काठमाडौं। दुई पाङ्ग्रे सवारीसाधनको बजार पाँच वर्षअघिकै अवस्थामा फर्किएसँगै अटो व्यवसायीहरु एक दर्जनभन्दा बढी नयाँ मोडलका बाइक र स्कुटर भित्र्याउनतिर लागेका छन्।
बजारमा बाइक तथा स्कुटरको माग ह्वात्तै बढेपछि व्यवसायीहरु दुई वटा अटो शोलाई लक्षित गरेर नयाँ मोडलका बाइक र स्कुटर भित्र्याउनतिर लागेका हुन्।
जसका कारण यही साउन २६ गते सुरु हुने नाइमा मोबिलिटी एक्स्पो र भदौ ९ गतेदेखि हुने नाडा अटो शो दुईपाङ्ग्रे सवारीसाधन रुचाउनेहरुका लागि विशेष आकर्षण बन्ने भएका छन्।
यसपटक एड्भेन्चर बाइक, रेट्रो मोटरसाइकलदेखि प्रिमियम इलेक्ट्रिक स्कुटरसम्मका नयाँ मोडल नेपाली बजारमा प्रवेश गर्दैछन्। यामाहा, हिरो, टीभीएस, मोर्बिडेली, बजाज, सीएफमोटो, अल्ट्राभायोलेट, रिभर, एथर लगायतका ब्रान्डले नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेका हुन्।
मोर्बिडेलीको सबैभन्दा सस्तो एड्भेन्चर बाइक
वैद्यज् अर्गनाइजेसनले इटालियन ब्रान्ड मोर्बिडेली टी २५० एक्सलाई नाइमा मोबिलिटी एक्स्पोमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ। एक्स्पोमा प्रदर्शनका लागि कम्पनीले विमानमार्फत मोटरसाइकल नेपाल ल्याइसकेको छ।
२४९.४ सीसी सिंगल सिलिन्डर इन्जिन भएको यो बाइकले २२.४ हर्सपावर र २२.३ एनएम टर्क उत्पादन गर्छ। २२० एमएम ग्राउन्ड क्लियरेन्स, १५४ केजी तौल, ८२० एमएम सिट हाइट र ११.७ लिटर फ्युल ट्यांक भएको यो मोडल नेपाली भौगोलिक अवस्थालाई लक्षित गरी ल्याइएको कम्पनीको दाबी छ।

र्याली स्टाइल डिजाइन, यूएसडी फ्रन्ट फोर्क, स्पोक ह्विल, डुअल पर्पस टायर, एलईडी लाइटिङ, डुअल प्रोजेक्टर हेडल्याम्प, चार्जिङ पोर्ट र ह्यान्डगार्ड जस्ता फिचर यसमा उपलब्ध छन्।
कम्पनीले यसलाई मोर्बिडेली ब्रान्डअन्तर्गत नेपालमा उपलब्ध हुने सबैभन्दा किफायती एड्भेन्चर बाइक भनेको छ।
‘एसयूभी अफ स्कुटर्स’ रिभर इन्डीको प्रवेश
विशाल ग्रुपअन्तर्गत विशाल इन्टरप्राइजेजले भारतको चर्चित इलेक्ट्रिक स्कुटर रिभर इन्डी नेपाल ल्याएको छ। कम्पनीले यसलाई नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्नेछ।
एमआरपी ३ लाख ७० हजार रुपैयाँ तोकिएको यो स्कुटर लन्च अफरमा अझ सस्तो हुन सक्ने संकेत कम्पनीले गरेको छ।

यसको ४ किलोवाट आवर (युनिट) ब्याट्रीले एकपटकको चार्जमा १६० किलोमिटरसम्म (आईडीसी) रेन्ज दिने कम्पनीको दाबी छ। प्रति घण्टा ९० किलोमिटर अधिकतम गति, १७७ एमएम ग्राउन्ड क्लियरेन्स, ५५ लिटर स्टोरेज, १४ इन्चका पाङ्ग्रा र ८ वर्षसम्मको वारेन्टी यसका विशेषता हुन्।
अन्तर्राष्ट्रिय रुपमा रेड डट डिजाइन अवार्ड प्राप्त गरिसकेको यो स्कुटरलाई कम्पनीले ‘एसयूभी अफ स्कुटर्स’ अवधारणामा विकास गरिएको जनाएको छ।
यामाहाको एक्सएसआर १५५
एमएडब्लू राइड्सले भित्र्याएको यामाहा एक्सएसआर १५५ बाइक पनि नाडा अटो शोमा देख्न पाइनेछ। रेट्रो डिजाइनमा आधारित यो मोटरसाइकल आर १५ र एमटी-१५ कै १५५ सीसी इन्जिन प्लेटफर्ममा बनेको हो। यसले १८.४ पीएस पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ।
बीएमसी, भीआरसी-१, डब्लूएमसी र एसएमएक्स गरी चार भेरियन्टमा उपलब्ध हुने यो मोटरसाइकलको मूल्य ५ लाख २९ हजार ९०० रुपैयाँदेखि ५ लाख ५९ हजार ९०० रुपैयाँसम्म तोकिएको छ।

फिचरका हिसाबले एक्सएसआर १५५ मा राउन्ड एलइडी हेडलाइट, एलसीडी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डेल्टाबक्स फ्रेम, अपसाइड-डाउन (यूएसडी) फ्रन्ट फोर्क, मोनोक्रस रियर सस्पेन्सन तथा डुअल-च्यानल एबीएस जस्ता आधुनिक सुविधा छ।
कम्पनीले यसलाई मेटालिक ग्रे, मेटालिक ब्लु, भिभिड रेड र ग्रिनिस ग्रे मेटालिक गरी विभिन्न रंगमा उपलब्ध गराउने छ।
टीभीएसको पहिलो एड्भेन्चर बाइक
जगदम्बा मोटर्सले टीभीएस आरटीएक्स ३०० नेपाल ल्याउने तयारी गरेको छ। भारतमा बिक्री सुरु भएको करिब ९ महिनापछि यो मोडल नेपाल आउन लागेको हो।

हाल विभिन्न सडकमा परीक्षण भइरहेको आरटीएक्स ३०० नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने सम्भावना छ। यो टीभीएसको पहिलो एड्भेन्चर टुरिङ मोटरसाइकल हुनेछ।
जगदम्बा मोटर्सका अनुसार हाल आरटीएक्स ३०० विभिन्न स्थानमा परीक्षण भइरहेको छ। स्रोतका अनुसार परीक्षणका लागि भारतमा उपलब्ध तिनै भेरियन्ट ल्याइएको छ। कम्पनीले लन्च गर्ने मिति भने घोषणा गरेको छैन।
बजाज चेतकका दुई नयाँ विकल्प
हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज चेतकको हाल बिक्री भइरहेको ३५०१ सँगै चेतक २५०१ र चेतक ३५०३ पनि नेपाली बजारमा ल्याउने तयारी गरेको छ। यी दुवै मोडल नाइमा मोबिलिटी एक्स्पोमै सार्वजनिक हुने अपेक्षा गरिएको छ।
कम्पनीले यी दुवै नयाँ स्कुटरलाई नाइमा मोबिलिटी एक्स्पोमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।

हाल बिक्री भइरहेको चेतक ३५०१ भन्दा फरक मूल्य र फिचर भएका यी नयाँ भेरियन्टमार्फत कम्पनीले विभिन्न बजेटका ग्राहकलाई लक्षित गर्ने रणनीति लिएको छ। यससँगै बजाज चेतकको नेपाली बजारमा उपलब्ध मोडल संख्या तीन पुग्नेछ।
चेतक २५०१ र ३५०३ को विस्तृत प्राविधिक विवरण तथा मूल्य भने कम्पनीले सार्वजनिक कार्यक्रममै घोषणा गर्ने अपेक्षा गरिएको छ।
सीएफमोटो ४५० एमटीको नयाँ संस्करण
ऋषि ट्रेड सेन्टरले सीएफमोटो ४५० एमटीको २०२६ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ।
नयाँ मोडल ब्लू र ब्ल्याक दुई नयाँ रङमा उपलब्ध हुनेछ भने इन्जिन तथा प्राविधिक पक्ष भने यथावत रहने कम्पनीले जनाएको छ। ४४९ सीसी ट्विन सिलिन्डर इन्जिन भएको यो बाइकले ४४ हर्सपावर र ४४ एनएम टर्क उत्पादन गर्छ।

नेपालमा एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा राम्रो प्रतिक्रिया पाएको ४५० एमटी अब अझ आधुनिक र आकर्षक लुकका साथ ग्राहकमाझ आउने तयारीमा छ। २०२६ मोडलमा नयाँ कलर स्किम थपिए पनि मोटरसाइकलको डिजाइन, इन्जिन तथा प्रमुख प्राविधिक विशेषताहरू भने यथावत रहने कम्पनीले जनाएको छ।
नयाँ ब्लू र ब्ल्याक कलरले ४५० एमटीलाई अझ प्रिमियम र स्पोर्टी लुक प्रदान गर्ने कम्पनीको विश्वास छ। सीएफमोटो ४५० अत्याधुनिक फिचर तथा टेक्नोलोजी भएको एड्भेन्चर मोटरसाइकल हो।
हिरो एक्सपल्स २१० पनि देखिने
हिरो मोटोकर्पको एक्सपल्स २१० लाई पनि नाडा अटो शोमा देख्न पाइने छ। कम्पनीले केही समय अगाडि नेपाली बजार ल्याएको उक्त बाइक अहिले चर्चामा छ।
२१० सीसी लिक्विड कुल्ड इन्जिन रहेको यो एड्भेन्चर बाइकले २४.६ बीएचपी पावर र २०.७ एनएम टर्क उत्पादन गर्छ।
यसमा २१ इन्च अगाडिको र १८ इन्च पछाडिको डुअल पर्पस टायर, फुल्ली एड्जस्टेबल यूएसडी फोर्क, टीएफटी डिस्प्ले, टर्न-बाइ-टर्न नेभिगेसन र स्मार्ट कनेक्टिभिटी जस्ता फिचर उपलब्ध छन्।

डबल पर्पस डिजाइनको हिरो एक्सपल्स २१० रेगुलर कम्युटका साथै, अफरोड एड्भेन्चरका लागि उपयुक्त छ।
यसमा ६ स्पीड गियरबक्स दिइएको छ। इन्ड्यूरो स्टाइल टेल सेक्सन, स्वीचएबल डबल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ।
साथै, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्ड स्क्रीन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचर पनि छन्।
हिरोको भिडा स्कुटर र डर्ट बाइक
नेपालमा भिडा ब्रान्डअन्तर्गत पहिलो चरणमा भिडा भीएक्स टुर टु प्लस स्कुटर सार्वजनिक गरिसकिएको छ। यी स्कुटर नाडा अटो शोमा राखिनेछ।

भिडा भीएक्स टुको मूल्य २ लाख ९९ हजार ९०० राखिएको छ। यस्तै, भिडा भीएक्स टु प्लसको ३ लाख ९९ हजार ९०० राखिएको छ।
टप भेरियन्टमा ४.४ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा १४० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
स्कुटरमा ४० वटा स्मार्ट कनेक्टेड फिचर समावेश गरिएको छ। यसको अर्को विशेषता भनेको रिमुभेबल (निकाल्न मिल्ने) ब्याट्री हो। ब्याट्रीलाई स्कुटरबाट निकालेर घर, कार्यालय वा अन्य स्थानमा सजिलै चार्ज गर्न सकिने भएकाले चार्जिङ स्टेसनमा निर्भर रहनुपर्ने आवश्यकता कम हुने कम्पनीले जनाएको छ।
यससँगै हिरोले भिडा डर्ट ईके थ्री विद्युतीय डर्ट बाइक पनि नाडा अटो शोमा राख्नेछ। विशेष गरी बालबालिकालाई लक्षित गरी ल्याइएको यो डर्ट बाइकले नयाँ पुस्तालाई सुरक्षित र वातावरणमैत्री अफ-रोड राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ। यसको मूल्य १ लाख ९९ हजार ९०० राखिएको छ।
अन्य मोडल पनि अटो शोमा देखिने
यी बाहेक अल्ट्राभायोलेट एक्स४७, एथरका नयाँ स्कुटर, रोयल इन्फिल्ड, ट्रायम्फ, केटीएम, बजाज, याडिया लगायत अन्य विद्युतीय तथा इन्धन दुईपाङ्ग्रे सवारी पनि अटो शोमा देखिनेछन्।
यस वर्षका दुवै अटो शोमा इलेक्ट्रिक स्कुटर र एड्भेन्चर मोटरसाइकलको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। पछिल्ला वर्षमा विद्युतीय दुईपाङ्ग्रे सवारीको माग तीव्र रुपमा बढिरहेका बेला कम्पनीहरूले नयाँ प्रविधि, बढी रेन्ज र आधुनिक फिचर भएका मोडललाई प्राथमिकतामा राखेका छन्।
मध्यपूर्वको तनावले इन्धनको मूल्य अकासिएपछि अहिले दुई पाङ्ग्रे इभीको बजार बुम भएको छ। ५ वर्ष अगाडि साढे ३ हजार हाराहारी विद्युतीय स्कुटर आयात भएकामा गत वर्ष मात्रै २६ हजार युनिट भित्रिएको तथ्यांक छ।
यो अटो शोमा पनि इभीप्रति ग्राहकहरू झुम्मिनेमा बिक्रेताहरु विश्वस्त छन्।
यसपटकको नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शो नयाँ मोडल सार्वजनिक गर्ने मात्र नभई दुईपाङ्ग्रे बजारको आगामी प्रतिस्पर्धाको दिशा तय गर्ने मञ्चसमेत बन्ने उनीहरुको बुझाइ छ।