माण भइरहेको छ। कम्पनीले उद्योग संरचना र उत्पादन लाइन स्थापनाको काम अघि बढाइरहेको छ।
कम्पनीले प्लान्ट निर्माण तथा आरएण्डडी सबै गरेर कुल करिब ६० करोड रुपैयाँ लगानी गर्दैछ। प्लान्टमा प्रत्यक्ष रुपमा करिब १०० जनाले रोजगारी पाउनेछन्। पहिलो वर्ष ६००० युनिट उत्पादन गरेर बजारमा पठाइने कम्पनी स्रोतले जानकारी दियो।
यो प्लान्टलाई भविष्यमा माग अनुसार बजार हिस्सा बढाउँदै वार्षिक ३० हजारदेखि ५० हजार युनिटसम्म स्कुटर तथा बाइक उत्पादन गर्ने लक्ष्य राखिएको छ।
यात्रीको व्यावसायिक उत्पादन भने दसैं तिहारको सेरोफेरोमा हुने कम्पनीले जनाएको छ। उत्पादनपछिको गुणस्तर परीक्षण कम्पनीमै हुनेछ।

तर आरएण्डडीको सेग्मेन्ट भने बुढानिलकण्ठमा रहेको पुरानो प्लान्ट हुनेछ। सिप्रदी र यात्रीबीच नेपालमै विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विषयमा लामो समयको छलफलपछि २०८१ असारमा रणनीतिक साझेदारी सम्झौता भएको थियो। यही साझेदारीअन्तर्गत कम्पनीले पहिलो चरणमा स्कुटरलाई मास मार्केटमा लैजाने तयारी गरेको हो।
नेपालमै विद्युतीय मोटरसाइकल डिजाइन तथा उत्पादन गर्ने उद्देश्यले सन् २०१७ मा स्थापना भएको यात्री मोटरसाइकलले २०७६ पुसमा आफ्नो पहिलो विद्युतीय मोटरसाइकल ‘प्रोजेक्ट वान’ सार्वजनिक गरेको थियो।
यात्रीले डिजाइन, इन्जिनियरिङ तथा अनुसन्धान र विकासमा आफ्नो क्षमता देखाए पनि सीमित लगानीका कारण अपेक्षित रुपमा विस्तार गर्न सकेको थिएन।
सिप्रदीसँगको रणनीतिक साझेदारीपछि भने यात्रीको डिजाइन तथा प्रविधिलाई ठूलो उत्पादन र बजार पहुँचसँग जोड्ने बाटो खुलेको हो।
कम्पनीले यात्रीको डिजाइन तथा प्राविधिक क्षमता र सिप्रदीको लगानी, उत्पादन पूर्वाधार, वितरण सञ्जाल र बजार अनुभवलाई जोडेर विद्युतीय दुईपाङ्ग्रे सवारीको उत्पादन अघि बढाउने रणनीति लिएको छ।
स्कुटरपछि मोटरसाइकल पनि ‘मास प्रोडक्सन‘
कम्पनीले स्कुटरपछि विद्युतीय मोटरसाइकललाई समेत नेपालमै ‘मास प्रोडक्सन’मा लैजाने तयारी गरिरहेको छ। यात्रीले विकास गरेको मोटरसाइकललाई थप विकास र उत्पादन क्षमतासहित बजारमा ल्याउने योजना कम्पनीको छ।
यात्रीले सुरुवाती चरणदेखि नै अनुसन्धानमा केन्द्रित भएर काम गर्दै आएको थियो। ६ जना इन्जिनियरको टोलीबाट सुरु भएको कम्पनीले करिब दुई वर्षमा पहिलो विद्युतीय मोटरसाइकल तयार गरेको थियो। मोटरसाइकलका विभिन्न स्पेयर पार्ट्सको डिजाइनसमेत नेपालमै विकास गरिएको थियो।
उत्पादन गर्न आवश्यक विभिन्न कम्पोनेन्टका लागि अमेरिका, चीन, भारत तथा युरोपेली मुलुकका कम्पनीसँग सहकार्य गरिएको थियो। यात्रीको मोटरसाइकलमा कार्बन फाइबरजस्ता हलुका तथा बलिया सामग्री प्रयोग गरिएको थियो, जसले डिजाइन र इन्जिनियरिङ क्षमतालाई फरक पहिचान दिएको थियो।
नेपालमा पछिल्लो समय विद्युतीय स्कुटर तथा मोटरसाइकलको माग र आयात दुवै बढिरहेको छ। विद्युतीय दुई पाङ्ग्रेप्रति उपभोक्ताको रुची बढ्दै जाँदा स्थानीय उत्पादनका लागि समेत बजार तयार हुँदै गएको व्यवसायीहरुको भनाइ छ।
सिप्रदी यात्रीले स्थानीय बजारलाई प्राथमिकता दिँदै प्रतिस्पर्धी मूल्यमा आफ्नो उत्पादन बजारमा ल्याउन लागेको छ। कम्पनीले नेपालमा बिक्रीसँगै विदेश निर्यातको सम्भावनासमेत देखेको छ।